२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिस्नु लगाउने देउसी

हामीले सांस्कृतिक देउसीलाई बिगारेका होइनौं, बरु समयानुकूल परिष्कृत गर्दै लगेका हौं
कान्तिपुर संवाददाता

सिस्नुपानी संस्था २०५५ सालमा स्थापना भएयता लगातार देउसी कार्यक्रम गर्दै आएका छौं  । योपटक २२ औं देउसी–भैलो खेल्दै छौं  ।

सिस्नु लगाउने देउसी

सिस्नुपानी देउसीका सन्दर्भमा एउटा प्रश्न सधैं उब्जिरहन्छ– एउटा सांस्कृतिक पर्वमा पनि किन यस्तो व्यङ्ग्यबाण ? देउसीको आफ्नै परम्परा र इतिहास छ, तपाईहरू किन आफ्नै पारामा ?
हो, यो प्रश्न स्वभाविक हो । तर, हास्यव्यंग्य क्षेत्रमा काम गर्ने भनेर खोलिएको संस्थाको आफ्नै विधिविधान र रीत हुन्छ । हामीले देउसीको भाका र लयलाई खासै चलाएका छैनौं । शब्दमा खेलेका हौं । एक वर्षभर भएका विशेष राजनीतिक, सामाजिक वा आर्थिक घटनालाई जोडेर त्यसमा प्रस्तुतिको प्रहार मिसाउन खोजिएको मात्रै हो । त्यसो भनेर यो गाईजात्राजस्तो निर्बन्ध र स्वेच्छाचारी पनि होइन ।
सुरुमा वर्षभरका घटनाहरू संकलन गरी एक ठाउँ बसेर के विषय छान्ने–के नछान्ने छिनोफानो गरिन्छ । त्यसपछि शब्द लेख्ने र तौलेर शब्द प्रयोग गर्ने काम हुन्छ । लेखनमै समय बढी जान्छ । प्रधानमन्त्रीदेखि संवैधानिक निकायका पदाधिकारीलगायत राष्ट्रका सबै प्रमुख व्यक्तिहरू देउसीमा दर्शक हुने भएकाले धेरै कुरामा विचार गर्नैपर्ने हुन्छ, आग्रह–पूर्वाग्रह हेर्नैपर्ने हुन्छ ।
हामी सबैभन्दा बढी सरकारमै केन्द्रित हुन्छौं । सरकार हामी आम नागरिकको अभिभावकसमेत हो । मुख्य रूपमा देश हाँक्ने, सरसफाइ गर्ने, अनुशासन र नीतिनियमका कुरा थेग्नुपर्ने, पालना गर्नु–गराउनुपर्ने सरकारले हो । यसकारण हामीले हाम्रो अभिभावकलाई नै सचेत बनाउनुपर्ने हुन्छ, झक्झक्याउनैपर्छ ।
हो, देउसी आफैंमा लोकसंस्कृति पनि हो । किंवदन्तीजस्तो बलिराजाका पालादेखि चल्दै आएको भनिने देउसीमा सिस्नुपानीले पनि उही तौरतरिकामा देउसी खेल्दा के फरक हुन्छ त ? हामीले विचार गर्नैपर्ने कुरा के हो भने कुनै पनि संस्कृति वा परम्परा सधैं उही र उस्तै रूपमा चलिरहन्छ भन्ने हुन्न । समय र परिवर्तित अवस्थामा हरचिजमा हेराफेरी हुनु स्वाभाविक पनि हो । प्रताप मल्लका पालादेखि चलेको भनिने गाईजात्रामा पनि आज धेरै परिवर्तन भएको छ । सिस्नुपानी देउसी आफैंमा संस्कृतिका रूपमा विकसित हुँदै जाने क्रममा छ । अहिले कतिपय गाउँघरमा क्लब, संस्थाले सिस्नुपानी शैलीमै देउसी खेल्न थालेको हामीले भेटेका छौं । कुनै पनि संस्कृति कुनै एउटा विन्दुमा सुरु हुने न हो । यसकारण सिस्नुपानीले पनि यस्तै परिमार्जित संस्कृति सुरु गर्दै छ भन्ने मलाई लाग्छ ।
परम्परामा रहेका कतिपय कुराले संस्कृतिको जगेर्ना त गर्छ तर त्यसले समाजलाई खासै योगदान दिइरहेको हँॅदैन । हाम्रो देउसीले भने सचेतना र जागरणको अर्थमा केही परिवर्तनको संकेत गरेको छ भन्ने लाग्छ । हामीले सांस्कृतिक देउसीलाई बिगारेका होइनौं, बरु परिमार्जित र समयानुकूल परिष्कृत गर्दै लगेका हौं । देउसीका केही संस्करणमा अलिक ठाडो आक्षेप मात्रै जोडियो र कलात्मकताको कमी भयो भन्ने टिप्प्णी पनि आएको थियो । यसबारे पनि हामीले आत्मसमीक्षा गरेका छौं ।
