कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल संवत्‌का आर्थिक पक्ष

हिमेश

नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ, कार्तिक शुक्ल पक्षमा  । नेपाल संवत्का आधारमा लक्ष्मीपूजा नै वर्षको अन्तिम दिन हुन्छ  । त्यसैले आर्थिक दृष्टिकोणबाट यो दिनको ठूलो महत्त्व छ । तिहारलाई नेपाल भाषामा ‘स्वन्ति’ भनिन्छ र यो तीन दिन मनाउने पर्व हो । यी तीन दिनमध्ये पहिलो दिन लक्ष्मी पूजा नै भयो । दोस्रो दिन ‘म्ह पूजा’ मनाइन्छ भने तेस्रो दिन ‘किजा पूजा’ । वर्षको अन्तिम दिन भएको अर्थमा लक्ष्मी पूजा काठमाडौंका नेवारका लागि सालतमामी गर्ने दिन पनि हो ।

नेपाल संवत्‌का आर्थिक पक्ष

व्यवसायको एक आर्थिक वर्ष यही दिन टुंगिने गर्छ । त्यसको भोलिपल्टबाट नयाँ संवत् सुरु हुन्छ । त्यसको अर्थ हो, अर्को एउटा नयाँ आर्थिक वर्ष । व्यापारीवर्गले लक्ष्मीपूजाका दिन आफ्नो एक वर्षको कारोबार र त्यसको हिसाबकिताब बन्द गर्ने गर्छन् । नयाँ वर्षका दिन नयाँ हिसाबकिताब सुरु हुन्छ । आजभोलि यो चलन धेरै हदसम्म लोप भइसकेको छ । यसका पछाडि आफ्नै कारण पनि छन् । अझै पनि सांकेतिक रूपमा भने लक्ष्मीपूजाको दिन सालतमामी गर्ने चलन छँदै छ ।

धेरै समयअघिदेखि नै काठमाडौंमा एक आर्थिक वर्ष टुंग्याएर नयाँ वर्षमा फेरि नयाँ आर्थिक वर्ष सुरु गर्नु आफैंमा महत्त्वपूर्ण छ । यसलाई हाम्रो सांस्कृतिक पक्षसँग जोडेर हेर्न पनि मिल्छ । संस्कृतिविद् सुजनविलास वज्राचार्य भन्छन्, ‘एक निश्चित वर्षलाई आफ्नो व्यापारको समय सीमा मान्ने र त्यसैअनुसार हिसाबकिताब राख्ने हाम्रो विशिष्ट आर्थिक पक्ष हो । यो हाम्रो सांस्कृतिक पक्षसँग पनि उत्तिकै जोडिएको छ ।’ उनी यसलाई हाम्रो पुर्खाले सुरु गरेको गर्विलो पक्ष मान्छन् । राणाकालमा आएर नेपाल संवत्लाई सरकारका तर्फबाट सिधै बेवास्ता सुरु भएको मानिन्छ । यसैक्रममा लक्ष्मीपूजाका दिन सालतमामी गर्नै चलनमा पनि कमी आउन सुरु भयो । तर, नेपाल संवत्कै आधारमा अहिलेसम्म हाम्रा लगभग सबै पर्व रीतिथिति आधारित हुने र मनाइने हुनाले पनि यसको सालतमामीको सांकेतिक स्वरूप कायम रहन सकेको हो ।

पछिल्लो समय नेपाल संवत्लाई नेपालकै मौलिक संवत् मानेर मनाउने र यसको प्रयोग गर्ने क्रम बढ्दो छ । केही समय अगाडिसम्म पनि यसलाई नेवारले मनाउने पर्वका रूपमा मात्र हेर्ने संकुचित दृष्टिकोण थियो । अब भने यो खास वर्गको घेरा तोडेर सबै नेपालीको मौलिक संवत् हुने क्रममा छ । तिथिमितिका आधारमा यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदाका दिन सुरु हुन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित छ ।

संवत् गणना गर्ने दुई आधार छन् । पहिलो, चन्द्रमाले पृथ्वीलाई गर्ने परिक्रमा गर्ने आधारमा । अर्को भने सूर्यको आधारमा हो । नेपाल संवत् चन्द्रमाको गतिको आधारमा तय हुने गर्छ । यो नेपालको संस्कृति तथा परम्परासँग भिजेको छ । यो नै नेपाल संवत्को सबैभन्दा ठूलो विशेषता हो । ‘जन्मदेखि मृत्युसम्म जति पनि विधि अपनाउनुपर्ने हुन्छ, ती तिथिमै आधारित हुन्छन् । नेपाल संवत्को सबैभन्दा ठूलो सांस्कृतिक पक्ष भनेकै नेपालका मौलिक परम्परा यसमै आधारित हुनु हो । यसकै एउटा पक्षका रूपमा एउटा आर्थिक वर्षको अन्त्य र नयाँ वर्षको सुरुआत रहेको छ,’ वज्राचार्यले भने ।

