सूचना प्रविधि किन ?

गोविन्द पोखरेल

कक्षा ११/१२ मा आफूले रोजेको विषय लिए पनि त्यसको २ वर्षपछि विद्यार्थीलाई अन्य विषय/क्षेत्रमा जान मन लाग्छ  । आफूले भनेजस्तो नभएपछि विद्यार्थीहरू फ्रस्टेसनमा जाने गरेका छन्  ।

अहिले सञ्चार तथा सूचना प्रविधिको जमना छ । भनौँ, प्रविधिले नै हामीलाई ‘लिड’ गरेको अवस्था छ । एउटा कुनामा बसेर विश्व नियालेर आफूलाई व्यक्त गर्न मन लागको कुरा भन्छौं । हरेकजसो संघसंस्थाहरूलाई प्रविधि नभई नहुने वस्तु भनेको छ । यो यस्तो वस्तु भनेको छ जो संसारको हरेकजसो क्षेत्रमा प्रयोग हुन्छ । अस्पताल, उद्योग, कार्यालय, सुरक्षा, पत्रकारिता, अन्तरिक्ष आदि सबै क्षेत्रमा प्रयोग हुन्छ ।


कम्प्युटरको विकाससँगै सुरु भएको प्रविधि विकास इन्टरनेटको विकासपछि यो अभिन्न अंग बनेको छ । हरेक क्षेत्रलाई सहज बनाइदिने प्रविधिले कुनै पनि काम छिटोछरितो र पारदर्शी ढंगबाट काम गर्न मद्दत पुर्‍याउँछ । आवश्यकतासँगै रोजगारका अवसरहरू पनि बढ्दै गएका छन् । सूचना प्रविधिको व्यापार फस्टाउँदो छ । विद्यार्थीहरूलाई प्रविधि विज्ञान पढ्नेले मात्र पढ्न पाउँछन् भन्ने भ्रम छ भने त्यो मानसिकता फाल्दा हुन्छ । व्यवस्थापन, शिक्षा र मानविकी विषयमा गणित पढ्ने विद्यार्थीले पनि आईटी पढ्ने अवसर पाउन सक्छन् । प्रविधिक शिक्षा भएकाले प्रविधि अध्ययनमा विद्यार्थीहरूको रुचि बढ्नुको कारण हो । प्रविधि अध्ययनमै आफ्नो भविष्य खोज्ने हो भने विद्यार्थीहरूले त्यसबारे धेर/थोर जान्नु आवश्यक छ । प्रविधिमा विद्यार्थीहरूको रुचि बढोस्, प्रयोग गर्न जानुन् भनेर सरकारले विद्यालय तहको पाठ्यक्रममै कम्प्युटर विज्ञान समावेश गरेको हो ।


आईटी क्षेत्रमा नेपालमा विशेषगरी ब्याचलर्स अफ साइन्स इन कम्प्युटर एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी), ब्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स (बीएस्सी सीएस), ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर्स इन कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस) लगायतका कोर्सहरू पढाइ हुँदै आएका छन् । केही कोर्सहरूमा निजी तथा सरकारी क्याम्पसहरूमा पनि पढाइ हुन्छ । सीएसआईटी अध्ययन गर्ने विद्यार्थीले कक्षा १२ मा विज्ञान लिएर पढेको हुनुपर्छ । यो त्रिविअन्तर्गत सञ्चालित सेमेस्टर प्रणालीअन्तर्गतको ४ वर्षे शैक्षिक कार्यक्रम हो । यस्तै, पोखरा विश्वविद्यालयले बीसीआईएस, पूर्वाञ्चलले बीआईटी र काठमाडौं विश्वविद्यालयको बीएस्सी सीएस पढाइ हुन्छ । विदेशी विश्वविद्यालयहरूका बीएस्सी होन्स कम्प्युटिङ विषय पनि नेपालमा पढाइ हुन्छ ।


