तिहार विशेष : धनका सय बाटा

व्यापार, जागिर र कृषि क्षेत्रमा मात्रै सीमित रहेको नगद आर्जनका स्रोतहरू अब बाँडिएर सयौं भंगाला निर्माण भइसकेका छन्
यज्ञश

कैयौं वर्षमा एउटा प्रतापी राजा निस्किन्थ्यो  । उसको मनमा आफ्नो राज्य विस्तार गर्ने वा छिमेकी कुनै राज्यसँग बदला लिने विचार पलाउँथ्यो  । अनि उसले आफ्नो राज्यका जवानहरूलाई सेनामा भर्ती हुन आग्रह गर्थ्यो । कुनै खास उद्देश्य वा लक्ष्य प्राप्तिका लागि सेनाको विस्तार गरिन्थ्यो । सेनामा आउनेले तलब पाउँथेनन् । उनीहरूलाई दिने एउटै चिज हुन्थ्यो– जितेको राज्यको जमिन ।

जमिन प्राप्तिका लागि जवानहरू लडाइँमा होमिन्थे । यसबाहेक सर्वसाधारणसँग जग्गा पाउने अरु कुनै उपाय थिएन । कि त राजा महाराजाका आफन्त, खास भारदार र पुरोहित हुनुपर्थ्यो । यसमा उच्च जात र कुलका मानिस आसिन हुन्थे । जनताका लागि कि त लडाइँमा लडेर आहुति दिने कि युद्ध जितेर जमिन जोड्ने बाटोमात्रै हुन्थ्यो ।

अलिपछि आएर जंगबहादुरको कालमा आएपछि भने शासकहरूले आफैंले जमिनको स्वामित्व लिने क्रम बढेको देखिन्छ । एउटा उदाहरण हेरौं । विसं १९०३ मा नेपालको सत्ता हत्याएका जंगबहादुरले भारतमा फैलिएको सिपाही विद्रोह दबाउन अंग्रेज सरकारलाई मद्दत गरे । उनी आफैं गोर्खाली फौजको नेतृत्व गरी पुगे । र, लखनउ तथा राजस्थानका केही क्षेत्रमा यो विद्रोह दबाइदिए । यसबापत अंग्रेजले उनलाई नेपालले अंग्रेजसँग युद्धमा गुमाएका चार जिल्ला, जसलाई नयाँ मुलुक पनि भनिन्छ (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता दिए । यसरी फिर्ता पाएको जमिन जंगबहादुरले काठमाडौं दरबारमा रहेका आफ्ना ३ सय ७६ जना भारदारमा बाँडिदिएको लेखक महेशचन्द्र रेग्मीले उल्लेख गरेका छन् । यसमध्ये सिंगो बर्दिया जिल्लालाई भने जंगबहादुरले आफ्नै बिर्ता घोषणा गरेका थिए ।

जग्गामा शासकहरूको कस्तो हालिमुहाली थियो र यो सर्वसाधारणको पहुँचभन्दा कति पर थियो भन्ने यस उदाहरणबाट थाहा हुन्छ । जुन समयमा जंगबहादुरले त्यो भूमि भारदारहरूमा बाँडे, त्यसबेला पनि त्यहाँ कसैको बसोबास थियो, खेती थियो । जसले जमिनलाई खेतीयोग्य बनाएका थिए, त्यो जग्गा उनीहरूले पाएनन् ।

