कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसन बन्दै 'फायर-पान'

बुनु थारु

काठमाडौँ — माधव गौतम पानका सौखिन हुन् । उनी विभिन्न थरीका पान खान मनपराउँछन् । नयाँ बानेश्वरस्थित आकाशे पुलनजिक रहेको ‘श्री राम पान भण्डार’मा उनी फायर पान अर्डर गरिरहेका थिए । हरियो पानको पातमा भरिएको मसला बल्दै गरेको पान उनले क्वाप्पै मुखमा हाले । 

फेसन बन्दै 'फायर-पान'

आगो बल्दै गरेको पान अहिले बजारमा ‘फायर पान’को रुपमा चर्चित छ । बाटोमा राखिएको ठेलादेखि उपत्यकामा कहलिएका पान पसलमा यो सहजै उपलब्ध हुन्छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै यसको माग निकै बढेको पान पसलेहरु बताउँछन् ।

‘बजारमा फायर पान आएपछि एकचोटी टेस्ट गरी हेरौँ न भनेर खाएको हो । यसअघि पनि दुई–तीनपटक खाइसकेँ । स्वाद हल्का फरक हुन्,’ गौतमले पानको स्वाद लिँदै भने, ‘मलाई त मिठै लाग्यो ।’

....

भिडियाे ः दिपेन्द्र राेक्का

कमलपोखरीस्थित ‘टप प्रिन्स पान प्यालेस’मा साथीसँग मीठा पान खान आएकी १९ वर्षीया समीक्षा ज्ञवालीले दुईपटक फायर पान खाएको बताइन् । उनी भन्छिन्, ‘सुरुमा पातमा आगो बल्दै गरेकोले मुखमा राख्न डर लागेको थियो । स्वाद त मलाई केही फरक लागेन । इन्डियामा पहिलोपटक साथीहरुसँग खाएको थिएँ ।’

‘नेपाल डट फुड’ नामक फुड ब्लग चलाउने २६ वर्षिय सिदार्थ घिमिरे कहिलेकाहीँ पानको स्वाद लिन मनपराउँछन् । उनी विभिन्न थरीका खानाका लागि धेरै ठाउँमा पुग्छन् । एक वर्षअगाडी उनले युट्युबमा भारतमा फायर पान खाइरहेको भिडियो हेरे । उनले नेपालमा पनि पाइन्छ कि भनेर विभिन्न पान पसलमा गएर खोजे तर पाएनन् ।

उनले पहिलोपटक कमलपोखरीमा गएर फायर पानको स्वाद लिए ।उनले त्यसको भिडियो पनि बनाए । उनको भिडियो पश्चात पनि धेरै जना त्यसको स्वाद लिन त्यहाँ पुगेका थिए ।

सिदार्थ भन्छन्, ‘म एक दिन रातिको ८ बजे कमलपोखरीतिर गएको थिएँ । त्यहाँ फायर पान खानेको भीड थियो ।’ रमाइलोको लागि खाएको बताउने उनले अहिलेसम्म ३ पटक यसको स्वाद चाखिसकेका छन् ।

उनका अनुसार पान पसलेले सेतो वस्तु सायद कपुर नै बालेर पानमा आगो लगाउने गर्छन् । उनले पछिल्लो पटक पोखराको स्ट्रिट फेस्टिभलमा फायर पान खाए । ‘फायर पान रमाइलो अनि त्यसको भिडियो बनाउनका लागि धेरैले खान्छन् ।’

माधव, सिदार्थ र समीक्षाजस्तै अहिले फायर पान खानेहरुको संख्या बढ्दो छ । बजारमा पाइने विभिन्न प्रकारका पानहरुमा फायर पान अहिलेका युवायुवती माझ निकै लोकप्रिय छ ।

फायर पान खाइरहेको भिडियो बनाएर सामाजिक सञ्जालमा ‘लाइक’ पाउन पनि धेरैले यो चाखिरहेका छन् । विभिन्न भोज भतेरमा यो पानको अर्डरको माग बढ्दो छ भने मानिसहरु पनि यही पान खोज्दै आइपुग्ने व्यापारीहरु बताउँछन् ।

......

विशेषगरी युवाहरु यसको स्वाद लिन चाहने बताउँछन् कमलपोखरीस्थित टप प्रिन्स पान प्यालेसका रन्जित साह । रन्जितको दाबी मान्ने हो भने उपत्यकामा फायर पानको सुरुवात उनकै पसलबाट भएको हो । ‘मैले नै पहिलोपटक काठमाडौँमा तीन वर्ष अघि यो पानको सुरुवात गरेको हो,’ उनले भने, ‘केटाकेटीहरु बढी खान रुचाउँछन् ।’

केही समय अगाडि अभिनेत्री ऋचा शर्माको बिहेको भोजमा विभिन्न सेलिब्रेटीहरु फायर पानको मज्जा लिँदै गरेको भिडियो सार्वजनिक भयो । भिडियोमा अभिनेत्री करिष्मा मानन्धर, मोडल नीति शाह लगायतका सेलिब्रेटीहरु फायर पानको स्वाद लिँदै गरेको देखिन्छन् ।

सोधी खोजी गर्दै आएपछि आफूले पनि फायर पान राखेको बताउँछिन् कमलपोखरीस्थि पूर्वेली पान भण्डारकी पूजा सँग्रौला । ‘अहिले त चलनचल्तीमा चकलेट पान, फायर पान नै हो,’ उनले भनिन्, ‘यही खोज्दै आउँछन् । हरेक दिन जसो खान नआएपनि के रहेछ भने सोध्दै आउँछन् । रमाइलो मानेर खान्छन् ।’

