कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुको हैजा नियन्त्रणमा मंसिर ५ देखि खोप अभियान

अमृता अनमोल

बुटवल — कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन खोप अभियान सञ्चालन गरिने भएको छ । मंसिर ५ देखि १२ गतेसम्म १० दिन अभियानका रुपमा हैजा विरुद्धको खोप मुखबाट खुवाइने छ ।

कपिलवस्तुको हैजा नियन्त्रणमा मंसिर ५ देखि खोप अभियान

कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि हैजा फैलिएपछि शतर्कता अपनाइएको हो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक भ्याक्सिन लगाउन थालेको जानकारी दिएको छ ।

उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न थाल्छ । कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने बताइएको छ ।

कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने छ । यसका लागि घरदैलोमा स्वास्थ्य स्वयंसेविका परिचालनदेखि माइकिङ र विद्यालयबाटसमेत सन्देश प्रवाह गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए ।

कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । त्यस दिन कृष्णनगरको शिवराज अस्पतालमा ९ जना झाडापखलाका विरामी भर्ना भएका थिए । दोस्रो दिन विरामीको संख्या १ सय १३ पुगेको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखला हैजा हो भन्ने प्रमाणित भएको थियो । पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएकोसमेत प्रमाणित भएको छ ।

कृष्णनगर हुँदै अन्य स्थानीय तहमा हैजा फैलिएको हो । यद्यपि सबैभन्दा धेरै विरामी उक्त नगरपालिकामा एक हजार एक सय ७१ जना संक्रमित भएका छन् । हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हाल एक जना उपचाररत छन् ।

विज्ञहरूका अनुसार हैजा व्यक्तिगत सरसफाई र खानपानमा लापरवाहीका कारण लाग्ने गर्छ । खुला रुपमा दिसा गर्दा दिसाजन्य पदार्थ मुखमा पर्दा हैजा हुने चिकित्सकहरू बताउँछन् । मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरीन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाईका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए ।

प्रकाशित : मंसिर २, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?