कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढअक्कलले कुरूप सहर

 ५० वर्षअघि सिङ्गै उपत्यका सम्पदा क्षेत्र थियो । उपत्यकामा जेजे थिए, ती सबै सम्पदा थिए । सानोसानो झुपडीदेखि दरबारसम्म । तर हामीले ध्वस्त बनायौं ।

 
रवीन्द्र पुरीपुरातत्वविद्
पहिला सबै बस्ती वैदिक हुन्थे  । वैदिक भनेको वास्तुशास्त्रअनुसारको समग्र गृहस्थी र बस्तीको अवस्था हो  ।

डेढअक्कलले कुरूप सहर

यसमा बस्ती कस्तो हुनुपर्छ भन्ने वास्तु शास्त्रले व्याख्या गरेको हुन्थ्यो । त्यस्तै व्याख्याअनुसार हरेक गृह अर्थात् घर र बस्ती विकासको निश्चित विधि हुन्छ । त्यसपछि वास्तुशिल्पी विधि हुन्छ । यो विधि घरलाई कसरी सुन्दर बनाउने भन्ने हो । झिंगटी, झिंगटीमाथि आकर्षक कलाहरू राख्ने भन्ने हो । जस्तो– घर बनाउँदा कुनै कुनामा दुईवटा छाना जोडियो भने त्यहाँ चराको आकार निकालेर देखाउने । पहिले हरेक घर र बस्ती यी विधिहरूमा निर्भर हुन्थे । वास्तुशास्त्र, वास्तु विधि, वास्तुकला, वास्तुशिल्पी सबै छुट्टाछुट्टै विधिअनुसार बन्थे । यी विधि वैज्ञानिक हुन् । घर बनाउँदा हावा कताबाट चल्छ, घाम कताबाट लाग्छ, पानीको बाछिटा कतातिरबाट बढी आउँछ भनेर विचार गरिन्थ्यो । आफ्नो घर र बस्ती कसरी सुरक्षित राख्ने भनेर तन्त्र विद्याको हिसाबले पनि हेरिन्थ्यो । घर र बस्तीमा धेरै सोचविचार गरिन्थ्यो । यस्ता विधि हजारौं वर्षअघि विकास भएका हुन् । आजकाल आर्किटेक्चर भनेपछि डिजाइन बनाउने, डिजाइनअनुसार घर बनाउनेबाहेक अरू केही हुन छाड्यो ।


पहिले घर मात्रै हैन समग्र समाज व्यवस्थित हुन्थ्यो । हरेक बस्तीमा राजकुलो हुन्थ्यो । सिँचाइका लागि होस् या अकासे पानीको व्यवस्था गर्न राजकुलो हुन्थ्यो । हिजोआज राजकुलो नामै सुन्न पाइन छाड्यो । गाउँ–गाउँमा ढुंगेधाराहरू हुन्थे । त्यो पनि धेरै वैज्ञानिक हिसाबका हुन्थे । जस्तै– सहरको सबै उच्च उचाइमा पहिलो ढुंगेधारा हुन्थ्यो । त्यो ढुंगेधाराको पानी फिल्टर भएर अर्को ढुंगेधारामा जान्थ्यो । त्यसले सहरभरीको खानेपानी व्यवस्थापन हुन्थ्यो ।त्यतिबेलाका सडक अहिले जस्तो गाडी गुड्ने हिसाबले बनाइएका हुँदैन थिए । तैपनि मुख्य–मुख्य सडक निकै चौडा हुन्थे । हरेक समाजमा कुनै न कुनै जात्रा तथा पर्वमा स्थानीयको भीडभाड हुने भएकाले सडक चौडा हुन्थ्यो । जहाँ–जहाँ ठूलो जात्रा हुन्थ्यो, त्यहाँ त्यहाँको रुटका सडक चौडा हुन्थ्यो । सडकबाहेक खुला ठाउँ हुन्थ्यो । यसको मतलब योजना बनाएर मात्रै पहिलेका घर बन्थे । बस्ती बन्थे । राज सभा ज्योतिष, वास्तुविद्, पण्डित महत्त्वपूर्ण सदस्यहरूका रूपमा अनिवार्य उपस्थित हुन्थे ताकि नीति नियम बनाउँदा विज्ञता प्रयोग होस् ।


