१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

पटका र जुवा फन्दामा परिएला !

जनकराज सापकोटा

मखमली र गोदाबरी फुलको सौन्दर्य, झिलिमिली बत्ती, देउसी र भैलोको मनोरम संगीत, सप्तरंगी टीकाको आकर्षण  । तिहारको परिचय यतिमा मात्रै सीमित छैन  ।

अनेकन पटका र झिरझिरेजस्ता बारुदजन्य पदार्थको प्रयोग र जुवाजन्य विकृति पनि तिहारसँगै जोडिएर आएका छन् । प्रहरी प्रशासनले बारुद र पटकाजन्य पदार्थको ओसारपसार, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाउँदै आए पनि यसको अवैध कारोबार र प्रयोग लुकिछिपी चलेकै छ ।
अघिल्ला वर्षहरू जस्तै यसपाला पनि नजिकिँदो तिहारसँगै पटका र पटकाजन्य पदार्थ बरामदका खबर सार्वजनिक भइरहेका छन् । ४ कात्तिकमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सदरमुकाम राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पाँच बोरा पटका बरामद गर्‍यो । १ लाख ५० हजार मूल्य बराबरको पटका तिहारका निम्ति भन्दै भारतीय सिमानाबाट अवैध रूपमा नेपाल छिराइएको थियो । राजविराजमा उक्त पटका बरामद नभएको भए त्यसलाई काठमाडौं, चितवन र पोखराजस्ता मुख्य सहरहरूमा पठाइन्थ्यो । १ कात्तिकमा सशस्त्र प्रहरीले काँकडभिट्टा सीमा नाकाबाट ठूलो मात्रामा पटकाजन्य विस्फोटक पदार्थ बरामद गर्‍यो । झापास्थित ८ नम्बर गुल्मबाट खटिएको मोबाइल टोलीले बरामद गरेको पटकाजन्य पदार्थ मेची भन्सार कार्यालयलाई बुझाइयो ।
खबरका शृृंखलामा जुवाका खालमा प्रहरी पुगेका, जुवाडेहरू पक्राउ परेका र जुवा ऐन २०१९ अनुसार कारबाही चलाइएका समाचारहरू पनि छन् । कात्तिक महिनाको एक सातामा मात्रै प्रहरी परिसर काठमाडौंले करिब एक दर्जन जुवाको खालमा छापा मार्‍यो । बौद्धस्थित एक जुवा अखडाबाट प्रहरीले १९ लाख रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लियो भने बूढानीलकण्ठबाट ४ लाखसहित ७ जना पक्राउ परे । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार तिहारलाई लक्षित गरेर व्यावसायिक रूपमा जुवाका खालहरू सञ्चालन गर्ने गतिविधि बढेको छ । उनले भने, ‘चाडबाड लक्षित र हार जित हुने गरी ठूलो रकममा खेलिने जुवाका खालहरूमा प्रहरीले निरन्तर छापा मार्दै आएको छ ।’ व्यावसायिक जुवा खेलाउने समूहहरू चाडबाडका बेला सक्रिय हुने अनुभव सुनाउँदै डीएसी बोगटीले भने, ‘चाडबाड लक्षित सुरक्षा योजनाअन्तर्गत जुवा खेल्ने खेलाउनेलाई कारबाहीको दायरामा ल्याउने काममा तीव्रता दिएका छौं ।’
तिहारको समयमा भन्सार जाँचमा कडाइ र पटकाजस्ता बारुदजन्य सामग्रीको ओसारपसार, किनबेच र प्रयोगमा प्रहरी र सशस्त्र प्रहरी कडा रूपमा प्रस्तुत हुन थालेपछिका वर्षहरूमा तिहारको शैली फेरिन थालेको छ । पाँच वर्षयता गृह मन्त्रालय र प्रहरीले तिहारमा हुने पटकाजन्य पदार्थको कारोबार र प्रयोगमा बढी कडाइ गर्न थालेको हो । नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले अघिल्ला वर्षहरूमा जस्तै यसपालि पनि पटकाजन्य पदार्थको प्रयोगमा शून्य सहनशीलताको नीति अख्तियार गरेको सुनाए । उनले पटका पड्काउन, झिरिझिरे, भुइँचम्पाजस्ता बारुदजन्य पदार्थको प्रयोग रोक्न गृह मन्त्रालयले नै प्रहरीका नाममा परिपत्र गरेको सुनाए ।
बारुद र पटकाको प्रयोग नेपाली संस्कृतिसँग नजोडिएको बरु यो भारतीय संस्कृतिको प्रभाव रहेको डीआईजी पोखरेल बताउँछन् । उनले २०७० सालमा मोरङको एसपी छँदाको अनुभव सुनाए । सीमावर्ती भारतीय बजारबाट नजिक रहेको मोरङमा त्यतिबेला आफूले बारुद र पटकाको कारोबार र प्रयोगमा कडाइ गर्न थालेपछि मारवाडी समुदायका प्रतिनिधिहरूले कडाइ नगरिदिन अनुरोध गरेका थिए । उनले सुनाए, ‘कसैको अनुरोध नसुनी कडा नीति अख्तियार गरेपछि मोरङको तिहार पटका र बारुदको गन्धबिना नै उत्साहपूर्वक सकियो ।’ उनले थपे, ‘झिलिमिली पारेर घरलाई मन्दिर बनाउनुस्, सभ्य शैलीमा देउसी खेल्नुस्, रमाइलो गर्नुस् तर पटका र बारुदजन्य पदार्थ प्रयोग नगर्नुस् ।’
५ कात्तिकमा गृह मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर तिहार पर्व अनुशासित, सभ्य, शालीन र मितव्ययी रूपमा मनाउन अनुरोध गरेको छ । गृहले तिहारको सुरक्षा कडा पार्न २४ सै घण्टा प्रहरी परिचालन गरिएको पनि जनाएको छ । प्रवक्ता पोखरेलले गृहको निर्देशनलाई पालना गर्दै प्रहरीले अवाञ्छित गतिविधिमाथि निगरानी बढाउने र त्यस्तो काममा संग्लन हुनेलाई कानुनअनुसार कारबाही गरिने बताए ।
प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीको अनुभवमा प्रहरी प्रशासनको निरन्तरको निगरानीका कारण पटका र बारुदजन्य पदार्थको कारोबार र ओसारपसारमा यसपालि निकै कमी आएको छ । उनले अघिल्लो वर्षको तुलनामा यस्तो अवैध कारोबार ७० प्रतिशतले कमी आएको दाबी गरे । अघिल्लो वर्षको तिहारमा मात्रै प्रहरीले काठमाडौंका १३ स्थानबाट पटका र बारुद ठूलो परिणाममा बरामद गरेको थियो । प्रहरीले यसपालि कात्तिकको पहिलो साता मात्रै नागढुंगा, कालीमाटी, कोटेश्वर र फर्पिङबाट ससानो परिणाममा बारुद र पटका बरामद गरेको छ । डीएसपी बोगटीले पटका र बारुद प्रयोग गर्नेलाई पक्राउ गरी सार्वजनिक हितविरुद्धको अपराधमा र कारोबार गर्नेहरूलाई विस्फोटक पदार्थ ऐनअन्तर्गत कारबाही चलाइने बताए ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?