यो ३ वर्षे कोर्स हो । अन्य विषयहरू ४ वर्षमा सकिन्छ । भ्विष्यमा सफ्टवेयर, नेटवर्किङ, कम्प्युटर सिस्टम इन्जिनियर बन्ने सपना आईटी अध्ययनले पुर्‍यादिन्छ । आईटीबाट वेभ डेभ्लोपरदेखि सफ्टवेयर प्रोग्रामिङलगायत गेमहरू निर्माण गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेका छन् । प्रायः स्नातक सक्नेबित्तिकै जागिर खोज्ने चलन छ । आईटी पढेका विद्यार्थीहरू बेरोजगार बन्दैनन् । उनीहरूले काम पाइहाल्छन् । अझ राम्रो दक्षता हासिल गरेकाहरूलाई विदेशी आईटी कम्पनीहरूले उच्च पारिश्रमिक दिएर लैजान्छन् । होइन म जागिर खादिनँ, आफ्नै व्यवसाय अगाडि बढाउँछु भन्दा पनि आईटीमा अवसर धेरै छन् । एउटा गेम वा एप्सबाट नै डेभ्लोपरले लाखौँ डलर कमाउन सक्छन् । अध्ययनपछि डाटाबेस सिस्टममा काम गर्नेदेखि सेक्युरिटी एनालिस्टजस्ता कामहरू सजिलैसँग गर्न सकिन्छ । ग्राफिक्समा पनि धेरै नै अवसर छन् । प्रोग्रामिङमा झन् धेरै अवसर छन् ।


आईटी पढ्दा विद्यार्थीहरूले जे पढ्यो त्यसलाई प्रयोगात्मक अभ्यासबाट पनि काम गर्न सकिन्छ । आईटीमा अफिसको जस्तो ड्युटी गरिराख्नु पर्दैन । तोकिएको समयमा दिइएको काम गर्नुपर्छ । यस क्षेत्रका अधिकांश काम अफिस बाहिर रहेर घरमा पनि गर्न मिल्ने खालका हुन्छन् । अध्ययनपछिको कमाइ पनि राम्रो भएकाले विद्यार्थीहरू यसप्रति आकर्षित हुन्छन् । ४ देखि ६ लाख खर्च गरेर पढेको विषयले एकै वर्षमा लगानी उठाइदिने भएकाले विद्यार्थीहरू यसमा आकर्षित भएका हुन् । प्रविधि क्षेत्रको तीव्र विकाससँगै यो क्षेत्रमा चाहिने जनशक्तिहरूको संख्या पनि धेरै नै भएकाले आईटी पढ्ने विद्यार्थीहरू बेरोजगार भएर कहिल्यै बस्नुपर्दैन ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

स्वदेशकै डिग्री

स्वदेशी तथा विदेशी विश्वविद्यालयअन्तर्गत पढाइ हुने पाठ्यक्रमले व्यावसायिकता र दक्षता अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धामा खरो उत्रन सक्षम बनाउँछन् ।
गणेश राई

नेपालमा आइतबार मनाइएको ४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सफल हुने व्यक्तिहरूलाई विभिन्न पदक प्रदान गरिन्  ।

विभिन्न विषयमा विद्यावारिधि उपाधि हासिल २ सय ३१ जनाले ‘क’ श्रेणीको ‘नेपाल विद्याभूषण’ पदक पाए । १ सय ४९ जनाले विदेशी विश्वविद्यालयबाट उपाधि लिएका हुन् । तीमध्ये चीनको युनान युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेकी पहिलो संविधानसभाकी सदस्य लीला न्याइच्याई पनि तीमध्येकी एक हुन् । उक्त पदक हासिल गर्ने आफ्नो परिवारका ४ चारमध्ये तीन जनाले विदेशी विश्वविद्यालयबाट पीएचडी गरेको लीलाले जनाइन् ।


त्यसैगरी स्नातकोत्तर तहका विभिन्न विषयमा उच्चतम तहको ग्रेड प्राप्त १ सय १ जनालाई ‘ख’ श्रेणीको ‘नेपाल विद्याभूषण पदक’ प्रदान गरिएको छ । तीमध्ये ३२ जना विदेशी विश्वविद्यालयबाट उच्चतम ग्रेड पाएका छन् । यसैगरी स्वेदशका विभिन्न विश्वविद्यालयको विभिन्न संकायबाट स्नातक तहमा विशिष्ट श्रेणीमा प्रथम हुनेलाई ‘ग’ श्रेणीको ‘नेपाल विद्याभूषण पदक’ प्रदान गरिएको छ । उक्त पदक हासिल गर्नेमध्ये २ जनाविदेशी विश्वविद्यालयबाट प्रथम भएका हुन् । त्यस्तै, विभिन्न संकायमा स्नातक तहमा छात्रातर्फ प्रथमलाई ‘नेपाल छात्रा विद्यापदक’ प्रदान गरिएको छ । २३ जनाले यो पदक हासिल गरेका छन् । एक नागरिकले नेपाल सरकारको तर्फबाट पाउनुपर्ने शैक्षिक सम्मान हो यो ।