सिस्नुपानी देउसीमा एउटा सिंगो प्याकेज रहने गरेको छ । प्रहसन, कविता, व्यंग्य, देउसी, नृत्यसहितको २ घण्टे प्याकेजमा आधा घण्टा जति मात्रै देउसी हो । तर, चिनारीका हिसाबमा धेरैले यही देउसीलाई मात्रै सिस्नुपानीको विशेषताका रूपमा लिएका छन् । यो हाम्रो सफलता पनि हो ।
यसपटक पनि मुख्यमुख्य घटनाहरू देउसीमा जोडेका छौं । सांसद प्रकरणदेखि सभामुख घटनासम्म, मेलम्ची, रेल, काठमाडौंका मेयर, आलम प्रकरण, वाइडबडी प्रकरण र अरू थुप्रै विषय समेटिएका छन् । कुरा मात्रै गर्ने तर काम नगर्ने प्रवृत्तिलाई पनि यसपटक निकै जोडेका छौं । दुई दशकयताको देउसीमा कुरा र घटना फरक भए पनि शैली–लय एउटै भयो भन्ने गुनासो आउन थालेपछि यसपटक यसमा पनि केही हेरफेर गरेका छौं । प्रस्तुति शैलीमा केही फरकपना ल्याउन चाहेका छौं । देउसीभित्रै पनि भूगोलका विभिन्न फरक ठाउँका फरक लय, गीतिभाका र परम्परागत भाकालाई पनि यसपटक मिसाएका छौं ।
सिस्नुपानी देउसीमा सबैभन्दा मुस्किल भनेको सन्तुलित व्यंग्य नै हो । घटनाहरूको संकलन एकातर्फ छ तर त्यसमा शब्द र संकेत भर्ने काम एकदमै मुस्किलको हुने गरेको छ । सिस्नुपानीको टिमले झन्डै ४ महिनाअघिदेखि देउसीभैलोका शब्द, स्वरलहरी लेखिरहेको हुन्छ । दसैंअघिदेखि भने निकै व्यस्त हुन्छौं । यसपालि पनि दसैंपछि २ दिन २ रात बूढानीलकण्ठको एकान्तमा बसेर शब्द लेख्ने, छान्ने र तौलने काम गर्‍यौं । संगीत र भाकाभन्दा हामी शब्दमा खेलिरहेका हुन्छौं । यो लेखनमा मसहित मनोज गजुरेल, अर्जुन पराजुली, टंकराज आचार्य, सरोज घिमिरे, चक्र दवाडी, हरिकला उप्रेती, थरेन्द्र बराल आदि जुटेका हुन्छौं । गायनमा शिशिर योगी, कमलीकान्त भेटवाल, यमन श्रेष्ठ (प्यारोडी) आदि जुटेका हुन्छन् भने वाद्यवादनमा नगेन्द्रविक्रम राई (बाँसुरी) सहित जोडिएका छन् ।
फेरि यति कुरा जोडिहालौं– सिस्नुपानी आलोचना वा व्यङ्ग्य मात्रै गर्दैन, राम्रा कामकुराको प्रशंसा पनि गर्छ । राम्रा कामको अप्रत्यक्ष प्रशंसा र नराम्रा कामको प्रत्यक्ष आलोचना भइरहेको हुन्छ ।
यसपालिको सिस्नोपानी देउसीका केही टिप्स यस्ता छन् ः
एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको
जनताले विश्वास गर्ने कुनचैं बोलीको

कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन
मिलिजुली खाको कुरा भन्नै मिलेन

कोही सांसद डन गुन्डा कोही सांसद ज्यानमारा
यिनै सांसद पार्टीलाई परम् पियारा

आफ्ना नेता थुनिँदा कांग्रेस किन बोल्दैन ?
नेपाल बन्द गर्दैन टायर बाल्दैन
बूढो भो कि भुत्ते भो जेठोबाठो पार्टी यो
देखिँदैन हिजोआज कांग्रेस कता गो ?

(सिस्नुपानी नेपालका अध्यक्ष गाम्नांगेसँगको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक ८, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?