सम्मोहन सम्पत्तिको

धनतेरस, लक्ष्मीपूजाको अवसर पारेर सुन, गरगहना, सिक्का किन्ने र पूजा गर्ने भनेकै धनप्रति सम्मोहन हो । पुँजीवाद पूर्ण विकास भएको ठाउँमा यो खाले प्रचलन छैन । त्यहाँ उत्पादनलाई सघाउने वस्तु र उत्पादनलाई पूजा गरिन्छ ।
सुरेश ढकाल

निजी सम्पत्तिको उत्पत्ति १० हजार वर्षअघि कृषि युगसँगै सुरु भएको हो  । टर्की, जोर्डन, इराकतिर कृषिको उत्पत्ति भएको इतिहास पढ्न पाइन्छ  ।

खेती गर्न निश्चित क्षेत्र चाहियो । खेती गर्न थालेपछि अतिरिक्त उत्पादन पनि हुन थाल्यो । यसलाई मौज्दात गर्न थालियो । मेरो–तेरो सम्पत्ति भनेर छुट्टिन थाल्यो ।
पहिला घुमन्ते हुन्थे मान्छेहरू । १० हजार वर्षअघिबाटै परिवारको महत्त्व पनि बढ्दै गएको हो । मान्छेले परिवार र आफूले खेती गर्ने क्षेत्रको सुरक्षा गर्न थाले । खेतीपाती, परिवारको अवधारणा बलियो हुँदै गयो । धन र यसको महत्त्व निजी सम्पत्तिको उत्पत्तिसँगै सुरु भयो । त्यसभन्दा अगाडि ढुंगे हतियार सम्पत्ति मानिन्थे । ढुंगे हतियार शक्तिको स्रोत थियो तर धनको महत्त्वका रूपमा थिएन । जब धनको सुरक्षाका लागि लडाकु, जनसांख्यिक समूह बन्न थाले, यसले राज्य–राज्य बनायो । धनको अवधारणा र महिमा नै यहीँ सुरु भएको हो । बिहाबारी तथा अन्य सम्बन्धका काम गर्दा गोठ कत्रो छ, कति खेत छ भनेर हेर्ने गरिन्थ्यो । गोठ र खेतबारी अन्तरसम्बन्धित हुन्थे । धेरै खेत हुनेको ठूलै गोठ र ठूलो गोठ हुनेको धेरै खेत हुन्छ भनेर बुझन्थ्यिो ।
धन पनि विभिन्न प्रकृतिका हुन्छन् । उत्पादन प्रणालीमा श्रम पनि धन हो । श्रमलाई सहज गराउने हलो, गाई गोरु अथवा आधुनिक मेसिन पनि धन हुन् । यिनीहरूको सहयोगबाट हुने उत्पादन धान पनि धन हो । धनप्रति धन्य हुने परम्परा पनि कृषि युगमै सुरु भएको हो । गाई, गोरु, हलोले धन सिर्जना गरेकै कारण धन्य हुने अथवा पूजा गर्ने चलन बसेको हो । नयाँ उत्पादनलाई पनि पूजा गरिन्छ । अहिले पनि धान काटिसकेपछि पूजा गर्ने अथवा न्वागी खाने गरिन्छ । दही चामल बनाएर गाउँभरि प्रसाद बाँड्ने गरिन्छ । त्यसपछि मात्रै नयाँ अन्न खाइन्छ । धनलाई पूजा गर्ने संस्कार यसरी सुरु भएको हो । अरू ठाउँमा पनि नयाँ बाली भित्र्याइसकेपछि यस्तै चालचलन हुन्छन् ।
अहिले पनि हामी सांकेतिक रूपमा मात्रै गाई तिहार, गोरु तिहार मनाइरहेका छौं । तराईमा हलोलाई पूजा गरिन्छ । पहाडमा भकारी पनि पुँजिन्छ । औद्योगिक क्रान्तिपछि धन पुँजीका रूपमा परिणत भएको छ । धन र पुँजी फरकफरक विषय हुन् । अहिले समाजको सम्मोहन पुँजीप्रति बढी देखिन्छ । तर, खासमा पुँजीको काम धन सिर्जना गर्ने हो । यसमा पनि श्रमको अवमूल्यन हुँदै गयो । मेसिनमा लगाव बढ्दै गयो । मेसिन र पुँजी अनिवार्य मान्न थालियो । त्यसपछि पैसा अर्थात् नोटलाई पूजा गर्न थालियो । यो समाजको