कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनः दृष्टि पाउनेहरू भन्छन् – ‘संसार देखेपछि खुसीका आँसु थाम्न सकेनौ‌ं’

बुनु थारु

काठमाडौँ — सिन्धुपाल्चोककी कुमारी लामाको ६ वर्षको उमेरमा बायाँ आँखामा आनो देखियो । त्यो आनो सुकाउन भनेर बुबाले मल्हम लगाइदिए । सर्छ कि भनेर बुबाले अर्को आँखामा पनि मल्हम लगाइदिए । तर, आनो सुक्नुको सट्टा दुवै आँखामा संक्रमण भयो ।

पुनः दृष्टि पाउनेहरू भन्छन् – ‘संसार देखेपछि खुसीका आँसु थाम्न सकेनौ‌ं’

त्यसैबेला एक छिमेकीले लामाको आमालाई छोरीलाई नाग लागेछ, भगवान लागेछ भनेर धामीकहाँ जान सुझाए । धामीमा विश्वास गर्ने बुबा आमाले कुमारीलाई अस्पताल लैजानुको सट्टा स्याहार गर्न घरमै दुईजना धामी बोलाए ।

ती ‘धामी’ले उनको दुवै आँखामा लगातार २ महिनासम्म उपचार भन्दै पानी छ्यापछ्याप पारे । त्यसपछि कुमारीलाई आँखा खोल्न झनै गाह्रो हुन थाल्यो । बिस्तारै उनी आँखा देख्न नसक्ने भइन् ।

२८ वर्षीय कुमारी ती दिन सम्झँदै भन्छिन्, ‘म राजधानीमै अवस्थित बौद्धमा बसेको मान्छेकै अन्धविश्वासले आँखा नदेख्ने हुन पुगे ।’

आँखा नदेख्ने समस्या बल्झिएपछि एकदिन कुमारीकी आमालाई एक महिलाले अस्पताल लैजान सुझाव दिइन् । आमाले सुझाव अनुरुप त्रिपुश्वेर आँखा अस्पताल पुर्‍याइन् । अस्पतालले आँखा जाँच गरेपछि तिलगंगा आँखा प्रतिष्ठान रिफर गर्‍यो । त्यहाँ पुगेको १ वर्षमा बायाँ आँखाको शल्यक्रिया भयो ।

‘हाँस्ने, खेल्ने उमेरमा परिवारको गल्तीले मैले आँखाको ज्योति गुमाए । कसैले गरेको आँखा दानले फेरि मेरो गुमेको ज्योति फर्कियो’ उनी भन्छिन् ।

कुमारीको दायाँ आँखाको यही पुस २ गते शल्यक्रिया गरिएको छ । आँखामा धेरै नै संक्रमण भएकाले त्यति स्पष्ट देख्दिनन् । नजिकको मात्र राम्ररी देख्छिन् । संक्रमणले आँखाको नानी सुकेको र जलबिन्दु भएको छ ।

दोस्रो शल्यक्रिया नगर्न चिकित्सकले दिएको सुझाव नमान्दै कुमारीले जोखिम मोलेर शल्यक्रिया गरिन् । ‘चिकित्सकको सुझाव नमानेर आफ्नै बलमा शल्यक्रिया गरेकी छु,’ उनले भनिन, ‘उहाँहरुले सफल हुँदैन भन्नुभएको छ । एउटा झिनो आशा हुने रहेछ, हेरौँ के हुन्छ ।’

समाजशास्त्रमा स्नात्तकोत्तर कुमारी चुच्चेपाटीस्थित प्राक्सीस इन्टरनेसनल एकडेमीमा अंग्रेजी पढाउँछिन् । अझै पनि आँखाको समस्या भएका केटाभन्दा केटीहरुलाई समाजमा घुलमिल हुन निकै गाह्रो हुने अनुभव आफूले संगालेको कुमारी बताउँछिन् ।

‘दृष्टिविहीन व्यक्तिलाई भेदभावको दृष्टिले हेरिन्छ,’ उनी भन्छिन्, ‘आँखा दान गर्नुपर्छ भन्ने चेतना अझै आइसकेको छैन । आँखा दान गर्नुस् है भनेर सल्लाह दियो भने पनि खेदो खन्ने प्रयास गर्छन् ।’

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको किउलकी एकमात्र स्नात्तकोत्तर गर्ने कुमारीको विद्यावारिधि गर्ने धोको छ ।

...