पछिल्लो समय घर बनाउने, बस्ती विकास गर्ने, योजनाबद्ध रूपमा अघि बढ्ने विषयमा विकृत आउन थाल्यो । अहिलेको मन्त्रिपरिषद्मा वास्तुविद् हुँदैनन् । बाहिर भएका विज्ञहरूको कुरा पनि सुनिँदैन । अहिले त्यो खालको परिपाटी छैन । अहिले राजनितिज्ञजस्तो जान्ने सुन्ने कोही छँदै छैनन् जस्तो गरिन्छ । त्यतिबेला र अहिले पनि काम गर्नुपर्ने विज्ञले नै हो । पुरानो ज्ञान लोप हुँदै जान थाल्यो । खागरी राणाकालबाट हाम्रा घर तथा बस्ती बनाउने परम्परा बिस्तारै परिवर्तन हुँदै आयो । अहिले नै हेर्न सकिन्छ, मल्लकालीन घरहरू बलिया छन् । राणाकालीन घरहरू त्यति बलिया छैनन् । राणाहरूले ठूलो चौडा बनाउन थाले । मल्लकालीन प्रविधिलाई राणाहरूले राम्रोसँग बुझ्न सकेनन् । ब्रिटिस र इन्डियन प्रविधिलाई बढी विश्वास गर्न थाले । काठको साटो फलामको बिम प्रयोग गर्न थाले । मल्लकालीन शैलीका घर बनाउँदा निराललाई कहिले पनि ढोका, झ्यालमाथि राखिदैन थियो । जबकि राणाकालीन घर बनाउँदा उनीहरूलाई जहाँ सजिलो भयो, त्यहीँ राख्न थाले । ब्रिटिस प्रविधि राणाकालमा भित्रिएको हो । त्यसको एउटा उदाहरण सिंहदरबार भवन हो । तिनै भवनहरू अहिले चर्किएका छन । बिम झ्याल र ढोकामाथि राखेका कारण बढी क्षति भएको पाइन्छ । ९० साल र ०७२ सालको भूकम्पमा पनि राणाकालीन भवनमा बढी क्षति भयो ।


मल्लकालीन शैलीका घरहरूका फाइदा धेरै छन् । माटो र स्थानीय कच्चा पदार्थ प्रयोग गरेरै घर बनाइन्थे । सुर्कीर्, काठ प्रयोग गरिन्थ्यो । मल्लकालीन घरका दुई बेफाइदा थिए । होचा र उज्यालो कम भएका घर हुन्थे । राणाहरूले अग्ला र उज्यालो बढी भएका घरहरू बनाए । यसलाई सकरात्मक रूपमै लिनुपर्छ । तर राणाहरूले सिमेन्ट र डन्डीहरूको भित्र्याएका हुन् । हाम्रो सहर एकदमै कुरूप भएको सिमेन्ट भित्रिन थालेपछि हो । नेपालीहरू बढी घुम्न जाने ठाउँ भारत र बेलायत नै हुन् । नेपालका इन्जिनियरहरू पनि भारत, रसियाबाट पढेर आउन थाले । उनीहरूले डन्डी र सिमेन्टले घर कसरी बनाउने भन्ने सिकेर आए । त्यहीँबाट नै प्रभावित भएर नेपालमा पनि सिमेन्टको प्रयोग बढ्न थालेको हो । धन, सम्पत्ति, पद भएकाहरूले सिमेन्टको घर बनाउन थाले । सिमेन्टले ढलान गरेको घर बनाउनु प्रतिष्ठाको विषय हुन थाल्यो ।
पुराना घर सखाप हुँदै गए । ढुंगेधारा, बाटोघाटो पनि बिस्तारै परिवर्तन हुन थाले । राणाकालमै कल धारा आएको हो । पाइप लगाएर ल्याउने धारालाई कल धारा भनिन्थ्यो । कल धाराको पानीभन्दा ढुंगेधाराको पानी मीठो र हाइजेनिक (स्वस्थ) हुँदाहुँदै प्रयोग गर्न छाडियो । कलधारामा आकर्षण भयो । कलधारा घरघरमा आउने भयो । ढुंगेधारा घरघरमा हुँदैन थियो । ठूलाबडाले घरघरमै धारा राख्न थालेपछि अरूले यसैको सिको गरे । ढुंगेधारा, इनार मासिँदै गए ।