परिर्वतन हो । पैसालाई पूजा गर्नु भनेको सम्मोहन हो । धनतेरस, लक्ष्मी पूजाको अवसर पारेर सुन, गरगहना, सिक्का किन्ने र पूजा गर्ने भनेकै धनप्रति सम्मोहन हो । यो नभई केही पनि हुँदैन भनेर ‘ग्ल्यामराइज’ गरिएको हो । पुँजीवाद पूर्ण विकास भएको ठाउँमा यो खाले प्रचलन छैन । त्यहा उत्पादित वस्तुलाई पूजा गरिन्छ । पैसालाई गरिँदैन । हामीले चाहिँ हिजो धनलाई पूजा गर्ने गरेको चलनबाट आएकाले परिवर्तित अवस्थामा पैसालाई गर्न थाल्यौं । यो अलि मिलिरहेको छैन । हिजो धनप्रति धन्य होइन्थ्यो । अहिले सम्मोहन देखाइन्छ ।
मध्यपहाडी क्षेत्रमा खासगरी धनतेरस प्रभावित संस्कार हो । कतिपय अवस्थामा यसलाई सांस्कृतिक अतिक्रमण पनि भन्नुपर्ला । विशेषगरी भारतीय संस्कारको प्रभाव हो । पछिल्ला २० वर्षमा हिन्दी टेलिसिरियल हेर्न नपाएको भए महिलाले लगाउने मंगलसूत्रको विषयमा थाहा हुने थिएन । धनतेरस पनि थाहा हुन्थेन । छिमेकी राष्ट्रको प्रभाव हो । मध्यपहाडी क्षेत्रमा एउटा खालको र तराईमा अर्कै प्रकृतिको संस्कृति छ ।

हाम्रो खासमा लक्ष्मीपूजा मात्रै हो । त्यो पनि अन्न भित्र्याएपछि भकारी पूजा गर्ने हो । अहिले पनि जस–जसले खेती गर्छन् भकारीकै पूजा गर्छन् ।
अहिलेको अभ्यासले पुँजी आर्जन गर्छ कि धनप्रति आशक्ति मात्रै बढाउँछ भनेर बहस गर्नुपर्ने बेला भएको छ । मेरो बुझाइमा धनप्रति आशक्ति मात्रै बढाउँछ । नगद राखेर, गरगहना किनेर कोठामा मौज्दात गरिन्छ । उत्पादनशील क्षेत्रमा प्रयोग भइरहेको छैन । पश्चिमाहरूले पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउँछन्, थप पुँजी बढाउने वातावरण बनाउँछन् । यो पुँजीवादी सोच हो ।
पुँजी भन्ने बित्तिकै अर्थशास्त्रको विषय आउँछ । अर्थशास्त्रीले ध्यान नदिएको तर हामी मानवशास्त्रीले जोड गरिरहेको अर्थशास्त्र विषय सामाजिक, सांस्कृतिक अवस्था, वातावरण र प्रचलनमा टाँसिएको हुन्छ । सामाजिक, सांस्कृतिक पाटो हटाएर आर्थिक पाटो मात्रै हेर्न सकिँदैन । त्यसकारण अहिले भइरहेको खर्च, कारोबार, धनतेरस वा लक्ष्मीपूजा अर्थशास्त्रसँग मात्रै जोडिएको छैन, सांस्कृतिक र सामाजिक विषयसँग जोडिएको छ । धन कमाउनुपर्छ वा आशक्ति हुनुपर्छ भनेर सिकाउने पनि सांस्कृतिक चेत हो । पैसा कमाउनुपर्छ वा धनी हुनुपर्छ भन्नु सांस्कृतिक चेत हो । यसको अभ्यास भइरहेको छ । व्याख्या गरिरहेका छैनन् । ‘द प्रोटेस्टान्ट इथिक्स एन्ड स्पिरिट अफ क्यापिटलिजम’ पुस्तकमा म्याक्स वेबरले पश्चिमाहरूले यसैगरी विकास गरेको पुँजीवादको विषयमा व्याख्या पनि गरेका छन् । ‘तपाई धेरै कमाउनुस्, कमाएको केही अंश चर्चलाई दिन सक्नुहुन्छ, जति धेरै दिनुहुन्छ त्यति धेरै धन आर्जन गर्नुपर्छ,’ उनले भनेका छन् । बढी आर्जन गर्न धेरै मिहिनेत गर्नुपर्छ, जसले धेरै धन कमाइन्छ । यसले पुँजीवादलाई