कानुनमा क्रेज

सुदीप कैनी

विज्ञान संकायमा कक्षा १२ सकेकी सन्ध्या बुढाथोकीको अब कानुन पढ्ने तयारी छ  । विज्ञानको अध्ययनलाई ब्रेक लगाएर उनी कानुनको पछि दौडिनुका कारण थुप्रै छन्  ।

पछिल्लो समय कानुनको अध्ययनप्रति नयाँ पुस्ताको आकर्षण बढ्दो छ । पढाइ पूरा गरेपछि सजिलै रोजगारीको अवसर पाइने र तथा स्वरोजगार हुन सकिने बुढाथोकीलगायतको बुझाइ छ । जुनकुनै पेसा, व्यवसायमा भविष्य खोजे पनि ऐन, नियम जान्न जरुरी रहेकाले आफूले विज्ञानको साटो कानुन रोजेको उनले प्रस्टाइन् । ५ वर्षे बीएलएलबी सकेर कानुनी र न्यायको वकालत गर्ने नागरिक बन्ने उनको सपना छ ।
जुनकुनै विषयमा स्नातक वा सोसरहको अध्ययनपश्चात् ३ वर्षे एलएलबीमा भर्ना भएर कानुनी शिक्षाको क्षेत्रमा प्रवेश गर्नेको लर्को पनि लामो छ । गत वर्ष मात्रै त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसमा एलएलबीमा १० हजारभन्दा बढी विद्यार्थी भर्ना भए । यो तथ्यांकले पनि कानुनप्रतिको आकर्षण देखिन्छ ।


सरकारी/गैरसरकारी सेवामा जोडिएका देखि राजनीतिमा सक्रियहरू पनि कानुनी शिक्षाको शैक्षिक योग्यता हासिल गर्ने गर्छन् । कानुन जानेर आफ्नो पेसालाई टेवा पुर्‍याउनु उनीहरूको उद्देश्य हो । पेसामा सजिलै वृत्ति विकास र उत्कृष्ट कार्यसम्पादनका लागि कानुनको अध्ययन जरुरी रहेको नेपाल प्रहरीका अधिकृत शंकर आचार्यले बताए । कुनै पनि विषयमा १२ कक्षा पूरा गरेपछि ५ वर्षे कानुन विषयको अध्ययन गर्न सकिन्छ । त्रिविसहित काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयमा कानुनको अध्ययन गर्न सकिन्छ । त्रिविका आंगिकसहित ५ वटा, काठमाडौं युनिभर्सिटी स्कुल अफ ल र पूर्वाञ्चलका २ शिक्षण संस्थाले कानुनको पठनपाठन गराउँदै आएका छन् । नेपाल ल क्याम्पसमा भर्ना हुन आवेदन दिनेको संख्या हेर्दा विद्यार्थीको तुलनामा कलेजहरू पर्याप्त छैनन् । त्रिविका आंगिक क्याम्पसमा पनि कानुन पढ्न कोटा तोकिएको छ । भर्ना हुने तर नियमित पढ्न नआउने अन्य विषयमा विद्यार्थी कानुनमा धेरै भर्ना हुने गरेका ल क्याम्पसका प्राध्यापकहरू बताउँछन् ।


सम्बन्धन पाएका कलेजहरूले पनि निश्चित संख्यामा मात्र विद्यार्थी पढाउने गर्छन् । कानुन पढेका जनशक्तिको आवश्यकता मुलुकमा झनै बढ्दो छ । संघ, प्रदेश र स्थानीय तहसहित मुलुकमा ३ प्रकारका सरकार छन् । ३ तहमा अहिले ७ सय ६१ सरकार छन् । स्थानीय सरकारले समेत कतिपय आफ्नै कानुन निर्माण गरेर कार्यान्वयन गर्न सक्ने संवैधानिक व्यवस्था गरेको छ । त्यसले पनि कानुन पढेका जानेका जनशक्तिको खाँचो बढेको छ ।कानुनमा स्नातक गरेपछि धेरै अवसर छन् । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि कानुन पनि एउटा उपयुक्त विकल्प बन्ने गरेको छ । कानुनतर्फ स्नातक तहमा बीएएलएलबी र एलएलबी गरी दुईथरी कार्यक्रम छन् । १२ कक्षापछिका विद्यार्थीका लागि पाँचवर्षे बीएएलएलबी छ ।


