कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणजन्य रोगहरूको लहर, कसरी बच्‍ने ?

काठमाडौँ — कोरोना संक्रमणको जोखिमसँगै हाल मौसमी रुघाखोकी (इन्फ्लुएन्जा), स्क्रब टाइफस, निपाह भाइरस, सापूलगायतका अन्य संक्रमणजन्य रोगहरु पनि देखिन थालेका छन् । मौसम परिवर्तनसँगै किटजन्य तथा अन्य संक्रामक रोगहरुको जोखिम बढेको हो । संक्रमणजन्य रोगहरुको लक्षण प्राय: मिल्नाले पनि मानिसहरु सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ ।

संक्रमणजन्य रोगहरूको लहर, कसरी बच्‍ने ?

कोरोना संक्रमणको जोखिमबाट बच्नु त छँदैछ मौसमी रुघाखोकी, स्क्रब टाइफस, निपाह भाइरस, सापूलगायतका संक्रमणबाट बच्नु पनि उत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ । विशेष गरेर श्वासप्रश्वासमा समस्या गराउने यी रोगहरुको लक्षण देखिएमा रोग पहिचानमा भने ढिलाइ गर्नुहुँदैन ।

हाल भारतमा देखिएको निपाह भाइरस नेपालमा पनि देखिन सक्ने भनेर विज्ञहरुले सचेत गराइरहेका छन् । मृत्युको जोखिम उच्च रहेको यो भाइरसका कारण सेप्टेम्बर ५ मा भारतमा एक १२ वर्षीय बालकको मृत्यु भइसकेको छ ।

निपाह भाइरस

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस जुनोटिक भाइरस हो । यो जनावरबाट मानिसमा सर्ने गर्दछ । त्यसैगरी दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । यो भाइरसबाट संक्रमित जनावरजस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

यो भाइरसको संक्रमण भएमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ ।

निपाह भाइरसको हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइनसकेकाले खतरनाक भाइरसको रुपमा मानिन्छ । संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुनसक्छ ।

मौसमी रुघाखोकी (इन्फ्लुएन्जा)

कोरोनाका लक्षणजस्तै ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने आदी मौसमी रुघाखोकीसँग सबै मिल्छन् । त्यसैले पनि उचित परीक्षणबिना कोरोना हो या रुघाखोकी हो भनेर खुट्याउन गाह्रो हुन्छ । कोरोनाको शंका लागेर पीसीआर गराउँछौ तर, निगेटिभ आएमा के रहेछ भनेर छुट्याउन सक्दैनौँ । तर केही फरक भने हुन्छ ।

मौसमी रुघाखोकी सामान्यतया ३ दिनको अवधिमा सर्ने हुन्छ भने कोराना भाइरस ५ देखि ६ दिनभित्रमा सर्ने गर्दछ । कोरोनाजस्तै लक्षण देखिएमा एकपटक इन्फ्लुएन्जाको पनि जाँच गराउँदा ढुक्क हुनसकिने चिकित्सकहरु बताउँछन् ।

स्क्रब टाइफस

कोरोनाका लक्षणसँग मिल्ने अर्को रोग हो स्क्रब टाइफस । यो रोग नेपालमा मुख्यतः असारदेखि भदौसम्म बढी मात्रामा देखिने गर्दछ । त्यसैले पनि सजग हुन जरुरी छ ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ ।

समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन्छ । यस्ता बिरामीमा बहुअंग विकार (मल्टी अर्गन डिस्अर्डर) को अवस्थामा पुग्छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर पीसीआर गराउँदा नेगेटिभ आयो भने एन्टिबायोटिक खाइहाल्नु हुँदैन । ‘चिकित्सकसँग जाँच नगराई एन्टिबायोटिक खानु हुँदैन,’ उनले भने ।

उनका अनुसार स्क्रब टाइफस हो या होइन भनेर छुट्याउने सजिलो आधार भनेको ढाड, छाती, काखीमा किराले टोकेको जस्तो कालो दागजस्तो देखिए स्क्रब टाइफसको शंका गर्न सकिन्छ ।

सापू

तत्काल उपचार नपाएमा आँखाको ज्योति गुम्नसक्ने सापू ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ पनि अहिले देखिन सुरु गरेको छ । सामान्यतया बालबालिकामा बढी देखिएको यो रोग प्रत्येक दुई वर्षमा देखिने गर्छ ।

एक्कासी एउटा आँखा रातो हुनु, आँखाको दृष्टिमा तत्काल कमी हुनु, कचेवा चिप्रा नलाग्नु, कडा प्रकाशमा हेर्न नसक्नु यसका लक्षणहरु हुन् ।

नेपालमा मात्रै पाइएको यो रोग सेतो धर्से पुतलीको संसर्गबाट यो रोग लाग्ने अध्ययनहरुले देखाएका छन् । नेपालमा खासगरी पोखरा आसपासका क्षेत्र तथा मध्य नेपालको पहाडी भेगमा धेरै देखिएको छ । यो रोग वर्षायाम सकिनेबित्तिकै अर्थात भदौदेखि मंसिर महिनामा देखापर्छन् ।

यो रोग सधैँ एउटै आँखामा देखिन्छ र अर्को आँखाबाट अर्कोमा सर्दैन र मानिसबाट मानिसमा पनि सर्दैन । उनीहरुका अनुसार यो आँखाको एक डरलाग्दो रोग नै हो । यो रोग लक्षणहरु देखा परेको गम्भीर केसमा २ देखि ४ घण्टामै आँखाको दृष्टिसमेत गुम्न सक्छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार यसको उपचार आँखामा आइ ड्रप्समात्र हालेर हुँदैन । एन्टिबायोटिक इन्जेक्सन हालिन्छ । उनले बिरामी समयमा आए परिणाम राम्रै आउने तर ढिलो भए आँखा भित्रको पिप पानी सफा गर्ने सर्जरी भिट्रेक्टोमी गरिन्छ । तैपनि आँखालाई पहिलाकै जस्तो सामान्य रुपमा राख्न सकिँदैन । ज्योति पनि आंशिक रुपमा मात्र आउनसक्ने उनी बताउँछिन् ।

प्रकाशित : भाद्र ३०, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?