नेपालमै अवसर
डा. प्रमोद भट्ट युवा शिक्षाविद् हुन् । उनी त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक छन् । दुई वर्षअघि खुला प्रतिस्पर्धाबाट उनी त्रिविका स्थायी शिक्षक बनेका हुन् । उनी डोटी जिल्लामा जन्मिएका हुन् । संयोगले पूर्ण छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा उनले पढ्न पाए । कक्षा ४ देखि एसएलसी र त्यसपछि ए लेभल पनि त्यही स्कुलमा पढे । त्रिचन्द्र बहुमुखी क्याम्पसमा बीएस्सी पढे । त्रिविबाटै समाजशास्त्रमा एमए गरे । अनि हान्निए, हिरोसिमा युनिभर्सिटी, जापान सरकारको पूर्ण छात्रवृत्तिमा । त्यहाँ शैक्षिक विकास विषयमा एमएड गरे । त्यहींको कोबे युनिभर्सिटीबाट शिक्षाको समाजशास्त्र विषयमा पीएचडी गरे । अनि फर्किए, नेपाल । किन ? ‘किनभने नेपालमा अवसरै अवसर छ,’ परिपक्व भएर अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्न जाँदाको सान बेग्लै हुने उल्लेख गर्दै भट्ट भन्छन्, ‘विदेश पढ्नु भनेको विज्ञता हासिल गर्न जानु हो । मैले जापानमै मौका पाएको थिएँ । तर मेरो लक्ष्य र उद्देश्य स्वदेशमै रमाउनु हो ।’ उनको ठम्याइमा स्नातक तहमा छात्रवृत्ति पाएर विदेश पढ्न जानु राम्रै कुरा हो । तर आफ्नै ठूलो लगानी स्नातक पढ्नको निम्ति विदेश जाँदाचाहिं दुःख पनि झेल्नु र लक्ष्यमा पुग्न मुस्किल हुने उनी उल्लेख गर्छन् । ‘घरमा सिन्को नभाँच्ने तर कक्षा १२ पास गरेपछि विदेशमा काम गर्दै पढ्छु भन्नुचाहिं बच्चाको कच्चा सोचाइ हो,’ डा. भट्ट भन्छन्, ‘नेपालमै स्वदेशी र विदेशी विश्वविद्यालयका अब्बल विषयहरूमा स्नातक तहको शिक्षा हासिल गर्न सकिने विकल्प प्रशस्त छन् । युरोप, अमेरिका, अस्ट्रेलिया ताक्ने र कलिलो उमेरमा आफैं कमाएर खानुपर्ने, पढ्नु, बाँच्नुपर्ने स्थिति आएपछि जिन्दगी डामाडोल पनि बन्न सक्छ ।’ यसतर्फ अभिभावक र विद्यार्थीलाई काउन्सेलिङको अभाव खड्किएको उनी ठान्छन् । विद्यालयमा शिक्षक र शैक्षिक परामर्शदाताले गलत सपना देखाउने प्रवत्तिले नवयुवाहरू बहकिने गरेको उनको ठम्याइ छ ।


स्वदेशमै स्नातक
कक्षा १२ पास गरेपछि स्नातक तह पढ्ने हो । नेपालमा १५ विश्वविद्यालय छन्, जसमा ४ वटाचाहिं डिम्ड युनिभर्सिटी पर्छन् । १४ सय ८ वटा क्याम्पस छन् । नेपाल खुला विश्वविद्यालय छ । ललितकला, कानुन, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, इन्जिनियरिङ, मेडिसिन आदि उच्च शिक्षाका संकाय हुन् ।स्वदेशमै विदेशी विश्वविद्यालयका कोर्सहरू पढ्न पाउने व्यवस्था छ । शिक्षा मन्त्रालयको अभिलेखमा ९५ वटा शैक्षिक संस्थालाई विदेशी कोर्स पठनपाठन गर्न अनुमति दिइएको उल्लेख छ । ए लेभल, डिप्लोमा, अन्डरग्य्राजुएट, मास्टर्स, छोटो अवधिका तालिम दिइने ननएकाडमिक कोर्सहरू छन् । ‘विद्यार्थीले नेपालमै अन्तर्राष्ट्रिय विश्वविद्यालयको कोर्स पढ्न पाऊन् भनेर हामीले सुविधासम्पन्न भौतिक पूर्वाधार, अनुभवी शिक्षण जनशक्ति, चुस्त व्यवस्थापनसहित सेवा सुविधा उपलब्ध गराएका छौं,’ द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कँडेल भन्छन्, ‘आफ्नै खर्चमा ब्याचलर विदेश जाँदा धेरै दुःख झेल्नुपर्ने हुन्छ ।