एलएलबीमा पनि निश्चित कोटा तोकेर पठनपाठन गराउन निर्णय गरेर कार्यकारी परिषद्मा पठाएको त्रिवि कानुन संकायका डिन विजयसिंह सिजापतिले जनाए । परिषद्ले निर्णय गरेर निश्चित संख्यामा मात्रै आंगिक क्याम्पसमा विद्यार्थी भर्ना हुन पाउँछन् । त्यसकारण त्रिविका अन्य क्याम्प्समा पनि कानुनको पढाइ सुरु गर्न दबाब बढ्दो छ ।
ल क्याम्पसमा पूर्वाधार र शिक्षकहरूको कमीले धेरै विद्यार्थी पढाउन असमर्थ रहेको जनाउँदै आएको छ । विद्यार्थीको चापअनुसार शिक्षण संस्थाको कमी रहेको सिजापतिले जनाए । ‘धेरै क्षेत्रका जनशक्ति कानुन पढेर आफूलाई अब्बल बनाउन चाहन्छ,’ उनले भने, ‘त्यसका लागि अध्ययन/अध्यापनको परिपाटीलाई सुधार गर्नु आवश्यक छ ।’


मुलुकको समृद्धि र असल शासनका लागि पनि कानुनी शिक्षाको प्रचार गर्नु र यसको दक्ष जनशक्तिको उत्पादन गर्नु निकै जरुरी यस क्षेत्रका विज्ञहरू औंल्याएका छन् । आफ्नो जुनसुकै पेसा व्यवसायमा पनि कानुनी शिक्षाको सहयोगी भूमिका हुने र स्वतन्त्र व्यवसाय गर्न सक्ने हुँदा पनि कानुन पनि क्रेज झन्झन् बढेको हो । नेपाल बार काउन्सिलका अनुसार १७ हजारभन्दा बढीले कानुन व्यवसायीको इजाजत लिइसकेका छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

सदाबहार व्यवस्थापन

व्यवस्थापनलाई न्यूनतम स्रोत साधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कलाको रुपमा विश्लेषण गरिँदै आएको छ ।
यज्ञ बञ्जाडे

दस जोड दुई (प्लस टु) पछि के पढ्ने भन्ने दोधारमा हुनुहुन्छ ? त्यसो हो भने ढुक्क भएर व्यवस्थापन विषय नै रोज्नुस्  । यसको अध्ययनक क्रममा केही मिहिनेत भने चाहिन्छ  ।

तपाईंले राम्रो नम्बरसहित स्नातक तह मात्र पास गर्नुभयो भने रोजगारीको चिन्ता भने गर्नु पर्दैन ।व्यवस्थापन बैंक तथा वित्तीय संस्था, बिमा, कर्पोरेट क्षेत्रका लागि मात्र होइन, सरकारी सेवाका लागि पनि उपयुक्त छ । सरकारी सेवाका लागि लोकसेवा आयोगले प्रश्न गर्ने धेरै पाठ्यक्रम व्यवस्थापनका विद्यार्थीले आफ्नो नियमित अध्ययनकै दौरानमा पढिसकेका हुन्छन् ।