यसरी सुरु भएको जमिनको कारोबार अहिले देशमा सबभन्दा धेरै पैसा कमाउने माध्यम बन्न पुगेको छ । आज जग्गा जोड्न न त युद्ध लड्नुपर्छ न राजा महाराजाको भारदार हुनुपर्छ । बस, तपाईंसँग अलिकति पैसा र राम्रो जग्गा खोजिदिने दलाल भए पुग्छ । जग्गा दलाली वा कारोबारी पछिल्लो समय सर्वाधिक सुरक्षित तरिकाले छिटो पैसा कमाउने व्यवसाय बनेको छ । यसमा यति धेरै पैसा लगानी हुन थाल्यो कि राष्ट्र बैंकले नै लगानीका लागि बैंकहरूलाई निरुत्साहित गर्नुपर्‍यो । पहिले जग्गामा आकर्षण किन थियो भने, उत्पादन र धन आर्जनको अरू कुनै उपाय थिएन । अहिले भने धन कमाउने सयौं नयाँ क्षेत्र र बाटा खुलेका छन् । केही त यस्तासम्म छन्, जसबारे केही वर्षअघिसम्म कसैले सोच्दैनथे । तेल र गहनासँगै संसारमै ठूलो कारोबार रियल स्टेटको हुने गरेको छ । यस्तो होला भनेर धेरैले सोचेका थिएनन् ।

यसरी नसोचेको फड्को थुप्रै नयाँ क्षेत्रले पनि मारेका छन् । उदाहरणका लागि कला क्षेत्र । चर्चित कलाकारको एउटै पेन्टिङ करोड रुपैयाँमा बिक्छ भन्दा नपत्याउने मानिस अहिले पनि छन् । धेरै टाढा जानु पर्दैन । भारतीय पेन्टर एमएफ हुसेनका थुप्रै पेन्टिङ करोडभन्दा माथिल्लो दाममा बिक्री भएका छन् । मुम्बई बसिरहेका नेपाली कलाकार लक्ष्मण श्रेष्ठका पेन्टिङले पनि त्यति रकम पाइसकेका छन् ।

हालै भारतले निकै थोरै खर्चमा एउटा यान चन्द्रमामा पठायो । चन्द्रयानको यो अभियानबारे आफ्नो लम्बेतान व्याख्यामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा निकै रोचक कुरा बताए । उनले भने, ‘हामीले यो यान हलिउडको एउटा फिल्मको बजेटभन्दा पनि कम खर्चमा पठायौं ।’ चन्द्रमामा यान नै पठाउनभन्दा महँगोमा फिल्म बनाउने हलिउडले कारोबारचाहिँ कति गर्ला ? २०१४ को एउटा तथ्यांकअनुसार हलिउडको वार्षिक टर्नओभर १० अर्ब डलरभन्दा बढी छ ।

हलिउड मात्र किन ? बलिउड र नेपालकै कुरा गरौं । फिल्म धनआर्जनको एउटा नयाँ बाटाका रूपमा देखिएको छ । बलिउडमा अहिले एउटै फिल्मले ५ सय करोडको कारोबार गर्न थालेको छ भने ठूला स्टारले एउटै फिल्मको ५० करोडसम्म पारिश्रमिक लिन थालेका छन् । नेपालमै पनि अनमोल केसीजस्ता नयाँ पुस्ताका स्टारले एउटा फिल्मको ३०–३५ लाख पारिश्रमिक लिइरहेका छन् । दयाहाङ राई र सौगात मल्लजस्ता नाटकबाट आएका कलाकारले पनि १८–२० लाख घटीमा फिल्म नखेल्ने समाचार आएका छन् । पैसा पाउने मामिलामा अलि पछाडि भए पनि पछिल्लो छिमलका अभिनेत्रीहरू पनि कम छैनन् । साम्राज्ञी राज्यलक्ष्मीले १५ लाख लिएर फिल्म खेलेको समाचार पनि आएका छन् ।

फिल्म, नाटक र पेन्टिङ जसलाई एकै शब्दमा कला उद्योग भनिन्छ, यो आय आर्जनको नयाँ विकल्पका रूपमा उदाएको छ । देशभर बढिहेका मल्टिप्लेक्सले यसको कारोबारलाई बढाइरहेका छन् । फिल्मका कलाकार मात्र होइन, लेखक, निर्देशक र प्राविधिकहरूको पनि पारिश्रमिक अहिले निकै राम्रो छ । वर्षभरि जागिर खाएर वर्षको १० लाख कमाइ नहुनेको संख्या ठूलो छ । यस्तोमा एउटै फिल्मबाट क्यामेराम्यान वा सम्पादकले यति पैसा पाउन सक्छ भने त्यो विकल्प होइन ?

