कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाक्टर सरुवा भएपछि सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर सरुवा भएर गएपछि अस्पतालले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रदीप शर्मा र डाक्टर एन्जिला श्रेष्ठ सरुवा भएर गएपछि अन्य सर्जनको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा शुक्रबारदेखि बन्द भएको जनाएको हो ।

डाक्टर सरुवा भएपछि सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

जिल्ला अस्पतालले ती सेवा बन्द गरेपछि जिल्लाका मात्र नभई छिमेकी जिल्ला रुकुम, रोल्पाका सर्वसाधारणहरूसमेत प्रभावित भएका छन् । केही वर्षदेखि जटिल समस्या भएका बिरामी र सुत्केरी हुन नसकेकालाई शल्यक्रिया गरेर जिल्लामै सहज सेवा उपलब्ध गराउँदैआएको जिल्ला अस्पतालले सेवा संचालन गर्न नसकेपछि उपचारका लागि आएका बिरामीहरू प्रभावित भएका छन् ।

साथै जटिल समस्या देखिएका बिरामी उपचारका लागि बाहिर जाने गरेका छन् । कहिले डाक्टर त कहिले स्वास्थ्यकर्मीको अभावका कारण जिल्लावासीले विभिन्न किसिमका समस्या भोग्दै आउनु परेको छ । दक्ष डाक्टरको अभावमा अस्पतालले शल्यक्रिया सेवा दिन नसकेपछि जिल्लावासी स्वास्थ्य सेवाको अधिकारबाट बञ्चित मात्र भएका छैनन्, बाहिरका अस्पताल धाउनुपर्ने भएपछि उनीहरूले आर्थिक तथा भौतिक समस्या भोग्दैआएका छन् ।

जिल्ला अस्पतालमा कार्यरत आठ जनामध्ये सर्जन तथा एमडिजिपी डाक्टर सरुवा भएर गएपछि अहिले चारजना एमबिबीएस डाक्टर भएका र एमडिजिपी डाक्टर सरुवा भएर गएका ठाँउमा अर्को नआएकै कारण शल्यक्रिया सेवा र जटिल खालका प्रसूति सेवा बन्द भएको जिल्ला अस्पताल सल्यानका डा. असीम प्रजापतीले बताए । उनले शल्यक्रिया रोकिएकै कारण शुक्रबार मात्रै एकजना जटिल समस्या भएका बिरामीलाई अन्यत्र रिफर गरिएको जानकारी गराए ।

‘शल्यक्रिया तथा जटिल प्रसूति सेवा बन्द गर्नु हाम्रो रहर नभई बाध्यता हो’ उनले भने ‘जबसम्म एमडिजिपी डाक्टर तथा सर्जन आउँदैनन् तबसम्म शल्यक्रिया तथा जटिल प्रसूति सेवा संचालनमा आउँदैन ।’

उनका अनुसार एमडिजिपी तथा दक्ष डाक्टर नहुँदा अन्य सेवा पनि प्रभावित भएको छ । स्वास्थ्य कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले भने एमडिजिपी डाक्टर सरुवा भएर गएपछि सेवा रोकिएको र जसबाट जिल्लावासीहरू सेवाबाट प्रभावित हुनुपरेको स्वीकार गरे । तर सोही पदमा नयाँ विशेषज्ञ डाक्टर आउन केही महिना लाग्ने उनले बताए ।

‘माग भए अनुसार प्रक्रियामा जान केही समय लाग्ने भएकाले एमडिजिपी तथा विशेषज्ञ डाक्टर आउन एक महिनाजति लाग्ने देखिन्छ’ उनले भने । विज्ञ डाक्टरको लागि सम्बन्धित निकायसंग नियमित सम्पर्कमा रहेको उनको भनाइ छ ।

२०४३ सालमा सुरु भएको जिल्ला अस्पताल सल्यानले विभिन्न समयमा कहिले डाक्टर त कहिले अन्य स्वास्थ्यकर्मी अभावका कारण नियमित सेवा दिन सकिरहेको छैन ।

१५ शैय्याको रुपमा संचालित अस्पताल अहिले झन्डै ४० शैय्यामा संचालित छ । केही वर्षदेखि ५० शैय्याको अस्पतालका लागि माग राख्दै आए पनि राजनीतिक नेतृत्वबाट चासो नदेखाइएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : मंसिर ४, २०७८ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?