गति दिन्छ भन्ने हो । तर, वेबरले भनेअनुसार हामीले सांस्कृतिक चेतले धेरै मिहिनेत गरेका हौं । श्रमिक र उद्योगपतिहरू भगवान्लाई खुसी पार्न गरिरहेका छौं मात्रै भन्छन् । त्यसकारण सास्कृतिक चेत अनुसार धन कमाउन अभ्यास गरिरहेको हुन्छ, महसुस गरेको हुँदैन । यतिवेला अर्थशास्त्र, मानवशास्त्रको काम आउने हो । जीविकोपार्जन गर्ने क्रममा संस्कृति जन्मिएको हो । त्यसपछि अर्थतन्त्रमा टाँसिएको हो ।
वर्णसंकर संस्कृतिका रूपमा पैसालाई पूजा गर्ने गरिएको हो । पूर्ण रूपमा परम्परालाई छाड्न सकिएको छैन, पुँजीवादी मूल्य मान्यतालाई ग्रहण गर्न पनि सकिएको छैन । पुँजीलाई उत्पादन क्षेत्रमा लगाउने चरण पार गरेर जानुपर्छ । औद्योगिकीकरण, उत्पादन, नाफा, पुँजी परिचालनमा जान सकिरहेका छैनौं । अब त्यतातिर जानुपर्छ । अहिले भाडा खाने तथा बिचौलिया प्रवृत्तिमा धनको आशक्ति छ । कुनै कम्पनीको सेयर वा जग्गा किन्ने, पुर्जा र सेयर प्रमाणपत्र राखेर पूजा गर्ने प्रवृत्ति छ ।
खासमा धन कमाउने चेत ग्रहण नगरी सकेको अवस्था छ । न यता न उताको अवस्था हो यो । उत्पादनशील अर्थतन्त्र भएको छैन । यसलाई हेरेर पनि हाम्रो अर्थतन्त्रको अवस्थाको चित्रण गर्न सकिन्छ । एउटा विन्दुबाट हामी छुटिसकेका छौं, अर्को विन्दुमा पुगेका छैनौं । भाडा उठाएर, बिचौलिया गिरी गरेर कुत खाने प्रवृत्ति दलाल पुँजीवादी अर्थतन्त्र हाबी छ । पैसालाई मात्रै महत्त्व दिने अरू केही पनि मतलव नगर्ने संस्कार विकास भएको छ । जस्तै– पहिला पहिला देउसी–भैलो खेल्न जाँदा धान–चामल, सेल र केही पैसा दिने चलन थियो । अहिले धान–चामल दियो भने रिसाउँछन् । भोक लागेको रहेछ भने रोटीसम्म खान्छन् । यो समाजको एउटा चरित्र हो, जसरी पनि धन कमाउने प्रवृत्ति छ ।
पैसा जसरी पनि चाहियो भन्ने एउटा पाटो उपभोक्तावादी संस्कृति हो । यो पुँजीवादकै चक्रभित्र पर्छ । बलियो राज्य र उसको नीति नियमले जसरी पनि धन कमाउने प्रवृत्तिलाई रूपान्तरण गर्न सक्नुपर्छ । यस्तै सांस्कृतिक पक्षहरूको अध्ययनमा सरकारको भूमिका महत्त्वपूर्ण छ । विदेशी तथा राष्ट्रिय पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र समानुपातिक लाभ वितरणको अवस्था सिर्जना गर्नुपर्छ । हामी आफ्नै पुँजीले लगानी गर्न सक्दैनौं भने वैदेशिक पुँजी ल्याएर उत्पादनशील क्षेत्रमा लगाउने प्रणाली विकास गर्नुपर्‍यो । नाफाको ग्यारेन्टी गर्नुपर्‍यो । यसो भयो भने मान्छे उपभोक्तावादी पनि हुन्छ, उत्पादन गर्छ, ज्याला कमाउँछ, जसले फेरि पुँजी परिचालन गर्छ । यसले पुँजीवादको सम्पूर्ण चक्र पनि पूरा गर्छ । उपभोग गर्ने, कमाउने र कमाउनका लागि लगानी गर्ने प्रवृत्ति विकास गर्नुपर्छ । हाम्रो राज्यको अहिलेको उदार अर्थतन्त्रको चरित्रअनुसार त्यो दिशामा जाला भन्नेमा आशावादी छु । तर, उत्पादन गर्ने, नाफा कमाउने र नाफा वितरणको सुनिश्चय यथार्थमा आधारित छैन । सपनामा आधारित राजनीति चलिरहेको छ । तत्कालीन माओवादीले विभिन्न एजेन्डा बोकेर द्वन्द्व गर्‍यो । यथार्थ के हो भन्ने अहिले महसुस गरिरहेको छ । महसुस गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन । चुस्त कर्मचारी संयन्त्र, नैतिकवान् राजनीतिक संस्कार, भ्रष्टाचारमा शून्य सहनशीलताको ग्यारेन्टी गर्ने काम हुन सकेको छैन ।
तिहारको एक सातामा सुन र चाँदीका समान किन्न भीड हुन्छ । सुन किन्नु, लगाउनु संस्कृति मात्रै हैन, प्रदर्शन पनि हो । हाम्रो समाजमा खासगरी धन शक्ति आर्जनसँग पनि जोडिएको छ । पश्चिमाहरूमा यस्तो संस्कृति छैन । ‘पैसा भएपछि जे पनि गर्न सकिन्छ’ भन्ने मान्यता नेपालमा छ । यो आशक्ति हो । पश्चिमाहरूमा पनि धनलाई प्राथमिकतामा राखेर हिँडेका हुन्छन् । तर, शक्ति र आशक्तिका लागि हैन । शासन र सौखका लागि प्रयोग गर्दैनन् । थुपारेर पनि राख्दैनन् । लगानी नै गर्छन् । हाम्रोमा धन थुपारेर राख्नुको कारण सामाजिक सुरक्षाको ग्यारेन्टी नहुनु हो । पश्चिमालाई शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क गरेको हुन्छ । खानपिन र घुमघामका लागि मात्रै धन प्रयोग गर्छन् ।
हाम्रोमा बाउबाजेको नाम, धर्म, घर र सम्पत्ति के कति छ भनेर मापन गर्ने गरिएको छ । यसले घर अनिवार्य चाहिन्छ भन्ने मान्यता विकास गरेको छ । अलिकति पैसा भयो कि घरजग्गा जोड्न सुरु हुन्छ । घर बनाउने र भाडा लिएर धन कमाउने प्रवृत्ति कायमै छ । भाडा संस्कृतिको धन पनि हाम्रोमा भोलि छोरानातिका लागि चाहिन्छ भनेर ‘होल्ड’ गरिरहेका छौं । मेरो छोराको शिक्षा, स्वास्थ्य राज्यले ग्यारेन्टी गरिदिन्छ भने मैले कमाएको पैसा मेरा लागि मात्रै खर्च गर्छु, नाफा हुने क्षेत्रमा परिचालन गर्छु । जति धेरै पैसा म खर्च गरिन्छ त्यति नै अर्थतन्त्र चलायमान हुन्छ । त्यसकारण धनलाई लगानीमा परिणत गर्न पनि राज्यले सामाजिक सुरक्षा र नाफा कमाउने निश्चितता गरिदिनुपर्छ । यस्तो विषयको स्पष्टता राज्यले गरिदिने हो । नाफा कमाउने शक्तिशाली नीति ल्याउनेबित्तिकै हामीमा पनि परिवर्तन आउँछ । खासगरी नाफाको ग्यारेन्टी गर्ने हो भने पूजा गर्ने संस्कृति रहिरहँदैन । सांकेतिक रूपमा त यस्ता पूजाआजा भइरहन्छ । तर, समयक्रमअनुसार परिवर्तन हुन्छ । जस्तै पहिला गोदान गर्नुपर्दा गाई नै दान गर्नुपथ्यो । केही समयअघि गाई भएको पैसा दान गरियो । अहिले पुरोहितले गोदान गर्ने भन्ने बित्तिकै ‘१ सय ५ निकाल्नुस्’ भन्ने चलन सुरु भएको छ । पुँजीवादको चक्र पूरा भएपछि अहिलेको जस्तो हैन, अर्कै प्रकृतिको संस्कार विकास हुनेछ । त्यसकारण पैसालाई आर्थिक दृष्टिकोणले मात्रै हैन सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले जोडेर हेरिनुपर्छ । अर्थतन्त्रको आँखाले मात्रै नीति नियम बनाउनु हुँदैन । धन कमाउने, लगानी गर्ने, नाफा आर्जन गर्ने र त्यसलाई फेरि लगानी गर्ने गरी संस्कृतिको विकास गर्नुपर्छ । यो राज्यको चरित्र र प्रभावकारितामा भर पर्ने कुरा हो । हाम्रो राज्य पनि त्यही बाटोमा छ । कार्यान्वयनमा चुकिरहेको छ ।