खेलकुदको त झन् कुरै गर्नुपरेन । सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी जन्मिएपछि यसको दायरा नेपालमा पनि फराकिलो हुँदै गएको छ । क्रिकेट र फुटबलको लोकप्रियतासँगै यसमा बढेको लगानीले खेलकुदलाई खाली ‘समय बिताउने मेलो’ का रूपमा मात्रै लिने समय बितिसकेको छ । खेलमा नै करिअर बनाएर राम्रो आम्दानी गर्ने खेलाडीको संख्या बढ्दो छ । युरोपमा फुटबल, अमेरिकामा बास्केटबल तथा बेसबलका खेलाडीहरू सर्वाधिक आम्दानी गर्नेमा पर्छन् । फिल्म वा खेलकुदको अर्को विशेषता के पनि के हो भने प्रतीभाशाली व्यक्ति सही प्लेटफर्म पाएको खण्डमा किशोरावस्थादेखि स्टार बन्न सक्छन् । संगीतमा पनि यही कुरा लागू हुन्छ ।

व्यापार, जागिर र कृषि तीन क्षेत्रमा मात्रै सीमित रहेको नगद आर्जनका स्रोतहरू अब बाँडिएर सयौं भंगालाको निर्माण भइसकेको छ । संगीत होस् वा सूचना प्रविधिको क्षेत्र युवाका लागि आकर्षण तीव्र हुँदै छ । वैज्ञानिक आविष्कार, भूभाग र सैन्य शक्तिले कुनै देशको शक्तिको आकलन हुने गरेकामा अब टेक्नोलोजी पनि शक्तिको प्रतीक बनेको छ । इन्टरनेटको आविष्कार पछिल्लो समयको सबभन्दा प्रभावशाली क्रान्ति सावित भएको छ । इन्टरनेटमा आधारित संयन्त्रहरू सबभन्दा शक्तिशाली बन्दै गएका छन् ।

परम्परागत रूपमा आफ्नो परिवार वा पिताले गर्दै आएको काम छाडेर नयाँ क्षेत्रमा जाने चाहना प्रायः युवामा देखिन्छ । चाहे त्यसका लागि खाडी नै जानु किन नपरोस् । यसले नयाँ विषय पढ्ने र नयाँ काम गर्नेको संख्या बढिरहेको छ । केही वर्षअघिसम्म पनि कम्प्युटर इन्जिनियर वा आईटी इन्जिनियरको काम यति राम्रो होला भन्ने अनुमान थिएन । युट्युबमा भिडियो बनाएको भरमा कसैको करिअर चल्ला भन्ने अहिले पनि झट्ट सोचिँदैन । त्यो समय आइसकेको छ ।