त्यसो त व्यवस्थापनले जागिर मात्र दिलाउँदैन । उद्यमी बन्नका लागि आवश्यक धेरै ज्ञान दिन्छ । यसको अर्थ व्यवस्थापनबाहेक विषय अध्ययन गरेको व्यक्ति उद्यमी हुन सक्दैन भन्ने होइन । तर, अन्य विषय अध्ययनको तुलनामा व्यवस्थापन विषयमा उद्यमी बन्न चाहिने धेरै ज्ञान (गुण) पाइने शिक्षाविद्हरू बताउँछन् । व्यवस्थापनभित्र पनि अहिले विभिन्न विषयहरू पढ्न पाइन्छ । बीबीए, बीबीए बीआई, बीआईएम, होटल म्यानेजमेन्ट, कम्प्युटर, ट्राभल एन्ड टुरिजमलगायत केही चलेका विषय हुन् । विद्यार्थीका लागि यो राम्रो अवसर हो । विद्यार्थीले आफूले रोजेको वा चाहेको विषय पढेर उज्ज्वल भविष्य बनाउन सक्छन् । अहिले विगतको जस्तो परम्परागत पढाइ छैन । यसकारण आफ्ना छोराछोरीलाई डक्टर र इन्जिनियर बनाउने सोच धेरै बाबुआमाले त्यागिसकेका छन् । अहिले बच्चालाई के बनाउन चाहन्नुहुन्छ भन्ने प्रश्न बाबुआमामा तेर्स्याएपछि अधिकांशको जवाफ हुन्छ, उनीहरूले जे चाहन्छन् । यो निकै राम्रो पक्ष हो । यसको अर्थ अहिले बाबुआमाकै लागि छोरोछोरीले अरुचिको विषय पढ्नुपर्ने बाध्यता छैन । अब उनीहरूले आफ्नो छनोटअनुसार विषय रोज्न सक्छन् ।


तीन एम अर्थात् म्यान, मनी र मेसिनको उचित प्रयोग नै व्यवस्थापन हो । सही समयमा यी ३ कुराको व्यवस्थापन गर्न जाने हरेका व्यक्ति जुनसुकै काममा सफल हुन्छ । यसको अर्थ धन, जन र वस्तुको कुशल प्रयोग गरी सन्तोषजनक सफलता प्राप्त गर्ने उद्देश्यतर्फ उन्मुख गराउने विषय व्यवस्थापन हो । यसले कुनै पनि विषयमा पूर्वानुमान गर्न, योजना बनाउन, संगठन, आदेश, समन्वयजस्ता मुख्य काम गर्न सिकाउँछ । मानिसभित्र सीप, कला, क्षमता, सोच, उत्प्रेरणा, मनोबल, दृष्टिकोण, रचनात्मकता आदि हुन्छ । भौतिक साधनभित्र मेसिन, उपकरण, प्रक्रिया, पद्धति, क्रियाकलाप आदि हुन्छ । यस्तै, वित्तीय साधनभित्र पुँजी, स्रोत, मुद्रा पर्छन् । यी सम्पूर्ण तत्त्वलाई एकीकृत गरी संगठनको लक्ष्य प्राप्तिमा उन्मुख गराउने काम व्यवस्थापनले गर्छ ।यसकारण व्यवस्थापनलाई न्यूनतम स्रोत साधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कलाको रूपमा विश्लेषण गरिँदै आएको छ । मानिसजस्तो जटिल प्राणीलाई युक्तिपूर्ण ढंगले काममा लगाउने शिक्षा दिने विषय व्यवस्थापन हो । यसकारण व्यवस्थापन विषयको अध्ययनपछि रोजगारीका लागि मात्र नभएर स्वरोजगारीका लागि पनि धेरै उपयोगी कुरा सिक्न पाइने जानकारहरू बताउँछन् ।


व्यवस्थापनमा अग्रेजी, नेपालीसँगै अर्थशास्त्र, व्यवस्थापकीय सिद्धान्त, होटल व्यवस्थापन, कम्प्युटर, ट्राभल्स एन्ड टुरिजम्सलगायत विभिन्न विषय पढ्न पाइन्छ । बीबीए, बीबीए बीआई, बीआईएमलगायत पाठ्यक्रम स्नातक तहमा केही चलेका विषय हुन् । यी विषयमा सैद्धान्तिकभन्दा व्यावहारिक (प्रयोगात्मक) अभ्यास धेरै हुन्छ । यसकारण विद्यार्थीले अध्ययनका दौरान धेरै प्रयोगात्मक कुरा सिक्छन् । यसकारण पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरमा व्यवस्थापन विषयमा विद्यार्थीको आकर्षण निकै बढेको देखिन्छ । ‘विगतमा विज्ञान पढ्न नसक्ने विद्यार्थीले मात्र व्यवस्थापन पढ्ने चलन थियो,’ अभिभावक दीपक श्रेष्ठले भने, ‘अहिले परिस्थिति बदलिएको छ, राम्रो नम्बरमा एसईई पास भएका विद्यार्थीले पनि विज्ञान नपढेर व्यवस्थापनमा पढेका छन् ।’


