कोहलपुर घटना : जसलाई खुट्टा गुमेको थाहा छैन

काठमाडौँ — सोमबार दिउँसो २ बजे । ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा बिरामीको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही रिपोर्ट देखाउने पालो कुरिरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए ।

अस्पतालको पहिलो तलाको कोठा नम्बर १०२ मा पनि बिरामीका आफन्त रिपोर्टको व्यग्र प्रतीक्षामा थिए । त्यही भीडमा निराश मुद्रामा देखिन्थे, प्रकृति चन्दका काका र काकी । भतिजीको उपचारका लागि आएका उनीहरू थकित देखिन्थे । त्यति नै बेला रातो कुर्ता–सुरुवालमा एक महिला आइन्– अनुहारमा पीडा, हतास र संशयसहित । उनी थिइन् प्रकृतिकी आमा, भगवती शाही ।
प्रकृतिकी आमा भगवती शाही । तस्बिर: बुनु थारु/ कान्तिपुर ।
कोहलपुर एनटीभी रोडकी ११ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा आइतबार ट्रकले ठक्कर दिएको थियो । अस्पतालको आईसीयूमा राखिएकी उनलाई आफूले दुई खुट्टा गुमाएकी छु भन्ने समेत थाहा छैन । ‘त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरूसँग रमाइरहेकी हुन्थिन् होला,’ प्रकृतिका काकाले भने, ‘क्लासवर्क पो गरिरहेकी हुन्थिन् कि ?’ जब बत्तिएको ट्रकले उनलाई सोहोरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन् । त्यो दर्दनाक घटनाले उनका सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ ।
000
सधैंझैं आइतबार दुई चुल्ठी बाटेर नीलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति । उनको विद्यालय घरबाट करिब डेढ किलोमिटर दूरीमा पर्छ । उनी कहिले स्थानीय बस, कहिले साइकल चलाउँदै त कहिले बुबाको स्कुटीमा चढेर विद्यालय आउजाउ गर्थिन् । बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुबा नगेन्द्रबहादुरले स्कुटीमा पुर्याएका थिए । त्यो दिन उनको जीवनको कालो दिन बन्न पुग्यो । जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढिन्, ट्रकले उनको खुट्टा किच्यो ।
केही सेकेन्डमै ट्रकले ती कलिली बालिकाको खुट्टा चुँडायो । त्यति मात्र गरेन, ब्याक गरेर फेरि लतार्यो । दुर्घटना हुनेबित्तिकै उनलाई दसबिगाहास्थित कोहलपुर शिक्षण अस्पताल लगियो । आमा भगवती भन्छिन्, ‘अस्पताल लग्दा नानीको धेरै रगत बगिसकेको रहेछ, अक्सिजन र रगत चढाइयो । त्यसपछि थप उपचारका लागि काठमाडौं ल्याइयो ।’
सेनाको हेलिकप्टरबाट प्रकृतिलाई आइतबार साँझ साढे ५ मा काठमाडौं ल्याइएको थियो ।
000
सदाझैं हाँसीखुसी घरबाट बिदा भएर चिटिक्क परेर स्कुल गएकी छोरीको यो अवस्था देखेर उनी समय समयमा भक्कानिन्छिन् । अस्पतालमा पनि उनी कति बेला टोलाउँथिन् त कति बेला भावुक बन्थिन् । ‘प्रकृतिले बारम्बार मम्मी अब ठीक भइसकेँ । मेरो स्कुल छुटिरहेको छ भनिरहेकी छ, कहिले स्कुल जाने भनेर सोधिरहेकी छ,’ भगवतीले भनिन्, ‘तर उसलाई मैले यथार्थ बताउन सकेकी छैन ।’ आफ्ना खुट्टा काटिएको बारे छोरीलाई नभनेको उनले बताइन् । थाहा पाएपछि भने छोरीलाई कसरी सम्हाल्ने भन्ने पीर परेको उनको भनाइ छ ।
000
तीन दिदीबहिनी र एक जना भाइ छन् प्रकृतिका । प्रकृति कान्छी छोरी । बुबाआमा कोहलपुरमा खाजा पसल चलाउँछन् । कक्षाकी अब्बल विद्यार्थी हुन् प्रकृति ।
‘सबैले सहयोग तथा हौसला दिए उसको मुहारमा पक्कै हाँसो फर्किएला,’ भगवती दृढ हुन्छिन्, ‘आफ्ना खुट्टाले ठमठमी हिँड्न नसके पनि कुर्सीमा बसेर पनि केही गर्न सक्ने क्षमता छ उसको । आफ्ना सपना पूरा गर्छे भन्नेमा हामीलाई विश्वास छ ।’ सजिलोका लागि प्रकृतिलाई प्लास्टिकको खुट्टा हालिदिने उनको सोच छ । यति दुःखद घटना हुँदा पनि ट्रकधनीले कुनै सहयोग नगरेको भगवतीले बताइन् । कोहलपुर नगरपालिकाले हेलिकप्टरबाट काठमाडौं ल्याउन र विद्यालयले एक लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिइन् ।
यो पनि पढ्नुहोस्ः
६ बुँदे सहमति गर्दै आन्दोलन टुंगियो
