१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बर्डफ्लु देखिएका बेला कुखुराको मासु खाने कि नखाने ?

बुनु थारु

काठमाडौँ — काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि अहिले धेरै मानिसमा कुखुराको मासु खाने की नखाने भन्नेमा अन्योल देखिन्छ । माघ १७ गते पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएको पुष्टि गरेको थियो।

बर्डफ्लु देखिएका बेला कुखुराको मासु खाने कि नखाने ?

चिकित्सकहरुका अनुसार बर्डफ्लु लागेको अवस्थामा मासु खान डराउनु पर्दैन । विश्व स्वास्थ्य संगठनले पनि कुखुरालगायत अन्य पशुपंक्षीको मासु राम्ररी पकाएर खाँदा सुरक्षित हुने बताउँछ । संगठनका अनुसार हालसम्म मासु खाएर यो भाइरस सरेको भन्ने प्रमाणहरु फेला परेका छैनन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार यस्तो अवस्थामा मासु ढुक्क भएर खान सकिन्छ तर राम्ररी पकाएको हुनुपर्छ । डा. पुन भन्छन्,‘ ७० डिग्री सेल्सियस भन्दामाथि पाक्यो भने मासुमा भएको भाइरस नष्ट हुन्छन् यसबाट जोखिम हुँदैन । राम्ररी पाकेको मासु भित्र रातो देखिँदैन । मासु खाँदा उमालेको सबैभन्दा राम्रो हुन्छ । पोलेको मासु खाँदा पनि राम्ररी भित्रैसम्म पकायो भने जोखिम गराउँदैन ।’ उनले हालको अवस्थामा भने हाफ बोइल्ड अण्डा भन्दा पनि राम्ररी उमालेको अण्डा खान सुझाए ।

डा. पुनले पशुपंक्षीको हेरचाह गर्ने किसान तथा ओसारपसार गर्ने मानिस, पंक्षीको बजारमा बेच्ने मानिस, खरिद गर्ने ,मासु काट्ने मानिसमा यो भाइरसको जोखिम रहने बताउँछन् । मुख्यतः यो भाइरसबाट बच्न सरसफाइ एकदमै जरुरी हुने उनको भनाइ छ ।

यो भाइरस पंक्षीबाट मानिसमा सर्ने भनेतापनि मानिस मानिसबाट सर्छ भन्ने देखिएको छैन तर सजग हुनुपर्ने हुन्छ । उनी बर्डफ्लु लागेमा रुघाखोकी तथा ज्वरोको लक्षणहरु देखिन सक्ने बताउँछन् । पशुपंक्षीको र्‍याल, सुली, प्वाखबाट यो रोग सर्न सक्ने हुन्छ ।

एक विज्ञप्तीमार्फत स्वास्थ्य सेवा विभागले पंक्षीहरुसँग काम गर्नु परेमा आवश्यक व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन र बर्डफ्लु देखिएका क्षेत्र तथा स्थान वरपर रुघाखोकी लक्षण भएका व्यक्तिहरुसँग सावधानी अपनाउन आग्रह गरेको छ ।

नेपालमा पहिलो पटक सन् २००९ मा घरेलु पंक्षीमा बर्डफ्लु देखापरेको थियो । सन् २०१९ मा यस भाइरसको कारण पहिलो पटक २१ वर्षीय युवकको मृत्यु भएको थियो ।

प्रकाशित : माघ २०, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?