नयाँ प्रविधि र विकास कसैले रोक्न सक्ने कुरा भएन । तर पुरानै ठाउँमा भत्काएर नयाँ विकास गर्नुचहिँ हाम्रोमा गलत भयो । हाम्रा पहिलेका र अहिलेका शासकहरू विदेशमा पढेर पनि आएका थिए । राज परिवारमा पनि धेरैजना विदेश पढेर आएकाहरू हुन्थे । उनीहरूले समेत पुरानो प्रविधिलाई संरक्षण गर्न नसक्नु धेरै ठूलो विडम्बना हो । अहिलेसम्म आइपुग्दा हामीले धेरै कुरा गुमाइसक्यौं । यसको कुनै लेखाजोखा छैन ।
हामी पुरानो ठाउँलाई संरक्षण गरेर नयाँ, आधुनिक र व्यवस्थित बस्ती विकास गर्न सक्थ्यौं । हामीसँग गौरव गर्न लायक धेरै सम्पदा हुन्थे । ५० वर्षअघि सिँगै उपत्यका सम्पदा क्षेत्र थियो । उपत्यकामा जेजे थिए, ती सबै सम्पदा थिए । सानोसानो झुपडीदेखि दरबारसम्म सबै सम्पदा थिए । संरक्षण गर्न नपर्ने केही पनि थिएन । मैले मात्र अहिले भनेको होइन । नेपाल आएका टोनि हेगन, बोरिसजस्ता मान्छेहरूले दोस्रो विश्वयुद्धपछि काठमाडौं उपत्यका संसारकै सबैभन्दा ठूलो र धेरै सम्पदा भएको क्षेत्र हो भनेका थिए । संसार देखेको मान्छेले भनेको कुरा त पत्याउनुपर्‍यो नि । उनीहरूले भनेअनुसार धरै सम्पदा भएको क्षेत्र दोस्रो विश्व युद्धअघि युरोप थियो । विश्वयुद्धमा मुख्यमुख्य सहर सबै ध्वस्त भए । दोस्रो विश्वयुद्धले जति सक्यो, त्योभन्दा बढी त्यसपछिको विकासले सिध्यायो । त्यहाँ उनीहरूको आफ्नै कारणले भएको हो । हाम्रो त युद्धले ध्वस्त भएको हैन । हामील आफै ध्वस्त बनायौं ।


मल्लकालमा भएका पुरानो प्रविधि, सम्पदा, बस्ती विकासको संस्कृति २० प्रतिशत मात्र बचाउन सकेको भए अहिले हामी धेरै अगाडि हुन्थ्यौं । त्यतिबेलाको तुलनामा हामीसँग अहिले ५ प्रतिशत मात्र बाँकी छ । यसमा दरबार स्क्वायर र केही घर मात्र हुन् । अहिलेको मन्त्रिपरिषद्का कति जनालाई यसबारे थाहा छ ? उनीहरूलाई केही थाहै छैन । यो सबै बुझ्दै नबुझेर ध्वस्त भएको हो । हाम्रा नेताले बुझ्ने कोसिस पनि गरेनन् । ३ वर्ष अघिको मन्त्रिपरिषद्ले त सिंहदरबार भत्काउने निर्णय नै गरिसकेको थियो । सिंहदरबारलाई बचाउने भनेर हामीले अभियानै चलायौं । नभत्काउने भन्ने निर्णय भयो तर खै बचाएको ? त्यो अब त्यतिकै सकिन्छ । पानी छिरेको छ । संरक्षण भएको छैन ।


