गाउँ पस्यो मुटुरोग- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ पस्यो मुटुरोग

नारायण अधिकारी/रासस

काठमाडौँ — सहरियामा बढी देखिने भनिएको मुटुरोग सहरीकरणसँगै गाउँमा छिरेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । 'चाउचाउ, चिसो पेय पदार्थ, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ,' उनले भने । सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहनुभएका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनको भनाइ छ । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउँछन् ।

'पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ,' उनले भने, 'युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।' ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताए । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । उनले भने, 'कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ,' उनले भने, 'रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।' रिसाहा व्यक्तिलाई धेरै समस्या आउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, 'नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।' चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन् । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, 'मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।' विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उनले बताए । मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो ।

खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने उनको भनाइ छ । उनका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिए । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, 'चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।' उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिए । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ ।


प्रकाशित : आश्विन १३, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

वामदेव गौतमविरुद्धको मुद्दा 'हेर्न नभ्याइने'मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिट निवेदन हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्यमा गौतमको मनोनयनविरुद्धको रिट पेसीमा थियो ।

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलास न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा थिए ।

सर्वोच्च अदालतले बुधबारको संवैधानिक इजलासले गौतमको मनोनयनविरुद्धको रिट हेर्न नभ्याउने जानकारी दिएको छ ।

तत्कालीन एमालेका उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई उनी पराजित भएको प्रतिनिधिसभाको कार्यकाल नसकिँदै संघीय संसद् सदस्य मनोनित गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित व्यक्ति सो कार्यकालभर संघीय संसद् सदस्य हुन नपाउने संवैधानिक व्यवस्थाको उलंघन गर्दै घुमाउरो बाटोबाट संघीय संसद्मा पठाइएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए । ती रिटमा सर्वोच्चबाट यसअघि अन्तरिम आदेश भने जारी गरेको थिएन ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त रहेको सिटमा गौतमलाई मनोनीत गरिएको थियो । गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन नगरेको भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व तहबाट नै दबाब दिइएको थियो ।

प्रकाशित : आश्विन १३, २०७८ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×