राजा महाराजासँग मात्रै देशको सबै धन जम्मा हुने व्यवस्था कुनैबेला थियो । त्यसपछि पनि केही सीमित व्यापारी र राज्य संयन्त्रका वरिपरि हुनेहरूको हातमा मात्रै हुन्थ्यो । बिस्तारै राजनीतिले सबै क्षेत्रमा अतिक्रमण गर्दै लगेपछि धन पनि राजनीति गर्नेहरूका वरपर थुप्रिनु कुनै नौलो भएन । पछिल्ला वर्षहरूमा व्यापारीभन्दा राजनीतिक व्यक्ति र नेताहरू भ्रष्टाचारका काण्डमा पर्नु सायद यसैको उदाहरण हो । सामन्तवादी समाजमा ‘ठूला मान्छे’ सँग मात्र धन हुन्थ्यो । तर, पुँजीवादको प्रसार र औद्योगिक क्रान्तिपछि उद्यमशीलको हातमा पुँजी आयो । धनको वितरण कुल र जातको आधारमा मात्र हुन छोड्यो । तर, नेपाली समाजमा भने अझै पनि धनले कुल र जात हेर्न पूर्णतः छोडिसकेको छैन । कला, प्रविधि र खेलकुदको विकास तथा गैरसरकारी क्षेत्रको विस्तारसँगै राजनीतिक नेतृत्वको हातबाट शक्ति र पैसा बिस्तारै धेरै क्षेत्रमा फैलिन थालेको छ । जति तलसम्म धनको प्रवाह हुन सक्यो र स्रोतहरूमा जति धेरै मानिसको पहुँच भयो त्यो समाज त्यति धनी हुन्छ । सीमित मान्छे वा सीमित काममा मात्रै धन भयो भने समाजमा धनी गरिबको खाडल पनि त्यति नै ठूलो हुँदै जान्छ भनेर विद्वान्हरूले भनेका छन् ।

फरक र रचनात्मक तरिकाले काम गर्न चाहने युवाको संख्या बढिरहेकाले हाम्रो समाजमा पनि धनका अझै नयाँ बाटाहरू खुल्दै जानेछन् । त्यो बौद्धिक सम्पत्ति वा रचनामाथि कुनै एउटा समूहको मात्र नियन्त्रण नरहेको खण्डमा यी सय बाटामा जो पनि हिँड्न सक्नेछ । यी धेरै बाटाले समाजमा धनप्रतिको आशक्ति पनि अतिरिक्त रूपमा बढ्दो छ । यसले जन्माएका अपराधका कथा पनि छन् । डरचाहिँ यत्ति हो– मान्छेले धनको बाटो हिँड्नुको साटो कतै बाटाहरू नै मान्छेमाथि नहिँडुन् !

प्रकाशित : कार्तिक १०, २०७६ ११:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

देउसीभैलोको दक्षिणा

कान्तिपुर संवाददाता

धेरै वर्षपछि ममीबाबासँगै प्रतिभा तिहार मनाउन गाउँको घर पुगिन्  । पुग्दा साँझ परिसकेको थियो  ।

