कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अघि बढ्ने बेला

सुदीप कैनी

एसईईपछि धेरै विद्यार्थी अभिभावकलाई कक्षा १० सम्म र त्यसपछिको कक्षा ११–१२ को अध्ययनबीचको फरक छुट्टाउन सकस पर्छ  ।

अघि बढ्ने बेला

उच्चशिक्षाको तयारीसँगै स्वरोजगार र रोजगारीमा जान चाहनेहरूका लागि कक्षा ११ र १२ को पढाइ निर्णायक खुड्किलो मानिन्छ । कक्षा ८ देखि १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाको रूपमा लिइएको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) पछि यसको दायरा अझ फराकिलो हुन्छ । उच्चशिक्षाको तयारीको मुख्य धरातल पनि कक्षा ११ र १२ को पढाइ नै हो । सरकारले माध्यमिक शिक्षा पूरा गरेपछि मुलुकलाई चाहिने प्रारम्भिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । साधारण र प्राविधिक धारतर्फको अध्ययनबाट त्यस्ता जनशक्ति तयार हुने अपेक्षा गरिन्छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा ११ र १२ अध्ययन/अध्यापन गराइने विद्यालय देशभर करिब ३ हजार ५ सय छन् । तीमध्ये करिब २ हजार ७ सय सामुदायिक विद्यालय र १ हजारभन्दा बढी निजी विद्यालय छन् । प्रत्येक वर्ष करिब ५ लाख विद्यार्थी उक्त तहमा अध्ययन गर्छन् । विश्वविद्यालयहरूमा प्रमाणपत्र तहको खारेजीसँगै उच्च माध्यमिक शिक्षा परिषद् मार्फत ‘प्लस टु’ को अवधारणा ल्याइएको थियो । शिक्षा ऐनले कक्षा ११–१२ लाई विद्यालय शिक्षामा रूपान्तरित गरेपछि संरचना बदल्ने काम भइरहेको छ । यी कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिन थालेको छ । पाठ्यक्रम पनि विद्यालय शिक्षासँग जोडेर तयार पार्न लागिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक लेखनाथ पौडेलले जानकारी दिए । आगामी वर्षदेखि नयाँ पाठ्यक्रममा जाने तयारी छ । यस पटक भने पुरानै संकाय प्रणाली (विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन) का विषयमा भर्ना भएर विद्यार्थीले अध्ययन गर्न सक्छन् । साधारण धारतर्फ संकाय प्रणाली र प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारतर्फ डिप्लो तहको पठनपाठन हुन्छ । प्राविधिक धारतर्फ डिप्लो तहको पढाइ गर्ने विद्यार्थीले पनि कक्षा १२ बराबरको समकक्षता पाउने व्यवस्था छ ।


सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित गरिसकेको छ । आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निःशुल्क हुने प्रावधान ऐनमा छ । तर शिक्षा क्षेत्रको अपर्याप्त बजेटका कारण प्रावधानअनुसार निःशुल्क व्यवहारमा कार्यान्वन हुन सकेको छैन । निजी शिक्षण संस्थाहरूले विद्यार्थीबाट शुल्क उठाउँछन् नै शिक्षक अभावका कारण सामुदायिक विद्यालयहरूले पनि चन्दा, शुल्क र सहयोगका नाममा पनि विद्यार्थी अभिभावकबाट शुल्क लिइन्छ । त्यसो त माध्यमिक शिक्षाको अवस्था उत्साहजनक छैनन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार कक्षा १ मा भर्ना भएका मध्ये ८४ प्रतिशत विद्यार्थीले कक्षा १२ पूरा गर्दैनन् । माथिल्लो तहहरूमा कक्षा छोड्ने, दोहोर्‍याउने र अनुत्तीर्ण हुने दर क्रमशः बढ्दो छ । कक्षा १० सम्मको टिकाउ दर ५७ प्रतिशत छ भने कक्षा १२ मा पुग्दा उक्त दर घटेर १७.२ पुग्छ । १२ कक्षाको उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम रहेको छ । विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीमध्ये करिब ८० प्रतिशत साधारण शिक्षामा जाने गर्छन् ।


तीन तहका (संघ, प्रदेश र स्थानीय) सरकारबीच पनि माध्यमिक शिक्षाको अधिकारसम्बन्धी विवाद छ । माध्यमिक शिक्षासम्मको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । ती विद्यालयहरूको व्यवस्थापन स्थानीय तह मातहत हुन थालेको छ । तर क्षेत्राधिकार बाँडफाँड टुंगो लाग्न सकेको छैन । संघीय सरकारले जारी गर्ने शिक्षा नीति र ऐनले यी विषयको टुङ्गो लगाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ । कक्षा १० सम्म सीमित विषय पढेर आएका विद्यार्थी संकाय प्रणाली र त्यसभित्र पनि थरीथरी ऐच्छिक विषयले अलमलमा पर्ने गरेका छन् । विद्यालय सञ्चालकहरूका अनुसार विज्ञान संकाय पढ्ने विद्यार्थीको रुचि विगतमा भन्दा घटबढ भएको छैन । राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयले एसईईको नतिजाको आधारमा कक्षा ११ मा भर्ना हुने मापदण्ड तोकेका छन् । गत वर्ष कक्षा ११ मा भर्ना भएकी सिमाना बस्नेतलाई भर्ना हुने आधार थाहा नहुँदा विषय र शिक्षण संस्था छनोट गर्न नै मुस्किल परेको थियो । जब उनले भर्ना मापदण्ड थाहा पाइन त्यसपछि सहज बनेको उनले सुनाइन् ।


सामान्यतया एसईईमा कम्तीमा १.६ जीपीए ल्याएका विद्यार्थी कक्षा ११ भर्ना हुन पाउँछन् । उनीहरूले मानविकी, शिक्षा र व्यवस्थापन संकाय पढ्न पाउँछन् । विज्ञान संकाय पढ्न २.० जीपीए ल्याएको हुनुपर्छ । तर विज्ञान पढ्नका लागि कक्षा १० को अनिवार्य विज्ञान र गणित विषयमा ‘सी प्लस’ ग्रेड ल्याएकै हुनुपर्छ । साथसाथै अंग्रेजी, सामाजिक र नेपालीमा ‘डी प्लस’ ल्याएको हुनुपर्छ । व्यावसायिक विषयतर्फ १.६ जीपीए ल्याए इलेक्ट्रिकल, कम्प्युटर र सिभिल इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । १.६ जीपीए ल्याउने विद्यार्थीले कतिपय विषयमा ‘डी प्लस’ ल्याए मात्र व्यवस्थापन, मानविकी र शिक्षा समूहमा तोकिएको विषय रोज्न पाउने प्रावधान छ । विज्ञानमा जस्तै व्यवस्थापन संकाय अध्ययन गर्न अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा ‘डी प्लस’ ल्याउनुपर्छ । मानविकी संकाय भर्ना हुन नेपाली, अंग्रेजी र सामाजिक विषयमा भने कम्तीमा ‘डी प्लस’ आएकै हुनुपर्छ । त्यस्तै शिक्षा संकाय अध्ययन गर्न पनि यी विषयमा कम्तीमा ‘डी प्लस’ ल्याएको हुनुपर्छ । कक्षा ११ मा विद्यार्थीहरू भर्ना हुने आधार गत वर्षकै अनुसार लागू हुने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : असार १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?