मिथिलाक्षर कक्षा- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलाक्षर कक्षा

श्यामसुन्दर शशि

जनकपुर — मिथिलाक्षर लिपि । झन्डै २ हजार वर्षको इतिहास छ यो लिपिको । तीन दशकअघिसम्म पूजापाठ, चिठीपत्र तथा आमन्त्रण कार्ड आदिमा प्रयोग हुन्थ्यो । अचेल व्यक्तिगत प्रयोगमा सीमित छ । आफ्नै मौलिक लिपि भएका सीमित भाषामध्ये पर्ने मैथिली हिजोआज देवनागरीमा लेख्न थालिएको छ ।

मिथिलाक्षर लिपि साक्षरता अभियानको उद्घाटन गर्दै जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

मिथिलाक्षर लिपिको संरक्षण गर्न प्रदेश २ का आठ जिल्लामा नि:शुल्क कक्षा सञ्चालन अभियान सुरु भएको छ । पहिलो चरणमा जनकपुर उपमहानगरमा कक्षा सञ्चालन गरिएको छ । ‘मिथिलाक्षर साक्षरता अभियान’ को अगुवाइ गरेको छ, मिथिला नाट्यकला परिषद्ले ।


जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले शनिबार मिथिलाक्षर लिपिमा ‘जनकपुरधाम’ लेखेर कक्षा सुरुवात गरे । उनीसँगै पूर्वप्रमुख जिल्ला अधिकारी जीवछ मिश्र, शिक्षक सुनील मल्लिक, त्रिभुवन विश्वविद्यालय मैथिली केन्द्रीय विभागका पूर्वप्रमुख परमेश्वर कापडी, जनकपुर उपमहानगरपालिकाका कर अधिकृत तथा मिनाप अध्यक्ष परमेश्वर झासहित ३० जनाभन्दा बढी कक्षामा सहभागी भए । ‘देवनागरी र रोमन लिपि पढेका हामीजस्ता विद्यार्थीका लागि मिथिलाक्षर अलि गाह्रो छ, तर अभ्यास गर्दै जाँदा सजिलो होला,’ मेयर साहले भने, ‘यो हाम्रो धरोहर हो । यसको संरक्षण गर्नुपर्छ ।’


कक्षा सञ्चालनको जिम्मेवारी सहजकर्ता विजयदत्त मणिले लिएका छन् । लामो इतिहास भएको लिपि लोप हुन लागेकाले नि:शुल्क कक्षा सञ्चालन गर्न थालिएको उनले बताए । ‘आफ्नै मौलिक लिपि भएको दुनियाँका सीमित भाषामध्ये मैथिली एक हो,’ उनले भने, ‘लोप हुन लागेको लिपिलाई संरक्षण गर्न यो अभियान सुरु गरेको हुँ ।’


मिथिलाक्षर वर्णमालामा १० स्वर तथा ३३ व्यञ्जन छन् । तीमध्ये दीर्घ स्वर अर्थात् ई र ऊ को प्रयोग प्राय: हुँदैन । स्वरसँग संयुक्त अक्षरका रूपमा प्रयोग हुने अनुस्वार (अं) र विसर्ग (अ:) पनि व्यञ्जन मानिन्छन् । यसका साथै श, ष, ऋलगायत केही शब्दको उच्चारण हुँदैन ।


भाषा वैज्ञानिक प्रा.डा.योगेन्द्रप्रसाद यादवका अनुसार मैथिली लेखनमा मिथिलाक्षरको सट्टा देवनागरी लिपि प्रयोग गर्दा उच्चारणजन्य समस्या आएको छ । लेख्ने बेला धनुषा लेख्ने तर पढदा धनुखा पढ्ने, ऋषि लेख्ने अनि रिसि पढ्नेलगायत उच्चारणगत दोष देवनागरी लिपि प्रयोगका कारणले भएको उनले बताए ।


नेपाल र भारतमा गरी मैथिलीभाषीको संख्या झन्डै ५ करोड छ । दुवै देशमा समान रूपले बोलिने भएकाले यसलाई अन्तरसीमावर्ती भाषाको संज्ञा दिन्छन् डा. यादव । मैथिलीलाई तिरहुता, देहाती, ठेंठी, अवहट्ठ वा अपभ्रंश आदि पर्यायवाची शब्दबाट समेत सम्बोधन गरिन्छ ।


ब्राह्मी लिपिबाट बांगला लिपि हुँदै इसापूर्व तेस्रो शताब्दीमा मिथिलाक्षर लिपिको विकास भएको भाषाविद्हरूको दाबी छ । इसापूर्व तेस्रो शताब्दीका अभिलेखमा प्रयोग भएको लिपि मिथिलाक्षर रहेको प्रमाणित भएको छ । आठौं शताब्दीमा लिखित सिद्धवचन तथा दोहा, तेह्रौं शताब्दीमा ज्योतिरीश्वर लिखित वर्णरत्नाकर तथा पुरुष परीक्षा, विद्यापति लिखित दान वाक्यावलीलगायत ग्रन्थ मिथिलाक्षर लिपिमा लेखिएका थिए । नेपाल र भारतका पुस्तकालयहरूमा मिथिलाक्षर लिपिमा लेखिएका सयौं पाण्डुलिपि विद्यमान छन् ।