फायरको पान बनाउने तरिका र मूल्य भने ठाउँ पिच्छे फरक छ । कतै यो पान ७५ रुपैयाँमा नै पाइन्छ भने कतै १५० सम्म पर्छ । कसैले पोको पारेको पानमाथि ल्वाँङमा आगो बालेर दिन्छन् भने कसैले पातको मसालमा नै आगो बालेर आफैं खुवाइदिने गर्छन् ।

हरियो पानको पात र त्यसमा राखिएको मसलामा प्रज्वलनशिल पदार्थ आफैंमा केही हुँदैन । तसर्थ फायर पानमा आगो सल्काउनका लागि केही न केही आगो लाग्ने वस्तु हाल्नैपर्ने बताउँछन् पान पसले । कसैले ल्वाङमा आगो लगाउँछन् भने कसैले कपुरको धुलो छर्केर आगो बाल्छन् । केहीले त पानमा आगो लगाउने वस्तुलाई ‘आफ्नो गोप्य तरिका’ भन्न पनि हिच्किचाउँदैनन् ।

आखिर बजारमा हाल लोकप्रिय भइरहेको फायर पान कत्तिको स्वस्थ्यकर छ त ?

...


सहरको गल्ली पिच्छे पान पसल देखिन्छन् । सबैले आ आफ्नो तरिकाले पान बनाएर दिने गरेका छन् ।कमले मात्र गुणस्तरको सामग्री प्रयोग गरेर पान बनाउने गर्दछन् । पानमा प्रयोग हुने मसाला कत्तिको स्वास्थ्यबर्द्धक छ/छैन त्यसमा विचार गरेर खानुपर्ने चिकित्सक बताउँछन् ।

आयुर्वेद विभागका स्वास्थ्य प्रबर्द्धन शाखाका प्रमुख डा प्रकाश ज्ञवालीका अनुसार पानले फाइदा गर्दछ तर कुन प्रकारको हो र के मिसाइएको छ भन्नेमा भर पर्छ । उनी भन्छन्,‘पानको पात आफैमा स्वास्थ्यको लागि राम्रो हो । यसले घाँटी सफा राख्छ साथै खोकी लागेको बेला पनि खाँदा फाइदा गर्छ ।’

स्वर बसेको बेला पनि पान खाँदा फाइदा पुग्नुका साथै मुख गनाउने समस्याको पनि हल हुने डा ज्ञवाली बताउँछन् ।


तर पान खाँदा कस्तो सामग्रीको प्रयोग गरिएको छ चिनेर खानुपर्ने सुझाव दिन्छन् उनी ।

‘सक्कली खयरको कत्थाले राम्रो गर्छ तर बजारमा प्रयोग हुने विभिन्न केमिकल मिसाइएको कत्थाले राम्रो गर्दैन । त्यसैगरी चुनाको पनि राम्रो हुँदैन । उनी भन्छन् ।’

चिकित्सकहरुले ल्वाङ, सुकमेल मिसाइएको मिठा पान खोकी हटाउन अनि स्वास्थ्यको लागि राम्रो हुने बताउँछन् । तर गुट्खा, सुपारी, सूर्ति, आगो बालेर बनाइएको पान हानिकारक नै हुने बताउँछन् ।

धेरैले फायर पान बनाउँदा आगो बाल्नका लागि विभिन्न रसायनका प्रयोग गरिरहेका छन् । चिकित्सकहरुले सकेसम्म विभिन्न रसायन प्रयोग गरिएका पान नखान सुझाएका छन् । त्यसमाथि फायर पान एकचोटी विचार गरेर खानुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिभिल अस्पतालका जेनेरल फिजिसियन एवम् छातीरोग विशेषज्ञ विदेश विष्ट भन्छन्, ‘पानमा प्रयोग सामग्रीहरु खान मिल्ने नै राखेको हुन्छ तर कसैले केमिकल राख्छन् त्यो हानिकारक हुन सक्छन् । चुनाले पेट सफा गर्ने भन्ने भनाइ छ त्यस्को वैज्ञानिक पुष्टि भएको छैन ।’

उनी थप्छन्, ‘फायर पानमा कपुर हुन्छ भन्ने सुनेको हो । जुन बल्ने गर्दछ । त्यो खाने कुरा होइन । त्यो आगोमा बाल्दा वा धुप बाल्दा प्रयोग हुन्छ ।’

डा विदेशका अनुसार कपुरले पेटमा गएर असहज गराउने, ग्यास्ट्रिक गराउने, अल्सर गराउने, आन्द्रामा घाउ गराइदिने गर्न सक्छ । कार्सिनोजिनजस्तो पदार्थमा सुचिकृत गरेको छ यसलाई । सकेसम्म फायर पान नखाएकै ठीक ।

डा प्रकाश ज्ञवालीले पनि पानका विभिन्न फाइदाहरु हुने भए पनि फायर पानमा आगो बालेर खाँदा कार्बोन उत्पादन हुने र त्यसले स्वास्थ्यको लागि खासै राम्रो नगर्ने बताउँछन् ।

उनी भन्छन्, ‘बजारमा आएको फायर पान रमाइलोको लागि हो । डढाइएको वस्तुले कार्बोन उत्पादन गर्छ त्यसले स्वास्थ्यको लागि राम्रो गर्दैन ।’

प्रकाशित : पुस १५, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?