२५/३० वर्षयता झन बढी बिग्रिएको हो । म ०४१/०४२ सालतिर कानुन पढ्थेँ । घर फर्कदा ट्रलीबस चढ्थे । कहिलेकाहीँ बागबजारबाट मैतेदेवी हुँदै हिँडेर पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर पुगेर ट्रली बस चढ्थेँ । पुतली सडकदेखि डिल्लीबजारको उकालो चढेर ओर्लिंदा दायाँबायाँका घरहरू यति राम्रा थिए कि त्यहाँ हिँड्दा अर्कै मजा हुन्थ्यो । अहिले त्यहाँ एक/दुईवटा मात्र घर छन् । मैले देख्दा सम्म सत प्रतिशत त्यहाँ पुराना घर थिए । त्यस्तै अर्को ठाउँ सोह्रखुट्टेबाट सामाखुसी जाने बाटोको दायाँबाया पूरै पुराना घर थिए । अझै पनि हामी जस्तो मान्छेले आस गरिरहेका छौं । हाम्रा घर, बस्ती, परम्परा, संस्कृति अझै सपार्न सकिन्छ । पाटन, काठमाडौं, भक्तपुरका मुख्य क्षेत्रलाई पुरातन हिसावले जोगाउन सकिन्छ । भूकम्प अघि सम्म साँखुमा घर–घर अगाडीबाट पानी बग्थ्यो । राजकुलो थियो । यस्ता ठाउँ अझै छन् । जोगाउन नसक्ने कुरै छैन । यसका लागि स्थानीय तहका सरकारहरू तयार हुनु पर्‍यो । पाटनमा जतिवटा चोक छन्, त्यति संसारको कुनै पनि ठाउँमा छैन जस्तो लाग्छ मलाई । पाटन भनेको चोकैचोकको सहर हो । धेरै अतिक्रमित भएका छन । चोक छ, त्यही पेलेर घर बनाइएको छ । एउटा चोकमा २/३ जनाको घर हुन्छ । त्यसपछि तैं चुप, मै चुप भयो । यसलाई पहिलेकै अवस्थामा फर्काउन महानगरपालिकाहरूले नीति ल्याउनुपर्‍यो । दत्तचित्त भएर लाग्ने हो भने पाटनलाई चोकैचोकको सहरका रूपमा विकास गर्न सकिन्छ ।


नीति बनाउने र कार्यान्वयन गर्ने हो भने सबै समस्या समाधान हुँदै जान्छन । सवारी साधनमुक्त ठाउँ बनाउन सकिए चहलपहल अर्कै हुन्छ । पनौतिलाई पनि चोकैचोकको रूपमा विकास गर्न सकिन्छ । काठमाडौंको मुख्य क्षेत्रमा सवारी साधनमुक्त बनाईदिने हो भने विकास आफै हुन्छ । सवारी साधनमुक्त भएपछि त्यो सांस्कृतिक सहर बन्छ । महानगरपालिकाले बाटोमा ढुंगा छापिदिओस् । भोटाहिटी, असन, ज्याठा, इन्द्रचोक, विष्णुमतीसम्म सवारीसाधनमुक्त ठाउँ बनाऔं । यो ठाउँ घुम्न विदेशी पर्यटक नै चाहिदैन । नेपाली नै कहाँकहाँ जाऊँ भइरहेका छन् ।
हाम्रो निजी क्षेत्रले आफैं काम थाल्छ । मुख्य गरी केन्द्र सरकार र स्थानीय सरकार मिल्ने हो भने असम्भव केही छैन । काठमाडौं, भक्तपुर, पाटनले गुमाएका धेरै कुरा फिर्ता ल्याउन सकिन्छ । यो काम गर्न हाम्रो सरकारसँग स्रोतको अभाब पनि म देख्दिनँ । ५/१० वर्ष अघिसम्म पैसा कम हुन्थ्यो । तर अहिले प्रशस्त पैसा भएरै चाहिने नचाहिने ठाउँमा सरकारले खर्च गरिरहेको छ ।


