१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

सेलिब्रिटीको धनतेरस

विमल खतिवडा

कलाकार मदनकृष्ण श्रेष्ठलाई आफैं खटिएर धनतेरस मनाएको त्यति याद छैन  । श्रीमती यशोदा हुँदा उनैले सबै गर्थिन्  ।

के नयाँ सामान किन्ने र कसरी पूजा गर्ने उनैलाई थाहा हुन्थ्यो । ‘तिहारको सबै चाँजोपाँजो यशोदाले नै मिलाउँथिन्,’ श्रेष्ठले भने, ‘अहिले छोराबुहारीले गर्छन् ।’
श्रेष्ठले तिहारमा केही न केही सामान जोड्ने गरेको पनि सुनाए । के सामान किन्ने भन्नेबारे छोराबुहारी आफैंले निर्णय गर्छन् । उनी केही वर्षयताको तिहार झिलिमिली बनेकामा भने दंग छन् । ‘पहिला–पहिला तिहारका बेला झिलिमिली हुनु परको कुरा थियो । पटकपटक हुने लोडसेडिङले तिहार नै अन्धकार हुने गर्थ्यो,’ उनले भने, ‘अहिले त्यस्तो समस्या छैन, झिलिमिलीले साँच्चै तिहार आए जस्तो हुने गरेको छ ।’
श्रेष्ठले सहर झिलिमिली देख्दा भित्रैबाट मन खुसी भएर आउने र तिहार रमाइलो लाग्ने बताए । श्रेष्ठजस्तै व्यापार व्यवसाय, कलाकारितालगायत क्षेत्रमा लागेकाहरूको धनतेरसबारे फरक–फरक अनुभव छ । केहीले भने धनतेरसबारे अनभिज्ञता प्रकट गरे । केहीले भने परम्परादेखि नै मनाउँदै आएको सुनाए । बैंकर्स अनिल शाहले यो चाड नमाउने गरेको बताए । ‘धनतेरस खासै मनाउने गरेको छैन,’ उनले भने, ‘तर, तिहार राम्रो पर्व हो ।’ अधिकांशले यो दिन केही न केही सामान किनेकै हुन्छन् । प्रायले चाँदीका सिक्का, भाँडा किन्ने गरेको सुनाए । केहीले भने पूजाका सामग्री किन्ने गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर लक्ष्मीपूजाको दिन नयाँ सामान किन्ने कुरा आमाले सिकाएको सुनाउँछिन् । ‘म सबै चाड राम्रोसँग मनाउने गर्छु,’ उनले भनिन्, ‘त्यसमा पनि तिहार अझै विशेष लाग्छ ।’
व्यापार व्यवसाय, घर, उद्योग कलकारखाना सबैतिर पूजा गर्न छुटाइँदैन । लक्ष्मीपूजा गर्ने सबैको आआफ्नो चलन छ । झन् व्यापार व्यवसाय गर्नेका लागि यो दिनको अझै बढी महत्त्व छ । ‘लक्ष्मीपूजाको दिन एउटा नयाँ केही किन्नुपर्छ भन्ने छ,’ मानन्धरले भनिन्, ‘सामान धनतेरसको दिन किने पनि लक्ष्मीपूजाको दिन राखेर पूजा गर्ने गर्छु ।’ उनले धनतेरसकै दिन अनिवार्य रूपमा नयाँ सामान किन्नैपर्छ भन्ने नभएको बताइन् ।
लक्ष्मीपूजाको दुई दिनअघि पर्ने धनतेरसमा नयाँ सामान किनेर भित्र्याउने चलन छ । यसलाई लक्ष्मीपूजाको दिन नगद गरगहनासँगै राखेर पूजा गर्ने गरिन्छ । सबैले यो कार्यलाई परम्परादेखि निरन्तरता दिँदै आएका छन् । यो दिनलाई प्रायः सबै वर्ग समुदायले विशेष रूपमा मनाउने चलन छ । घरलाई झिलिमिली बनाई लक्ष्मीको फोटो तथा मूर्ति राखेर पूजा गरिन्छ । नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भने धनतेरस सामान्य रूपमा मनाउने गरेको सुनाउँछन् । ‘धर्ममा त्यति धेरै विश्वास गर्दिनँ, त्यही भएर मेरा लागि यो महत्त्वपूर्ण छैन,’ उनले भने, ‘धनतेरसका दिन बूढाबूढी गएर चाँदीको सिक्का किन्छौं, पूजा दुई मिनेटभन्दा बढी गर्दैनौं ।’ यो वर्ष दाइ बितेकाले चाड नमनाउने उनले बताए । ‘घरमा सामान्य भए पनि कार्यालयमा भने भव्य रूपमा मनाउने गरेका छौं,’ उनले भने, ‘कार्यालमा छुट्टै लक्ष्मीको मूर्ति स्थापना गर्छौं, पूजा गर्छौं ।’ त्यसो त मूर्ति धनतेरसकै दिन स्थापना गरिन्छ । टेन्ट टाँगेर भव्य पूजा गरी मिठाई बाँड्ने गरिन्छ । ‘किनेको सिक्कालाई पूजा गरेर राख्छौं,’ उनले भने । कसैले भव्य त कसैले सामान्य रूपमा धनतेरस मनाउने गरेका छन् ।
निर्देशक तथा कलाकार दीपाश्री निरौलाका लागि धनतेरसको महत्त्व छुट्टै छ । उनी बाल्यकालदेखि नै यसबारे जानकार छिन् । त्यसैले राशिअनुसार धनतेरसमा सामान किन्ने गर्छिन् । ‘धनतेरसमा नयाँ सामान किन्यो भने धनैधन लाभ हुन्छ भन्ने मान्यता छ,’ उनले भनिन्, ‘त्यही भएर लक्ष्मी भगवान्लाई हुने दियो, जल चढाउने जलाधारी किन्ने गरेकी छु ।’ उनले अघिपछि आफ्नै लागि सामान किन्ने गरे पनि धनतेरसमा भगवान्का लागि किन्ने गरेको सुनाइन् । त्यो दिन उनी लक्ष्मी र गणेशको मूर्ति किन्न पनि भुल्दिनन् । ‘सानैमा धनतेरसबारे थाहा भए पनि नयाँ सामान किन्ने पैसा हुँदैन थियो,’ निरौलाले भनिन्, ‘अहिले पैसा कमाउने भएपछि आफूलाई मात्र होइन, भगवान्लाई पनि केही किन्न बिर्सन्न ।’
तिहारलाई नयाँ सामान जोड्ने चाडका रूपमा समेत लिने गरिएको छ । लोकगायिका सुनिता दुलाल घरबाटै धनतेरसमा नयाँ सामान किन्नुपर्छ भन्नेबारे थाहा पाएको बताउँछिन् । ‘ममी सुनको सिक्का किन्नुहुन्थ्यो, अहिले सुनको सिक्का किन्न सक्ने अवस्था छैन, सुन महँगो छ,’ उनले भनिन्, ‘मैले चाँदीको सिक्का किनिसकेँ, यो एउटा संस्कार पनि हो ।’ लक्ष्मीपूजाको दिन सुनचाँदी जोड्यो भने राम्रो हुने विश्वास रहेको उनले बताइन् । ‘त्यही भएर मैले चाँदीको सिक्का लिएकी हुँ,’ उनले भनिन्, ‘लक्ष्मीपूजाको दिन नयाँ किनेको सिक्कासँगै आफूले लगाई राखेका गरगहनासमेत राखेर पूजा गर्ने गरेकी छु ।’
धेरैले धनतेरसमा सुनचाँदी नै किन्ने गर्छन् । लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा लक्ष्मीपूजामा त्यस्तो केही नयाँ सामान किन्ने योजना नरहेको सुनाउँछन् । अघिपछि पनि सामान्य रूपमा मनाउँदै आएका उनले योपटक पनि सामान्य रूपमै मनाउने बताए । ‘तिहारमा सांगीतिक कार्यक्रममै व्यस्त हुन्छु,’ उनले भने, ‘लक्ष्मीपूजाको दिन भने सयम निकालेर पूजा गर्न बिर्सन्नँ तर पूजा सामान्य हुन्छ ।’ उद्योगी व्यवसायी, कलाकार प्रायले गच्छेअनुसार नयाँ सामान जोडेर धनतेरस मनाउने गर्छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?