२१ औं शताब्दीको मध्यसम्म लेखिने अधिकांश साहित्य मिथिलाक्षर लिपिमै हुन्थे । अचेल मिथिलाक्षर पञ्जी (मैथिल ब्राह्मण र कायस्थहरूको वंशावली) मा सीमित बनेको छ । पछिल्लो पटक केही साहित्यकारहरू मिथिलाक्षरमा पुस्तक लेखे पनि पाठकको सुविधाका लागि यसको देवनागरी अनुवादसमेत प्रकाशित गर्नुपरेको छ ।


मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झाले मुलुकमा भएका सम्पूर्ण भाषा र लिपिको संरक्षण जिम्मा केन्द्र, प्रदेश र स्थानीय सरकारले लिनुपर्ने बताए । उनले जनकपुर उपमहानगरपालिकाको आधिकारिक साइनबोर्ड तथा जनचेतनामूलक बोर्डमा मिथिलाक्षर लिपिसमेत प्रयोग गर्न सुझाव दिएका छन् ।


नेपालको संविधान २०७२ ले देवनागरी लिपिलाई संवैधानिक मान्यता दिएर अन्य लिपिलाई विभेद गरेको आरोप मैथिली शिक्षण विभागका पूर्वप्रमुख परमेश्वर कापडीले लगाए । संघीय सरकारले देवनागरीसँगै अन्य लिपिको समेत संरक्षण गर्नुपर्ने बताए ।


प्रकाशित : पुस २९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

५११ हिमताल थपिए

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

लोत्से हिमाल नजिकैको सुप्रा हिमताल । तस्बिर सौजन्य : सुदीप ठकुरी 

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।

नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ । २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् ।

थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन् । ४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन् । अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ । नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए । सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ । यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए ।

हिमतालहरुलाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो । जसमा ‘सुप्रा ग्लेसियल,प्रो ग्लेसियल र अनकनेक्टेड’तालहरु छन् । हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा एक सय ८१ प्रतिशतको दरले बढेको पाइएको छ । यी तालहरुको क्षेत्रफल ८१ प्रतिशतको दरले बढेको अनुसन्धानले देखाएको छ ।

सगरमाथा नजिकै बनेको ईम्जा ताल । तस्बिर सौजन्यः सुदीप ठकुरी

हिमनदीका बरफ पग्लिएपछि पानी बनिने र त्यही पानी हिमनदीको हिउँलाई झन् पगाल्न मद्दत गर्छ । जसका कारण ‘प्रो ग्लासियल ताल’को संख्या बढेको ठकूरीले बताए । ‘प्रो ग्लेसियल’ तालले तापक्रम वृद्धिको अवस्था जनाउँछ । ठकुरीका अनुसार हालै गरिएको एक अनुसन्धानमा सन् १९७६ देखि २०१५ मा वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य चार प्रतिशतको दरले बढेको पाइएको छ ।

२०१५ मा भएको एक अध्ययनबाट वर्षाको परिणाम ९ मिलिमिटर प्रति वर्षको दरले घटेको देखिन्छ । ‘अनकनेक्टेड ताल’हरुले वर्षाको अवस्थाबारे जानकारी दिन्छन् । यी तालहरु २० वर्षको अवधिमा घट्दो रहेको अनुसन्धानकर्ता ठकूरीले बताए । उच्च हिमाली क्षेत्रमा रहेका तालहरुलाई वर्षा परिवर्तनको सूचको रपमा समेत चिनिन्छ ।

हिमाली क्षेत्रमा हिमतालहरुको संख्या बढेपछि यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरु हिमताल विष्फोटनको उच्च जोखिममा परेको ठकूरीले बताए । उनका अनुसार हिमताल विष्फोटनको खतरा बढेर गएको छ ।

उक्त अनुसन्धानले नेपाललाई हिमताल विष्फोटनको सम्भावित खतराहरुबाट जोगिन तत्काल उपायहरु खोज्न समेत सुझाएको छ । कर्णाली र गण्डकी खोलाको तुलानामा कोसी नदीको उपल्लो क्षेत्रहरुमा हिमतालहरुको क्षेत्रफल बढ्दो अवस्थाममा रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।

नेपालमा अबका दिनहरुमा हिमतालहरुको संख्या बढ्दै जाने निष्कर्ष निकाल्दै प्रत्येक दशकमा हिमतालहरुको अनुसन्धान तथा यस्ता क्षेत्रहरुमा नियमित अध्ययन आवश्यक रहेको औँल्याइएको छ । यो अनुसन्धानले नेपालको हिमतालहरुको संख्या समेत निर्धारण गरेको छ । भू–उपग्रहबाट लिएको तस्बिरबाट अनुसन्धान गरिएको थियो ।

प्रकाशित : पुस २९, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×