कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीडभाडमा मास्क लगाउनु नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय : अध्ययन

कोरोना भाइरसको हावाबाट सर्ने क्षमता राम्रो भएको हो ?
एजेन्सी

अमेरिका — कोरोना भाइरसका नयाँ भेरियन्ट जस्तै अल्फा र डेल्टा सुरुको भाइरसभन्दा धेरै संक्रामक भएका कारण पहिलेको तुलनामा धेरै मानिसलाई संक्रमित बनाइरहेको छ । कोरोना भइरस सम्बन्धी दुई नयाँ अध्ययनले पनि त्यसको कारणलाई व्याख्या गर्ने प्रयत्न गरेको छ । अध्ययनहरु अनुसार भाइरस सुरुको चरणबाट परिवर्तन हुँदै हावाको माध्यमबाट सजिलै सर्ने अवस्थामा पुगेको छ ।

भीडभाडमा मास्क लगाउनु नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय : अध्ययन

गत वर्ष नै कोरोना भाइरस हावाको माध्यमबाट सर्ने देखिएपछि महामारी रोकथामका लागि सोही अनुरुपको व्यवस्थापनमा ध्यान दिन थालिएको छ । जसका कारण बन्द स्थानमा बस्दा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी र भेन्टिलेसनको व्यवस्था गर्नुपर्नेबारे ठूलै बहस सुरु भएको थियो ।

हाल प्राय सबै अनुसन्धानकर्ताहरु कोरोनाभाइरस संक्रमित व्यक्तिको नाक-मुखबाट निस्किएर भुइँमा झरी हाल्ने ठूला थोपाका साथै हावामा तैरिएर लामो दूरीसम्म पुग्न सक्ने मसिना थोपा (एयरसोल)का माध्यमबाट सर्छ भन्नेमा एकमत छन् । एयरसोल अत्यन्तै सूक्ष्म हुने भएका कारण यो सिधै फोक्सोमा पुग्न सक्ने हुँदा झनै बढी जोखिम बढाउँछ । नयाँ अध्ययनहरुले यो तथ्यको बुझाइमा कुनै परिवर्तन ल्याउँदैन । तर, केही अवस्थामा सुरक्षित रुपमा मास्क लगाउनुको विकल्प नभएको र भाइरस अझ बढी शक्तिशाली भइरहेकोतर्फ इंगित गर्छ ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेसमा कार्यरत भाइरोलोजिस्ट तथा अध्येता डा. भिन्सेन्ट मुन्सटरका अनुसार सूक्ष्म एयरसोलले ठूलो थोपाभन्दा धेरै लामो दुरी तय गर्छ र एल्फा भेरियन्ट फैलिनुको मुख्य कारण पनि त्यही थियो । 'यो भनेको भाइरसमा परिमार्जन भइरहेको छ जसका कारण यो थप सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सरिरहेको छ,' उनले भने ।

यस्तै दोस्रो अध्ययनका अनुसार भने एल्फा भेरियन्टबाट संक्रमितले पहिलाको भेरियन्टबाट संक्रमित व्यक्तिभन्दा ४३ गुणा बढी भाइरसयुक्त एयरसोल श्वाासप्रश्वासका कर्ममा निकाल्छन् । उक्त अध्ययनले अल्फा भेरियन्टलाई ओरिजिनल वा अरु पुराना भेरियन्टसँग तुलना गरेको थियो । तर, यो अध्ययनको नतिजाले अन्य भेरियन्टभन्दा डेल्टा भेरियन्ट किन बढी संक्रामक भयो र अन्य भेरियन्टलाई प्रतिस्थापन गर्न सक्यो भन्ने बारे पनि विश्लेषण गर्ने सक्षम छ ।

'अध्ययनले भाइरस साँच्चै नै हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्षम भइरहेको देखाउँछ,' भर्जिनिया टेककी हावाबाट सर्ने भाइरसकी विज्ञ लिनसे मारले भनिन्, 'त्यसैले डेल्टमा भेरियन्ट एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना अझ बढी हुन्छ भन्नेमा मलाई कुनै आश्चर्य लाग्दैन ।'

विज्ञहरुका अनुसार अल्फाभन्दा डेल्टा भेरियन्टमा भएको अनुवांशिक परिवर्तनका कारण थप संक्रामक देखिएको छ । भाइरसकले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेका कारण नयाँ भेरियन्ट थप संक्रामक हुनसक्ने उनीहरुको आशंका छ । तर, सामान्य सर्जिकल मास्क वा कपडाले नै नाक-मुख छोपे पनि भाइरसयुक्त आधाभन्दा बढी एयरसोललाई रोक्न सकिने यही महिना क्लिनिकल इन्फेसियस डिजिजेसको जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ ।

विभिन्न भेरियन्टबाट संक्रमित व्यक्तिमा गरिएको उक्ता अध्ययन अनुसार भीडभाडयुक्त स्थानमा संक्रमण हुनबाट बच्नका लागि भने बढी सुरक्षित मास्कको आवश्यकता पर्छ । उक्त अध्ययनका नेतृत्व गरेका युनिभर्सिटी अफ मेरिल्याण्डका एयरसोल विज्ञ डा. डन मिल्टनका अनुसार मानिसहरुले जति बढी कसिलो र सुरक्षित मास्क लगाउँछन् त्यति नै संक्रमणबाट जोगिने सम्भावना रहन्छ ।

डा. मुन्सटरका अनुसार हाल अनुसन्धानकर्ताहरुले डेल्टा भेरियन्टबारे पनि अध्ययन गरिरहेका छन् । उनका अनुसार नयाँ अध्ययनले खोप लगाएका व्यक्तिहरुमा पनि मास्क प्रयोगको महत्त्वलाई बढाएको छ । त्यसमा पनि भीडभाडयुक्त स्थानमा मास्क लगाउनु थप जरुरी भएको देखाएको छ । अमेरिकको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को आन्तरिक रिपोर्टले डेल्टा भेरियन्टलाई ठेउला जत्तिकै संक्रामक मानेको छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : आश्विन १७, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?