२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

सिमखेतमा कनकेउलो

मोहन शाही

डोटी — घोल्तडा गाउँका कुनै घरमा बिहीबार चुलो बलेन । पानीपँधेरो कोही गएनन् । खन्ने, जोत्ने र बारीमा खेतीपातीका काम कसैले गरेनन् । स्कुलसमेत खुलेनन् । घोल्तडा गाउँ सुनसान थियो । सिरानीको भाडीखेत र सिमखेतमा भने चहलपहल थियो ।

सिमखेतमा कनकेउलो

भाडीखेतमा लहरै १९ वटा चुला बले । चुलोअघि बसेका थिए छोरीचेली । गतानी मासको फाँडो, भात र डुब्का पाक्दै थिए । कसैले आलु मुलाको अचार बनाउँदै थिए । बालबालिका भने नाच्दै र खेल्दै थिए । अलिपर सिमखेतमा पनि त्यस्तै चुला थिए । परिकार पाक्दै थिए । झट्ट हेर्दा घोल्तडावासी वनभोज गएझंै लाग्थ्यो तर त्यहाँ छोरीचेलीको भीड थियो । उनीहरू परम्परागत चलनअनुसार ‘कनकेउलो’ खाइरहेका थिए ।


‘उत्तरायणी लागेका दिन (माघ ३ गते) छोरीचेलीले बाहिर खाना पकाएर खाने/खुवाउने चलनलाई स्थानीय बोलीमा कनकेउलो भनिन्छ,’ चुलामा व्यस्त निर्मला भण्डारीले भनिन्, ‘आज कसैले पनि घरमा खाना पकाउँदैनन्, खेत वा जंगल गएर महिलाले मीठो परिकार पकाउने र परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।’ उनका अनुसार चेली भेला भएर भोज खाने तथा आपसमा दु:खसुख साटासाट गर्ने पर्व बनेको छ उत्तरायणी ।


‘भोज खाँदा सामूहिक रूपमा बसे पनि प्रत्येकले बेग्लाबेग्लै चुलो बनाएर परिकार पकाउँछन्,’ कक्षा १० मा अध्यनरत गंगा भण्डारीले सुनाइन् । माघेसंक्रान्तिमा माइत आएका चेली भाँडाकुँडा लगेर भोज बनाउँछन् । उनीहरूसँगै मावली आइपुगेका बालबालिका नाचगान गर्छन् ।


डोटीको घोल्तडा, पिपल्ला, दिपायल, चिसापानी, लेकठाटा, बागठाटा, पूर्वीचौकीलगायत गाउँमा कनकेउलो खाने चलन रहेको दिपायल सिलगढी नगरपालिका ५ की गौरी आउजीले बताइन् । उत्तरायणीका दिन कामकाज गर्न नहुने, गाईबस्तु तथा करेसाबारी छुन नहुने (सिन्को पनि भाँच्न नहुने) मान्यता यहाँ छ ।


उत्तरायणीका दिन पढ्न समेत हुँदैन भनेर सबै स्थानीय विद्यालय बन्द हुन्छन् । ज्योतिष मनीराज जोशीले उत्तरायणी डोटीका चेलीबेटीको मौलिक पर्व भएको बताए ।

प्रकाशित : माघ ४, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?