(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक ८, २०७६ १२:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विचारधाराभन्दा रणनीति महत्त्वपूर्ण

कान्तिपुर संवाददाता

 अर्जुननरसिंह केसीको ‘चीन सम्बन्ध कस्तो बनाउने ?’ लेखभित्र हाम्रो समृद्धिमा भारत, चीन र नेपाल बीचको त्रिकोणात्मक कूटनीति अब्बल हुनुपर्ने विषयमा जोड दिइएको छ  ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘सी–विचारधारा’बारे नेता, कार्यकर्तालाई प्रशिक्षित गराएको विषय आलोचित हुनु, सीको सम्मानस्वरुप आयोजित रात्रिभोजका बेला पुनः सो कुरा उठान हुनुलाई लेखकले उचित ठानेका छैनन् । वास्तवमा विश्वभरका कम्युनिष्ट देशहरू कार्ल मार्क्स, लेनिन र माओत्सेतुङका विचारधाराबाट प्रभावित रहेको देखिन्छ । वर्तमान चिनियाँ राष्ट्रपति सफल हुनुमा उनका परिमार्जित नीति र रणनीति नै हुन्, विचारधारा होइनन् ।
चीनले अन्य देशको सफलताको सन्दर्भसँग कन्फ्युसियस र माओको विचारधारा जोडेर समय–सापेक्ष रणनीति अघि सारेका कारण सफलताको चुलीमा पुगेको हो । हामी अहिलेसम्म असफल रहनुको प्रमुख कारण हाम्रा ढुलमुले नीति र कूटनीति हुन् । चीन भने स्थिर कूटनीति बोकेर अघि बढिरहेको पाइन्छ । जस्तो २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा जाँदा माओत्सेतुङले ‘द्रुत विकासको लागि तिमीहरू बेइजिङभन्दा दिल्लीसँग सुमधुर सम्बन्ध राख’ भनेका थिए, जुन कुरा अहिले पनि चीनको शीर्ष नेतृत्वले पटक–पटक भनिरहेका छन् । हाम्रो स्थिति हेरौं, नेता र विद्वान भनाउँदहरूसमेत चिनियाँ र भारतीय तुरूप लिएर प्रहार गर्न तम्तयार देखिन्छन् । जसरी ४/५ वर्षको बालक बाबुआमाको आड पाएर रिस पोख्न ‘निहुँ खोज्छस्, हिर्काऊँ’ भनी अरुमाथि जाइलाग्छ, त्यसैगरी कतिपय बुद्धिजीवीले विचारभन्दा शक्तिको पूजा गरेको देखेर अचम्म नमान्ने को होला र ? यता सिंगापुर, स्वीट्जरल्यान्ड, चीनजस्ता देशहरूको शक्ति र सम्पन्नता देखेर र्‍याल चुहाउँदै पछि दगुर्ने शासकीय शैलीले हामी वल्लोघाट न पल्लोतीरका भएका छौं । चीनले अघि सारेको रणनीतिक साझेदारीमाथि अग्रसर भई दुई देशसँगको परिपक्व कूटनीतिक सन्तुलन, देश सुहाउँदो नीति र सुशासन स्थापना गर्न सत्ताधारी सफल भएमा समृद्धि सपना पूरा हुन समय लाग्ने छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : कार्तिक ८, २०७६ १२:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT