कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जुँगे भट्टराई भन्छन्- दामले होइन नामले मात्रै सन्तुष्टि दियो

रीना मोक्तान

काठमाडौँ — जुँगाकै कारण फिल्म क्षेत्रमा कोही चर्चित छ भने, ती हुन् उद्धवराज भट्टराई । 'जुँगे भट्टराई'को उपनामले चिनिने उनी कला निर्देशकका रुपमा फिल्म क्षेत्रमा सक्रिय छन् । उनले यो पेशा अंगालेको ४२ वर्ष भयो । उनी फिल्मका लागि आवश्यक सजावट सामाग्री 'प्रप्स' लगायत पहिरनसमेत डिजाइन गर्छन् । 

जुँगे भट्टराई भन्छन्- दामले होइन नामले मात्रै सन्तुष्टि दियो

६४ वर्षका भट्टराई, यो उमेरमा पनि प्रप्स बनाउने झन्झटिलो काम गरेर थाक्दैनन् । प्रप्समा उनी मौलिकता भर्छन् । यही विशेषताले हो निर्माता निर्देशक उनी कहाँ धाइरहन्छन् ।

हालै छायांकनमा रहेको फिल्म ‘प्रेमगीत ३’का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएका थिए । ऐतिहासिक विषयवस्तुमा फिल्म बनाउने टुंगो लागेपछि आवश्यक प्रप्सका लागि निर्माता सेन उनकै दौलोमा पुगेका थिए । उनले पनि पूरानो जमानाको बन्चरो अल्छी नमानी बनाइदिए ।

हिजोआज फिल्डमा कमै जान्छन् भट्टराई । आफू बस्ने डेरामै उनी निर्माता- निर्देशकको डिमाण्ड पूरा गर्न खट्छन्।

‘सेतोबाघ’ फिल्ममा प्रयोग भएको श्रीपेच र शेष नाग उनैले बनाएका हुन् । ‘लालजोडी’मा देखाइएको शालिक उनकै कला हो । ‘माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, 'राजमति', 'लर्ड बुद्ध', 'प्रेम-पिण्ड', 'मुनामदन', ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, ‘सन्तान’लगायतका दर्जन बढी फिल्ममा उनले कला निर्देशकका रुपमा काम गरिसकेका छन् ।

उनी कला निर्देशन मात्रै होइन भेषभुषा डिजाइनसमेत गर्छन्। एउटै फिल्ममा ‍कला निर्देशन अनि भेषभुषा डिजाइन गरिदिन्थे भट्टराई । २०३५ तिर त कला निर्देशकलाई नाम दिन कन्जुसाईं गर्थे निर्माण टिम । तर जुँगे भट्टराईले भने कहिल्यै आफ्नो कला देखाउने कुरामा कन्जुस्याईं गरेनन् ।

‘मुनामदन’ फिल्मका निर्माण टिमले त उनको नाम फोटोसहित अगाडि दिने आवश्वसन दिएका थिए । पछि त्यो पुरा भएन । फिल्म प्रदर्शनपछि अन्ततिमतिर उनको नाम अटाइएको थियो । अधिकांश फिल्ममा त्यस्तै नै हुन्छ उनीसँग । उनी त्यसैमा चित्त बुझाउँछन् ।

'काम गर्नुअघि मात्रै फुर्क्याउने हुन् । काम गर्नुअघि मात्रै मख्ख पार्छन्,' उनले तीतो अनुभव सुनाए ।

धार्मिक फिल्ममा ड्रेस डिजाइन पनि गर्छन् भट्टराई । 'पृथ्वीनारायण शाह', 'किर्तिपुर' फिल्ममा उनले भेषभुषा निर्देशनको काम गरे । कलाकारको चरित्र हेरेर भेषभुषा बनाउने काममा माहिर थिए भट्टराई । भन्छन्- 'क्यारेक्टर हेरेर मौलिक ड्रेस डिजाइन गर्थें ।'

आफ्नो काममा सधैं नेपालीपन खोज्छन् उनी ।


फिल्म यात्रा…

उनी बैतडीका हुन् । अरुको लहलहैमा लागेर सानैमा भारत छिरें । त्यो बेला कमाउनका लागि सबै भारत नै ताक्ने गर्थे । अरुको पछि लागेर आफू पनि भारत पुगेको भट्टराई बताउँछन् ।

'गाउँका दाजुभाइ भारत जान्थे । एकदिन भारत जाने दाइहरुको पिछा गरें । उनीहरुले नदेखुन् भनेर लुकलुकी पछ्याएँ । आधाबाटो हिँडेपछि अन्तत: बीच बाटोमा उनीहरु मलाई देखे । त्यत्रो टाढाको बाटो फर्काउने अवस्था पनि थिएन । उनीहरुले मलाई सँगै भारत लगे,' गाउँ छोड्दाका समय सम्झँदै उनले भने । दु:ख सुख गरेरै भारत बसें ।

वृन्दावन स्टूडियोमा आर्ट सिके । त्यसपछि आफ्नो कला देखाउने सोचले १८ वर्षको उमेरमा काठमाडौं फर्किए । २०३२ साल तिर रेडियो नेपालमा देउडा गीत पनि गाउँथे उनी । उनले देउडा गीतको एल्बम 'चैतवा काफल' पनि निकालेका छन् । 'हितको कली' एल्बममा उनका ६ वटा गीत समावेश छन्।

'सन्तान' उनले गरेको पहिलो नेपाली फिल्म थियो । विस्तारै फिल्महरुमा उनले आफ्नो कला देखाउँदै गए । आफूले पढेरभन्दा पनि परेर सिकेको बताउँछन् भट्टराई । 'कोहि भन्छन् नि पढेर कि त परेर सिकिन्छ । मैले यी सबै परेर नै सिकें । त्यो बेला नेपाली फिल्ममा मौलिकता देखाउँ भनेर आएको हो म,' उनी सम्झिन्छन् ।

कामप्रतिको लगनशिलता अनि मिहिनेतले उनी एकपछि अर्को फिल्ममा कला निर्देशकको रुपमा काम गर्दै गए । ‘झोला’ फिल्ममा पनि उनले नै भेषभुषा डिजाइन गरेका हुन् ।

फिल्म क्षेत्रमा अहिले त थुप्रै डिजाइनर भित्रिएका छन् । भट्टराईको पालामा डिजाइनरले धेरै दु:ख पाउँथे । 'माथि सारंगकोट जानुपर्‍यो भने एउटा ठाडो बक्सा नाम्लो लगाएर बोक्नुपर्थ्यो । १ क्वीन्टल नै बोकेरै लानुपर्थ्यो,' उनले पूराना दिन सम्झे, 'कलाकारले ड्रेस जहाँ पायो त्यहिँ फ्याकिँदिन्थे । अनि हामीले नै त्यसको जिम्मेवारी लिनुपर्थ्यो । हामीले त यो क्षेत्रका लागि धेरै गर्‍या हो नि । त्यस्तो दु:ख गरेर आएका हौं हामी ।'


'जुँगे' उपनाम

स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठले फिल्म 'माया पीरती'को बेलामा उनको अन्तर्वार्ता लिएर 'जुँगे भट्टराई' शीर्षकमा त्यो छापिदिएका थिए । त्यसयता उनलाई निर्माता, निर्देशकदेखि सबैले यही उपनामले बोलाउन थाले । उनी पनि आफ्नो नयाँ उपनामले परिचित हुँदा दंगै पर्थे । किनकि उनलाई पनि आफ्नो शान जुँगा मै बसेको भान थियो ।

त्यो बेला प्राविधिकका रुपमा खासै कमाई हुन्थेन । जति पाउँथे, त्यसमा चित्त बुझाउनु पर्थ्यो । भट्टराई आफ्नो कमाइमा खुशी थिए । 'खुब खट्थें, धेरै देलान् भन्ने आशैआशले । तर त्यो आशा निराशामा परिणत हुन्थ्यो,' उनले भने ।

एक त कम पारिश्रमिक त्यस माथि पनि समयमा नआइदिँदा धेरै समस्या पर्थ्यो भट्टराई र उनी जस्ता अन्य प्राविधिकलाई । तर उनले आफ्नो कला प्रस्तुत गरेर काठमाडौंमा डेरा भाडा तिरेर तीन छोरा एक छोरी हुर्काए । अहिले उनका छोराहरु पनि फिल्मका विभिन्न प्रप्स निर्माणमा उनलाई सघाउँछन् ।

काम गरेका केही फिल्मबाट अझै उनले पारिश्रमिक पाएका छैनन् रे । लगभग १ लाख ८७ हजार रुपैयाँ त उठाउनै बाँकी रहेछ ।

'कोसँग माग्ने । एउटै भए त सजिलो हुन्थ्यो नि । त्यसलाई त बाँधेर लग्न पनि सजिलै हुन्थ्यो । जहिल्यै पछि आइज भनेर फर्काइदिने हो सबैले । अहिले त माग्न पनि छोडें । मलाई धेरै घाटा लाग्यो । त्यो सबै पैसा पनि माया मारें । अब बुढेसकालमा तिनीहरुलाई गाली गर्न पनि छोडें,' उनी केही निराश र आक्रोसित सुनिए ।

पैसा मात्रै होइन कला निर्देशकलाई त्यो बेला मेकअप आर्टिस्टलाई दिए जतिको महत्व पनि नदिने गरेको उनको अनुभव छ । 'अहिले त बल्ल नाम भए पनि दिन थालेका छन्,' उनले भने ।


कच्चा पदार्थ

जुँगे भट्टराई सामाग्री बनाउँदा नेपालमै पाइने कच्चा पदार्थलाई प्राथमिकता दिन्थे । यस्ता कच्चा पदार्थमा कहिले त उल्टै उनको गोजीबाट रकम खर्च हुन्थ्यो । कहिले त त्यो सामाग्री बनाएर कमाउने रकमभन्दा पनि बढी । सामाग्रीको अन्तिम मौलिक दृश्यले भने उनको खर्च बिर्साइदिन्थ्यो ।


कतै पनि सम्भव नभएको सामाग्री अन्तत: उनी कहाँ नै बन्छ । 'पूरै काठमाडौं घुमेर आउँछन् । अरुले यो चिज बन्दैन भनेपछि सबै आउने म कहाँ नै हो,' उनले भने ।

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म 'अमेरिकन बोइज'मा प्रयोग भएको जरायो अनि बाघको छालामा उनको निकै मिहिनेत लागेको थियो । हात्तीको दारा र गैंडाको खागमा पनि उत्तिकै मिहिनेत पर्‍यो । फिल्मको सुटिंग सकेर जरायो र बाघको छालालाई त विदेशीले लगेको उनी बताउँछन् । टेलिश्रृङ्खला 'जिरे खुर्सानी'मा अभिनयसमेत गरेका उनले गुरुकुल नाटकघरका लागि श्रीपेच अनि गुड्ने परेवा बनाइदिएका थिए । एकसमय उनी टेलिभिजनको सबै लोगो पनि बनाउँथे ।

कला निर्देशककै रुपमा स्थापित भए पनि उनमा अभिनय गर्ने हुटहुटी बाँकी छ ।


प्रकाशित : पुस ७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?