पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

रासस

गलेश्वर — माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । 

सहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीको बहानामा युवाले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण ग्रामीण भेगमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् ।


'गाउँगाउँमा डोजर छिरेपछि र व्यावसायिक खेतीको शुरुआत भएपछि तरुल र कन्दमूल लगाउने चलन हराउँदै गयो,' बेनी नगरपालिका–२ का ७९ वर्षीय बेदप्रसाद शर्माले भने, 'पहिले पहिले माघेसङ्क्रान्ति आउनुभन्दा ८/१० दिन अघिदेखि नै गाउँमा तरुल र सखरखण्ड खन्ने गर्दथे, डोकाका डोका तरुल र सखरखण्ड निकालिन्थ्यो । अहिले सबै एकादेशका कथा जस्तै भए ।'


गाउँमा अहिले व्यावसायिक तरकारीखेती, फलफूल खेती र पशुपालन फष्टाउँदै गएको भए पनि परम्परागत कृषि, चाडपर्व मान्ने तथा संस्कृतिको अनुशरण गर्ने पद्धतिमा परिवर्तन देखिएको छ । पढेलेखेका र जागिर व्यवसायमा लागेका युवा आधुनिक संस्कृति, रहनसहन र खानपानमा अभ्यस्त हुँदै गएपछि पराम्परागत संस्कृति, रहनसहन र खानपानका तौरतरिका तथा परिकार लोप हुँदै गएको बूढापाकाको भनाइ छ ।


'युवायुवती तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान रुचाउँदैनन्, न त उनीहरुलाई तरुल सखरखण्ड खन्ने जाँगर नै छ, हामीले यी चिजको महत्वका बारेमा बुझाउन सकेका छैनौँ,' खबराका भद्रबहादुर कार्कीले भने, 'तरुलको ठाउँ अहिले ब्रोइलर कुखराको मासुले पो लियो, न खोज्नको झण्झट न खन्नको ।'


बिहानै बेनी बजारबाट कुखुराको मासु किन्दै गरेका स्थानीयवासी प्रेम शाहीले पसलमा ताजा र राम्रो तरुल नपाइएको र आयातीत तरुल पनि अत्यन्त महँगो भएकाले माघे सङ्क्रान्ति ब्रोइलर कुखुराको मासुले नै टार्न बाध्य हुनुपरेको बताए । 'आज त खिर्चो, साँधेको पिँडालु, उसिनेको सखरखण्ड, तरुलको तरकारी र भाँगोको अचार खाएर माघेसङ्क्रान्ति पर्व मनाउने इच्छा थियो,' उनले भने, 'अहिले यी चिज गाउँमा त पाइन छोडे, शहरको त के कुरा !'


विगतका वर्षको तुलनामा अहिले बजारमा तरुल थोरै मात्रामा आएको छ भने माग पनि कम रहेको तरकारी व्यवसायी बताउँछन् । 'गाउँबाट तरुल आएकै छैन, तराईबाट आएको तरुल हो,' बेनीबजारका तरकारी व्यवसायी प्रवाश रेग्मीले भने, 'चौध किलो तरुल राखेको हुँ, पाँच किलो पनि बिक्री भएको छैन ।' मासु पसलसँगै तरकारी बिक्री गर्दै आउनुभएका रेग्मीले तरुलको तुलनामा मासुको बिक्री ८० गुणा बढी रहेको बताए ।


तरुलमात्रै होइन माघेसङ्क्रान्तिमा खानै पर्ने परिकार खिर्चो (खिचडी) पनि खान छोडिएको छ । खिर्चो बनाउनका लागि अनिवार्य मानिने मास गाउँघरमा पाइन छोडेको छ । जिल्लामा मासको उत्पादन अत्यन्त कम हुने हुँदा बजारमा मास सहजरुपमा पाइँदैन । बाहिरबाट आएको मास किनेर खिर्चो खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित : माघ १, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

दृष्टिविहीन हजुरआमा स्याहार्दै नाबालक

भीमबहादुर सिंह

जाजरकोट — अधिकांश बालबालिका अभिभावकको संरक्षणमा हुन्छन् । उनीहरूलाई अभिभावकको संरक्षकत्वमा हुर्कने र वृद्धि विकास गर्न पाउने मौलिक अधिकार पनि छ ।

दृष्टिीविहीन हजुरआमालाई खाना खुवाउने तयारी गर्दै कमल र हरिश । तस्विर : भीमबहादुर/कान्तिपुर

तर, बारेकोट गाउँपालिका–९, सक्ला खारीगाउँका दुई नाबालकलाई वृद्ध हजुरआमाको अभिभावक बन्नुपर्ने बाध्यता छ । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।

बारेकोट–९, खारीगाउँका १२ वर्षीय कमल खड्का र ८ वर्षीय हरिश खड्का दाजुभाइ हुन् । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मंसिरमा बाबु रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।

बाबुआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ । घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् । त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीय हजुरआमाको स्याहारसुसार ।
उनीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचार लगायत हक अधिकारबाट बन्चित छन् ।

दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी बहन गर्दै आएका छन् । आमाबुवाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार तथा हेरचाह गर्ने कोही नहुँदा पढाइबाट बन्चित भएको कमलले बताए । ‘हजुरआमा विल्कुल आँखा देख्नुहुन्न । उहाँलाई बोकेर भित्र बाहिर गर्नुपर्छ,’ उनले भने, ‘हात धुने र खाना खुवाइदिने गर्नुपर्छ ।’ हजुरआमाको हेरचाह र गाईबस्तुको गोठाला गर्दैमा हैरान भएको उनले बताए ।

विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लाइन लागेर विद्यालय गएको देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ । ‘माध्यमिक स्तरको पढाइ पूरा गर्ने सोच थियो,’ उनले भने, ‘त्यो पनि पूरा नहुने भयो ।’ सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुवाआमाले पाल्दै आएका पाँच वटा गाईको गोठाला लाग्न जाने गरेको उनले बताए ।

भाइ र आफूलाई स्कुल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ । घरमा आँखा नदेख्ने वृद्ध हजुरआमा बाहेक अरू अभिभावक नहँुदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबावु गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय प्रेम गौतमले बताए । पढाइबाट बन्चित हुँदा विपन्न परिवारका कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

प्रकाशित : माघ १, २०७५ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×