त्यहाँ हजुरबा र हजुरआमा मात्र हुनुहुन्थ्यो । ममी र बाबासँगै प्रतिभाले पनि उहाँहरूलाई दर्शन गरिन् । साँझ झमक्क परिसकेको र थाकेको हुनाले खाना खाएर चाँडै नै उनीहरू सुते ।
भोलिपल्ट बिहानै उनले हजुरबासँग गाउँका सरिता, पवित्रा, सरोज, सौरव, सुमन, सौगात, समीक्षालगायत सबै साथीहरूको हालचाल सोधिन् । सबैको खबर ठीकै भएको हजुरबाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नातिनी, तिमीलाई पनि उनीहरूले सोधिरहन्छन् । कहिले आउँछिन् भन्छन् ।’ हजुरबाको कुराले प्रतिभालाई साथीहरू अहिल्यै भेटूँ लाग्यो । उनी नजिकैको साथी समीक्षाको घरमा गइन् ।
समीक्षाको घरमा पुग्नासाथ उनीहरूले आपसमा अँगालोमा बाँधिएर माया साटासाट गरे । एकअर्काको हालचाल सोधे । केही बेरमै सौरव र सौगात पनि त्यहीं आइपुगे । खुसीले उनीहरू निकै रमाए । प्रतिभाले भन्न थालिन्, ‘यसपालिको तिहारमा हामी कसरी रमाइलो गर्ने हो साथीहरू ? हामी त सानोमा पनि केही न केही गर्थ्यौं, अहिले त ठूला भइसकेका छौं । निकै रमाइलो गर्नुपर्छ ।’
सुमनले भने, ‘के गर्नू नि, पिङ खेल्ने, पटाका पड्काउने त्यही त हो । रमाइलो भइहाल्छ नि ।’
सौरवले चंगा उडाउने कुरा गरे । यस्ता कुरा गर्दागर्दै पवित्रा पनि आइपुगिन् । उनले पनि सबै मिलेर वनभात खाने र लुकीडुम खेल्ने कुरा गरिन् । केही बेर कुरा गरेर उनीहरू १० बजे समीक्षाकै घरमा फेरि भेट्ने निधो गर्दै फर्किए ।
पवित्राको घर जाने बाटोमै सरोज र सरिताको घर पर्थ्यो । उनीहरू दाजुबहिनी थिए । उनीहरूलाई पनि १० बजे समीक्षाको घरमा भेला हुने कुरा गरेर पवित्रा आफ्नो घरतर्फ लागिन् ।
सबै जना समीक्षाको घरमा भेला भए । प्रतिभाले कापी कलम बोकेर आएकी थिइन् । यसपालिको तिहारमा गाउँघरमा देउसीभैलो खेलेर रमाइलो गरौं भन्ने प्रस्ताव राखिन् । सबैले उनको प्रस्ताव स्विकारे । त्यसपछि प्रतिभाले भनिन्, ‘अब भन, तिमीहरूमध्ये क–कसले केके क्रियाकलाप गर्ने ?’ कसैले भट्याउने, कसैले नाच्ने, कसैले गाउने, कसैले मादल बजाउने, कसैले भेटी संकलन गर्ने जिम्मेवारी लिए । प्रतिभालाई खुसी लाग्यो । उनले अब हामी रियर्सल गर्नुपर्छ भनिन् ।
सबै जना समीक्षाकै घरमा भेला भएर रियर्सल गर्न थाले । देउसेभैलो भट्टयाउनेका साथै नाचगानको पनि अभ्यास गरे । प्रतिभाले गितार बजाएर तिहारको गीत गाउने बनाइन् ।
लक्ष्मीपूजा र भोलिपल्ट गोवर्धन पूजाको साँझ उनीहरू देउसीभैलो खेल्ने भए । समीक्षाको घरबाट सुरु गरे । उनीहरूको प्रस्तुति देखेर समीक्षाका परिवारले धेरै स्याबासी दिनुभयो । भेटी पनि धेरै राख्नुभयो । उनीहरूलाई ठूलै हौसला भयो । त्यसपछि उनीहरू उत्साही भएर देउसीभैलोका लागि अन्य घरमा गए ।
लगभग गाउँका सबै घरमा दुई दिन देउसीभैलो खेले । उनीहरू साह्रै खुसी भए । दान दक्षिणा पनि राम्रो कमाए । निकै थाकेकाले सबै आआफ्नो घरमा गएर सुते ।
भाइटीकाको दिन उनीहरू सबै आआफ्नो घरमा टीका लगाएर फेरि सदीक्षाकै घरमा भेला भए । उनीहरूले संकलन भएको पैसा के गर्ने भन्ने छलफल थाले ।
सरोजले भने, ‘कति हुन्छ ? सबैलाई भागबण्डा गरेर बाँडौं न ।’