१३ वर्ष अगाडीसम्म कुमारीको जस्तै आँखामा समस्या थियो स्याङ्जाका सविन बोगटीको । जन्मजात दृष्टिविहिन सविनले मरणोपरान्त कसैले आँखा दान नगरेको भए अहिले मज्जाले गाडी हाँक्न सक्दैन थिए होला । २०६३ साल ११ वर्षको उमेरमा दायाँ आँखाको शल्यक्रिया गरेका सविनले शल्यक्रियाको पट्टी खोलेपछि देखेको उज्यालो अहिले शब्दमा व्यक्त गर्न सक्दैनन् ।

उनी भन्छ्न, ‘त्यो क्षण त असिमित खुसी भएँ । आँखा खोल्दा डाक्टर र मम्मीलाई देखेँ । खुसीका आँसु खसे । मम्मी र म खुब रोयौँ ।'

बुवाको कामको शिलाशिलामा विभिन्न ठाउँमा पुग्ने सविनले भ्रमणका क्रममा भेटेका मान्छेले तिमी कत्ति भाग्यमानी छौ भन्ने गरेको सविनले सुनाए ।

आँखा देख्ने भएपछि ११ वर्षबाट विद्यालय जान थालेका सविन व्यवस्थापन विषय लिएर स्नातक तहमा तेस्रो वर्षमा अध्ययनरत छन् । सविनले दोस्रो आँखाको १५ वर्ष हुँदा शल्यक्रिया गरे । अप्रेसनपछि दुवै आँखाको ब्यालेन्स मिलाउन गाह्रो भएपनि २ महिनापश्चात दुवै आँखाले राम्रोसँग देख्न थालेको उनी बताउँछन् ।

परिवारमा सविनमात्र होइन भाइ पनि दृष्टिविहिन थिए । भाइको पनि आँखाको नानीको प्रत्यारोपण गरिएको थियो ।

सविनले पुन:दृष्टि पाएको देखेर उनका शिक्षक र साथीहरुले पनि आँखा दान गर्ने प्रण गरिसकेका छन् । ‘हात खुट्टा नभएपनि आँखा भए त देख्न सकिन्छ तर आँखा नै छैन् भने निकै गाह्रो हुने रहेछ,’ सविनले भने, ‘पहिला दृष्टिविहिन हुँदा सामान चिन्न पनि गाह्रो हुन्थ्यो । जीवन नै असहज हुन्थ्यो ।’

सविन शल्यक्रिया पछि चिकित्सकहरुले आँखामा ‘रियाक्सन’ हुन सक्छ भन्दा डराएका थिए, पाएको ज्योति गुम्ला कि भनेर । ‘बल्लबल्ल आँखामा आएको ज्योती गुम्छ कि भनेर आँखालाई निकै ख्याल राख्छु । कम्प्युटर र मोबाइल धेरै चलाउँदिनँ,’ उनले भने, ‘म मोटरसाइकल र गाडी पनि चलाउँछु । तर धेरै स्पीडमा चलाउँदिनँ, आँखामा धुलो छिर्ने वित्तिकै धोइहाल्छु ।’

...

शनिबार तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा भेटिएका दुई पात्र हुन् कुमारी र सविन ।

मृत्युपश्चात आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहिनले यो संसार पुनः देख्न पाउँछन् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको थियो ।

श्रद्धाञ्जली सभामा सहभागी धादिङकी दिलकुमारी सिम्खडाले अल्पायुमै आफ्नो छोरा गुमाइन् । उनका छोरा बोधप्रसादको ४२ वर्षमा गत माघमा हृदयघातबाट निधन भयो ।

दिलकुमारी भन्छिन्, ‘मेरो एउटा छोरोको त अल्पायुमै बित्यो तर अर्को कुनै छोरा–छोरीले देख्न पाउन् भनेर आँखा दान गरिदिए ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले अहिलेसम्म आँखा दान गर्ने हजारौं भएको बताए । उनले भने, ‘२५ वर्षअगाडि १ जनाबाट सुरु गरिएको आँखादान आज आएर हजारौंभन्दा बढीले प्रदान गरिरहेका छन् । आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो । यसमा धार्मिक, सांस्कृतिक रुपमा अप्ठेरो केही पनि हुँदैन । मृत्युपश्चात झिक्ने हो ।’

सभामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरे । नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले आँखादान गर्न र गराउनको लागि आम नागरिकलाई सु–सूचित गर्ने उद्देश्यले ‘नेपाल आँखादान समाज’ स्थापना गरिएको बताए । उनले सबैलाई आँखादान दिन आग्रह गरे ।

त्वायनाले नेपाल आँखा बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरेको बताए । अहिलेसम्म झन्डै १५ हजारले आँखाको नानी दान प्राप्त गरि पुनः दृष्टि प्राप्त गरेका छन् ।

सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएको थियो । आँखा बैकले मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र सञ्चय गरी आवश्यक परेकालाई नानी उपलब्ध गराउँछ ।

प्रकाशित : पुस १२, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?