म केन्द्र र स्थानीय सरकारलाई एउटा नमीठो उदाहरण भन्न चाहन्छु । पनौती परम्परागत शैलीकै सहर बनाउन सकिन्छ कि भनेर म विगत १० वर्षदेखि लागी रहेको छु । जोहो गरेर, कहीं कतैबाट सहयोग जुटाएर पनौतीलाई आकर्षक बनाउने मेरो योजना छ । तर त्यहाँको स्थानीय सरकारले घर, मन्दिर, सार्वजनिक स्थलमा इनामेल ल्याएर दलिदियो । गारो, काठ, इँटा सबैमा पेन्ट गरिदियो । सम्पदालाई राम्रो बनाउन यस्तो गरेको रे । इनामेल दलेर सम्पदा राम्रो हुँदैन । विज्ञलाई सोधिखोजी गरिँदैन । आफ्नै डेढ अक्कल लगाएर काम गर्छन् । मौलिकता जोगाउन खरकै छाना हाल्नुपर्छ भन्ने पनि छैन । गाउँ घरमा जे पाइन्छ त्यसलाई त्यही उपयोग गर्ने हो । त्यस्तो मौलिकता भूकम्पपछि बारपाकले पनि गुमायो । फोटोमा बारपाक बर्बाद नै भएको देखिरहेको छु । भूकम्पअघिको सून्दर बारपाक पुनर्निर्माणको क्रममा बिगारे । पुराना घर भूकम्पमा कुनै ढले कुनै ढलेनन् । ढलेका किन ढले, नढलेका किन ढलेनन् भन्ने अनुसन्धान नै भएन । सरकारले राम्रो मोडल दिएर सबैतिर सिकाउनुपर्थ्यो । सिकाएन, छाडिदियो । भूकम्पपछि धेरै सहर झन् बिग्रिए ।


तैपनि अझै सुधार गर्न सकिन्छ । सुरु कहाँबाट गर्ने भन्ने हो । यतिसम्म च्यातिइसक्यो कि कहाँबाट सिउने भनेर धागो र सियो हातमा लिएर अलमलिनुपर्ने अवस्था भने छ । तै पनि स्थानीय सरकारले प्रयास गर्नुपर्ने हो । ठीक उल्टो देखिरहेको छु । काठमाडौं महानगरपालिकाका मेयर सम्पदाको दुस्मनका रूपमा देखापरेका छन् । हाम्रा शासकहरूले सम्पदा के हो भनेर बुझेकै छैनन् । बाँकी रहेकोलाई संरक्षण गर्नुपर्छ भन्ने बेला उल्टै भत्काउने बिगार्ने कुरा गर्छन् । बाँकी सम्पदा पनि सकिने हुन् कि भन्ने डर हुन थाल्यो ।


तीनवटा दरबार स्क्वायर विश्व सम्पदामा सूचीकृत भएकाले त्यहाँचाहिँ आँखा लगाइसकेका छैनन् । विश्वसम्पदा सूचीकृतलाई के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा नै थाहा छैन । यसमा जनस्तरबाट पनि सुधार गर्न जरुरी छ । आफ्नै घर कलात्मक बनाएर सुधार गर्न सकिन्छ । घर आफ्नो आधाभन्दा बढी समय बिताउने ठाउँ हो । पुरानै शैलीका घरहरू प्राकृतिक कच्चापदार्थ प्रयोग गरेर बनाउनुपर्‍यो । पहिलेको प्रविधि महँगो पनि होइन । कलात्मक घर बनाउन जनशक्तिको कमी छैन । म एक्लो मान्छेले त गरिरहेको छु । सरकार र स्थानीय तहले लागिपरेर जनशक्ति उत्पादन गर्ने हो भने झन् कति हुन्थ्यो होला ? मैले ८० वटाभन्दा बढी हेर्दै गौरव गर्नलायक घर बनाएको छु । विद्यालय बनाउँदा गाउँभरिकालाई गौरव छ । निजी र सार्वजनिक गरेर १ सय संरचना बनाइसकेँ । मल्लकालमा जुन प्रविधि प्रयोग हुन्थ्यो, हुबहु गर्न सकिन्छ ।


ज्ञान बाँड्न म तयार छु । प्रविधि सिकाउन तयार छु । मै खाऊँ मै लाऊँ भन्दिनँ । कोही परम्परागत रूपको पाँचतले मन्दिर बनाउँछु भनेर आयो भने सकिन्छ । राज्य, स्थानीय तह, सर्वसाधरणले पनि चाहने हो भने धेरै कुरा फर्काउन सकिन्छ । संसारको नमुना सहर देखाउन सक्ने क्षमता, सामर्थ्य बाँकी नै देखेको छु तर चाहना हुनुपर्‍यो । सबै बिग्रियो, भत्कियो, सकियो भनेर मन दुखाइरहनुको सट्टा केही गर्नतिर लाग्नुपर्छ ।
कृष्ण आचार्य र विमल खतिवडासँगको कुराकानीमा आधारित

प्रकाशित : भाद्र ३१, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?