‘बरु भोलि नै पिक्निक जाऔं,’ पवित्राले भनिन् । अरू साथीहरू भने बोलेनन् । सहरबाट गाउँ आएका प्रतिभा, सुमन र सौगातहरूको भोलिपल्टकै टिकट थियो ।
सबैको कुरा सुनिसकेपछि प्रतिभाले प्रस्ताव राखिन्– ‘यो पैसा र चामल कसैले पनि नलैजाऔं । हामीले सामाजिक काम पनि गर्न सिक्नुपर्छ । पर खोला नजिकै भएको वृद्धाश्रममा लगेर त्यहाँका आमाबुबाका लागि दान गरौं ।”
प्रतिभाका कुरा केही साथीहरू मान्न तयार भएनन् । केही साथीले भने स्विकारेर मुन्टो हल्लाए ।
प्रतिभाले फेरि भनिन्, ‘हेर साथीहरू, अब हामी ठूला भइसक्यौं । हामीले पढेका कुरा व्यवहारमा उतार्न सिक्नुपर्छ । म पनि तिमीहरू जस्तै साथी हुँ नि । मलाई पनि पैसा पाए खर्च गर्न मन लाग्छ । तर हामीमा मानवताको भावना हुनुपर्छ । आफ्नो समाज निर्माण आफैले गर्नुपर्छ । हामीले यो दान आश्रममा लगेर सुटुक्क नदिऊँ । हाम्रा परिवारका एकदुई जना सदस्य, वडा अध्यक्ष, गाउँका मान्नेगुन्ने मान्छेलाई पनि आजै गएर भनौं र हामीले यो दान प्रदान गरौ ।”
प्रतिभाका कुराले सबैको मन छोयो । ‘हुन पनि हो, टोलटोलका साना ठूला जोकोही मान्छेको देउसी खेल्नुको मूल उद्देश्य पिक्निक जाने हुन्छ । हाम्रो कामले उनीहरूको पनि आँखा खुल्नेछ । समाज सेवाको भावना उनीहरूमा पनि आउनेछ,’ सरोजले गम्भीर भएर भने । सदीक्षाले थपिन्, ‘हुन्छ हुन्छ । धेरै राम्रो हुन्छ । तर कहिले गर्ने ?’
उनको कुरा सुनेर प्रतिभाले भनिन्, ‘अहिले नै गएर हामी आआफ्ना घरमा सबै कुरा भनौं । हाम्रा अभिभावक जोजो भ्याउनुहुन्छ, उहाँहरूलाई लिएर गाउँका बुद्धिजीवी र वडा अध्यक्षकहाँ पनि अहिले नै जाऔं । भरे साँझसम्मा यो दान दिने व्यवस्था मिलाऔँ न ।” प्रतिभाको प्रस्तावमा सबै सहमति भए ।
सबैले आआफ्ना घरमा गएर यो कुरा सुनाए । घरका सबै मान्छे छक्क परे । कसले ल्यायो यो योजना ? भनेर प्रश्न पनि गरे । गाउँका बुद्धिजीवी र वडा अध्यक्षकहाँ प्रतिभाका हजुरबा, सदीक्षाका बा र सबै साथीहरू गए । सबैले उनीहरूको तारिफ गरे ।
सााझपख आमन्त्रित सबै जना प्रतिभाकै घरमा भेला भए । धेरै ढिला नगरी उनीहरू गाउँको वृद्धाश्रममा गए ।
आश्रममा औपचारिक रूपमा कसरी कार्यक्रम गर्ने भन्ने पनि उनीहरूले तय गरेका थिए । पवित्रा र सरोजले कार्यक्रम सञ्चालन गरे । सदीक्षाले यसको श्रेय प्रतिभालाई दिँदै छोटो मन्तव्य राखिन् । वडा अध्यक्ष श्याम रोकाया र गाउँका बुद्धिजीवी हर्क खड्काले पनि आफ्नो विचार राख्नुभयो ।
आश्रमका वृद्धा बुबाआमाहरूले हर्षका आँसु पुछ्न थाले । आश्रमका एक बूढाबाले भन्नुभयो, ‘यस्तो योजना कसले गरेको बा ?’ सदीक्षाले भनिन्, ‘हामी यही गाउँका साथीसाथी मिलेर गरेका हौं बा ।’ वडा अध्यक्षलगायत सबैले प्रतिभा र उनका साथीहरूलाई स्याबासी र धन्यवाद दिए ।
छोटो समयमा नै सानो भए पनि सार्थक काम गरेकोमा सबैका लागि यो खुसीको क्षण भएको अनुभूति साटासाट गर्दै सबै साथीहरू आ–आफ्नो घरतर्फ लागे ।

गीता सापकोटा

प्रकाशित : कार्तिक १०, २०७६ १०:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT