कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्को वर्षदेखि रोग प्रतिरोधी क्षमता कम भएकाले चौथो डोजको खोप पाउनेछन् : सीडीसी 

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाकाे सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी) ले रोग प्रतिरोधी क्षमता कम भएकाले अर्को वर्षको सुरुवातदेखि कोभिड विरुद्धको चौथो डोजको खोप पाउन सक्ने जनाएको छ ।

गत सोमबार सीडीसीले निर्देशिका अध्यावधिक गर्दे रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति जस्तै केमोथेरापी गराइरहेका, अंग प्रत्यारोपण गरेका, एचआईभी पीडित आदिले चौथो डोजको खोप पाउन सक्ने बताएको हो ।जसले फाइजर–बायोनटेक र मोर्डनाको तेस्रो डोजको खोप लगाएका छन् उनीहरुले चौथो डोजको खोप पाउन योग्य हुने सीडीसीले जनाएको छ ।

निर्देशिकामा लेखिएको छ, ‘ जो मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधी क्षमता भएका व्यक्ति छन् उनीहरुले चौथो डोजको खोप पाउन सक्नेछन् । तेस्रो डोज लगाएको कम्तीमा ६ महिना अवधि पुगेको हुनुपर्छ ।’ सीडीसीले गरेको नयाँ सिफारिस अनुसार चौथो डोजको मोर्डना खोप नर्मल डोजको आधा आकारमा हुनुपर्नेछ ।

अगष्टमा रोग प्रतिरोधी क्षमता कम भएकालाई फाइजर–बायोनटेक र मोर्डनाको तेस्रो डोजको खोपको लागि बाटो खुलेको थियो । दोस्रो डोज लगाएको कम्तीमा २८ दिनपछि तेस्रो डोजको खोप लगाउने बताइएको थियो । अध्ययनहरुका अनुसार यस्ता व्यक्तिहरुमा २ वटा मात्र डोजले सुरक्षित नहुन सक्छन् ।

रोग प्रतिरोधी क्षमता भएका व्यक्ति जसले तेस्रो डोजको एमआरएनए खोप पाइसकेका छन् । उनीहरुले फेब्रुअरीसम्म चौथो डोजको खोप पाउन सक्नेछन् । बुस्टर डोजका लागि खोप लगाउने व्यक्तिले अमेरिकामा उपलब्ध भएका ती ३ वटामा जुनसुकै पनि खोप रोज्न सक्नेछन् ।

त्यसैगरी सीडीसीले एक डोज मात्र लगाइने खोप जोन्सन एन्ड जोन्सन लगाएकाले पनि ३ वटा खोपमध्य बुस्टर डोजको रुपमा लगाउन पाउनेछन् । उनीहरुले खोप लगाएको कम्तीमा २ महिना पुग्नुपर्नेछ ।

प्रकाशित : कार्तिक १३, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?