बैंक तथा वित्तीय संस्था, बिमा मात्र होइन, कर्पोरेट र सरकारी क्षेत्रमा काम गर्न चाहनेका लागि पनि व्यवस्थापन विषय राम्रो मानिन्छ । तर, सरकारी सेवाका लागि पनि उपयोगी छ । लोकसेवा आयोगले प्रश्न गर्ने धेरै पाठ्यक्रम व्यवस्थापनका विद्यार्थीले आफ्नो नियमित अध्ययनकै दौरानमा पढिसकेकाले परीक्षा पास गर्न सजिलो हुने जानकारहरू बताउँछन् । व्यवस्थापन पढेका विद्यार्थीमा विषयगत ज्ञानका साथै नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता निकै बढी हुने भएकाले काम लगाउन सजिलो हुने बैंकरहरू बताउँछन् । व्यवस्थापन वाणिज्य, व्यवसाय र बिमासँग सम्बन्धित विषय भएकाले बैंक तथा वित्तीय संस्थामा बढी उपयोगी हुन उनीहरूको तर्क छ ।


बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी हुने खालको पाठ्यक्रम र इन्टर्नसिपमा आधारित शिक्षा हुने भएकाले प्रयोगात्मक ज्ञान बढी हुने बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘व्यवस्थापन पढेका विद्यार्थी बैंक तथा वित्तीय संस्था र बिमाका लागि रेडिमेट प्रडक्टजस्तै हुन्,’ उनले भने । व्यवस्थापन पढेका विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै वित्तीय क्षेत्रको व्यावहारिक र विषयगत ज्ञान पनि धेरै हुने शर्माको भनाइ छ । करिब दुई वर्षयता बिमा कम्पनीको संख्या थपिएसँगै बिमा कम्पनीहरूमा व्यवस्थापन पढेका विद्यार्थीको माग बढेको छ । ती विषयमा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा दिइने, करिब ५० देखि ६० प्रतिशत पाठ्यक्रम प्रयोगात्मक हुनेलगायत कारण बिमा कम्पनीको नजरमा पनि व्यवस्थापन पढेका विद्यार्थी परेको जानकारहरू बताउँछन् ।


व्यवस्थापन अध्ययन गरेका विद्यार्थीमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुन्छ । पाठ्यक्रम नै बढी व्यावहारिक र प्रयोगात्मक हुने भएकाले विद्यार्थीको एटिच्युड र लिडरसिप विकास राम्रो हुने शिक्षाविद्हरू बताउँछन् । ‘व्यवस्थापन विषयको प्रमुख उद्देश्य नै व्यवस्थापक उत्पादन गर्ने भएकाले नेतृत्व विकास र व्यवहार विकासमा जोड दिइएको हुन्छ,’ ट्रिटन कलेजका व्यवस्थापन संयोजक कमानसिङ आरसीले भने, ‘व्यवस्थापनले विद्यार्थीलाई सजिलै जागिर पाउने कला मात्र सिकाउँदैन, नेतृत्व कसरी गर्ने भन्ने कुरा पनि सिकाउँछ ।’ जीवन बनाउनका लागि ज्ञान, धन, सम्पत्ति, समय र वस्तुको अधिकतम प्रयोग गर्न आवश्यक पर्छ । त्यो सीप/कला व्यवस्थापनबाट सिक्न सकिन्छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्