स्वदेशमै परिवारका साथमा रहेर पढ्नेमध्ये ९५ प्रतिशतले सफलता हासिल गरेका पनि छन् ।’ यूकेको कोर्स क्रेडिट ट्रान्सफर (आधा कोर्स यूकेमै गएर पढ्न सकिने) को व्यवस्था छ । साथै, विदेश पढ्न जाँदा लाग्ने शुल्क पाँच दोब्बर बढी लाग्ने उनको कथन छ । पाटन कलेजका अध्यक्ष पंकज जलान स्नातक पढ्न विदेश जानुपर्ने बाध्यता नरहेका बताउँछन् । मलेसियाको सम्बन्धनमा सुचारु उक्त कलेजले अन्तर्राष्ट्रिय रूपमा चलेका विषयसमेत नेपालमै उपलब्ध गराएको छ ।

‘१८–२० वर्षका विद्यार्थीले ब्याचलर एजुकेसन पढ्न विदेशमा दुःख झेल्नुपर्दैन,’ स्वदेशमा अभिभावकसँगै बस्दा पैसासमेत जोगिने उल्लेख गर्दै जलान भन्छन्, ‘देशको हावापानीमा हुर्केका जनशक्ति स्वदेशमै अवसर खोज्न सजिलो हुन्छ ।’ पुस्तकालय, अनलाइन पुस्तकालय, अनलाइन कोर्सहरूसमेत रहेको उनले बताए ।
इम्पिरियल बिजनेस कलेजका सीईओ जीवन लामा गोले नेपालकै स्नातक तहका विषयहरू गुणस्तरीय रहेको बताउँछन् । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सुचारु उक्त कलेजले बीबीए, बीएचएसीएमजस्ता विषय पढाउँदै आएको छ । ‘संसारमै चलेका विषय हामीले सुचारु राखेका छौं,’ निजी कलेजहरूबीच स्वस्थ प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय मान्यताअनुकूलका चारवर्षे स्नातक कोर्स छन् । विद्यार्थीलाई एकाडमिक एक्सिलेन्सी, उच्चतम मार्क्स, प्राक्टिकल नलेज, काम गर्ने संस्थामा हुनुपर्ने संस्कार सिकाउँछौं ।’ पोखराकै सम्बन्धनमा सुचारु युनिग्लोब कलेजले हरे कोर्समा ५० प्रतिशत प्राक्टिकल गराउन गरेको नगरबहादुर विष्ट बताउँछन् । ‘तोकिएको विद्यार्थी कोटा र १५ जनालाई पूर्ण छात्रवृत्ति, अन्तर्राष्ट्रिय करिकुलम, टिचिङ पेडागोजी, अनलाइन सिस्टमले हामीलाई उत्कृष्ट बन्ने मौका दिएको छ,’ विष्टले भने ।


नेपाल मेगा कलेज त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सुचारु छ । ‘नेपालको शिक्षा उत्कृष्ट र कोर्स राम्रा छन्,’ कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे भन्छन्, ‘समयानुकूल सुधारको खाँचो हुन्छ नै । तर सरकारले युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण निर्माण गर्न जरुरी छ ।’ विश्वविद्यालय शिक्षाले दिने उज्यालो नेपालकै निम्ति हुनुपर्ने आम नागरिकको मान्यता छ । एक पटकको नेपाली सधैं नेपाली, हरेकले देश नेपाललाई माया गर्नु सबैको कर्तव्य हो । राष्ट्रले त्यसको सम्मान गर्छ, जसरी नेपाल, भारत, चीन, बेलायत, जर्मनी, अस्ट्रेलिया, बंगलादेशलगायतका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकालाई राष्ट्रपतिले पदक प्रदान गरेकी छन् । यो क्रम चलिरहन्छ ।
चलिरहनुपर्छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्