कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञ भन्छन्–'संक्रमणबाट बच्‍न मास्कको प्रयोग अनिवार्य' 

काठमाडौँ — बानेश्वर बस्ने २५ वर्षीय मिलन श्रेष्ठ कामका लागि लैनचौर जान दैनिक बसमा आउजाउ गर्छन् । मानिसको भीडभाड देख्दा पनि उनले मास्क लगाउन छाडिसके । मिलन भन्छन्, ‘पहिलोको जस्तो अहिले डर लाग्दैन । मैले त खोप पनि लाइसकेँ । गाडीमा धेरै भीड हुन्छ । निस्साएिर मर्नु हुन्छ । कसरी मास्क लगाउनु?’

विज्ञ भन्छन्–'संक्रमणबाट बच्‍न मास्कको प्रयोग अनिवार्य' 

५० वर्षीया हरिमाया शाही रत्नपार्कको फुटपाथमा नाङ्लो पसल राखेर व्यापार गर्छिन् । नाङ्लोमा एक प्याकेट मास्कसँगै अलिकति छुर्पी, केही थान सूर्तीका प्याकेटसँगै चकलेट पनि छन् । उनले मास्क त लगाएकी थिइन् तर चिउँडोमुनि ।

यी त प्रतिनिधी पात्र हुन् । निषेधाज्ञा खोलिएसँगै सर्वसाधारणहरुमा कोरोनाको त्रास पनि घट्दै गएको देखिन्छ, अधिकांशले मास्क लगाउन छाडिसके । लगाएपनि सही तरिकाले लगाउन मानिसहरुले हेल्चेक्र्‍याइँ गर्न थालेका छन् । कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग महत्त्वपूर्ण विधिमध्ये एक हो तर जनस्वास्थ्यका मापदण्ड अपनाउन सर्वसाधारणमा खासै चासो देखिएको छैन ।

‘मास्क लगाउने व्यवहारमा परिवर्तन देखिएन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म एक हप्ते नेपाल मास्क अभियान सुरु गरेको थियो ।

स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. राधिका थपलियाले मास्क अभियान एक हप्ते गरेता पनि महामारीभर मास्क लगाइराख्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताउँछिन् ।

‘जहाँसम्म मास्क लगाउनुपर्छ भन्ने जनचेतना सबैमा छ तर ज्ञान र अभ्यासको बीचमा ग्याप देखिएको छ, त्यसलाई कसरी कम गर्ने ठूलो चुनौती हो,’ उनले भनिन् ।

डा. थपलिया भन्छिन्, ‘पहिलाको जस्तो महामारीको जोखिमप्रतिको दृष्टिकोण घटेको देखिन्छ । मानिसहरु सामान्य जीवनमा फर्किएको जस्तो देखिएको छ । ’ उनका अनुसार अहिले पनि विभिन्न भेरियन्टको जोखिम छ संक्रमणको रोकथामको उपाय जनस्वास्थ्यका मापदण्ड नै हुन् ।

भाइरोलोजिस्ट लुना भट्टले मास्क लगाउने व्यवहारमा सुधार नदेखिएकाे बताइन् । उनका अनुसार कोभिड १९ का लक्षण भएका र नभएका दुवैले संक्रमण गराउन सक्छन् । ‘मास्क लगाएको छैन भने संक्रमण त छिटो सर्ने भयो नि । मास्क आफूले लगाएको छ भने आफू संक्रमण हुनबाट बचियो । आफू संक्रमित छ लक्षण देखाएको छैन भने अर्कोमा संक्रमण हुन पाउँदैन,' उनले भनिन् ।

डा. भट्ट भन्छिन्, ‘मास्क हामीले बानीजस्तो गर्नु पऱ्यो । हाम्रो दैनिकीमा समावेश गर्नुपऱ्यो । महामारीभर अनिवार्य हाे । साथीभाइ तथा परिवार भन्दैमा भाइरसले नछुने होइन । संक्रमण कम देखिए पनि ह्वात्तै बढ्न सक्छ ।’

प्रकाशित : आश्विन ७, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?