शंखधरसँग जोडिएको किंवदन्ती
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा हुन् । नेपाल संवत्को सुरुआतबारे दुई खाले किंवदन्ती प्रचलनमा रहेको पाइन्छ, यी दुवै कुनै न कुनै रूपमा आर्थिक पक्षसँगै जोडिन्छन् । जस्तो, पहिलो विश्वासअनुसार शंखधरले खास साइतमा घरमा ल्याएको सबै बालुवा सुनमा परिणत भएको थियो । पछि त्यसैको मदतले उनले जनतालाई ऋणबाट मुक्त गरे । जनताको ऋण मुक्त गर्ने प्रयास शंखधरको प्रयास आफैंमा अद्वितीय छ । यसैक्रममा नेपाल संवत् सुरु भयो ।

शंखधरबारे अर्को विश्वास पनि छ । त्यसअनुसार शंखधर व्यापारी थिए । उनले त्यसको मदतले राम्रै प्रगति पनि गरे । उनको प्रगति देखेर आफन्त र नजिककाले सहन सकेनन् । शंखधरले गलत काम गर्न थालेको प्रचार गरे । यसैक्रममा उनलाई राजाबाट सजायका भागीदार बनाइयो । तर, उनले केही खराबी गरेका थिएनन् । त्यसैले सम्पत्ति फिर्ता पाए । त्यही सम्पत्ति उनले जनताको ऋण मोचनमा लगाए अनि नेपाल संवत् सुरु भयो ।

म्ह पूजा
लक्ष्मी पूजाको भोलिपल्ट नयाँ वर्ष सुरु हुन्छ । त्यस दिन नेवार समुदायमा ‘म्ह पूजा’ गरिन्छ । म्ह पूजा नेपाल भाषाको शब्दावली हो । यसको अर्थ हुन्छ, शरीर पूजा । संस्कृतिविद् वज्राचार्य भन्छन्, ‘नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको मान्न सकिन्छ ।’ यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाउने गरिन्छ । म्ह पूजाको दिन बिहान सबेरै उठेर नुहाउने चलन छ ।

यस बेला सकेसम्म सुकिलो र नयाँ लुगा लगाउने गरिन्छ । सुरुमा म्ह पूजा गर्ने स्थान निश्चित गरिन्छ । त्यसलाई सफा राखिन्छ । म्ह पूजाका क्रममा प्रयोग हुने सामग्रीहरू पनि सफा गरिन्छ । परिवारमा सदस्यको संख्या जति छ, त्यसैअनुसार पूजाका सामान र त्यसमा प्रयोग हुने अरू सामग्री व्यवस्था गर्नुपर्छ । परिवारको कोही सदस्य बिरामी छ अथवा घर बाहिर विदेशमा छ भने पनि उसको प्रतिनिधित्व गर्दै मण्डल बनाउने गरिन्छ ।

‘यो म्ह पूजाको एउटा विशिष्ट पक्ष हो,’ वज्राचार्यले थपे । सगुनका लागि विशेष खाले पूजा थालीका रूपमा कोतःलाई प्रयोग गरिन्छ । फूलमा सयपत्री, भीमसेनपाती, मखमली र गोदावरी चाहिन्छ । पूजामा सिन्दूर, अक्षता, नैवेद्य, इता (सानो बत्ती), जजंका पनि प्रयोगमा ल्याइन्छ । सगुनमा हाँसको फुल मात्र प्रयोग हुन्छ । यस्तै सिंगो माछा चाहिन्छ । भोजमा भने यस्तै हुनुपर्छ भन्ने हुन्न । सूर्योदय हुनुपूर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्ह पूजा गरिन्छ ।

म्ह पूजा गर्ने परिवारका जति सदस्य छन्, ती सबैको अगाडि जलमण्डल बनाइन्छ । त्यही जलमण्डलको बीचमा पाँच वटा तेलको चक्का बनाइन्छन् । यसलाई चिकंमन्द (तेलमण्डल) भनिन्छ । नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन् । पूजाका क्रममा पुरुषले टोपी लगाउँछन् । महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् । यो आफ्नो शरीरको तान्त्रिक विधिबाट पूजा गर्ने र वर्षभरि चोट नलाग्ने, बिरामी नहुने, सुख–शान्ति प्राप्त हुने कामना गर्ने अवसर हो ।

प्रकाशित : कार्तिक ८, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?