अनमोल केसी भन्छन्– ‘जीवनको बेस्ट फिल्म गर्नै बाँकी छ’

फिल्म क्षेत्रमा अहिले फिल्मको गुणस्तरलाई व्यावसायिक दृष्टिकोणबाट मात्र मापन गर्ने प्रचलन बढेको छ, अनमोल व्यावसायिक पक्षबाट फिल्मको गुणस्तरलाई हेर्न नहुने तर्क गर्छन्

वैशाख २७, २०८१

रीना मोक्तान

Anmol KC says - 'Life's best film is yet to be made'

काठमाडौँ — छड्के २.०’ सुपरफ्लप भएपछि अधिकांशले भने– ‘अब अनमोलका दिन गए, अनमोल सक्किए ।’ कोही त अनमोलको स्टारडम खस्किएको नतिजासम्मै पुगे । फिल्मले बक्स अफिसमा पानी भन्न नपाउँदा अनमोलको पुस्ता सकिएको भन्ने चर्चा चल्यो । साथै, ‘छड्के २.०’ नरुचाइनु, अनमोललाई दर्शकले गरेको अस्वीकारका रूपमा परिभाषित नै गरियो । तर, फिल्म करिअरकै यति ठूलो असफलताबाट भने अनमोलले आरोह–अवरोहको वास्तविक पाठ सिकेका छन् ।

जसरी फिल्ममा पात्रले आरोह–अवरोहलाई झेल्दै अगाडि बढ्छ, त्यसरी नै १० वर्षको फिल्म करिअरमा अनमोलले पनि यस्तै आरोह–अवरोहलाई सामना गर्नुपर्‍यो । ‘छड्के २.०’ त्यसैमध्येको एक हो । तर, यो असफलताले अनमोललाई गज्जबकै पाठ सिकाएको छ । ‘छड्के २.०’ पछि असफलतामा निरुत्साहित नभई त्यसबाट सिक्दै अगाडि बढ्नुपर्ने कुरालाई अनमोलले नजिकैबाट अनुभव गरे । ‘कहिलेकाहीं जति राम्रो फिल्म बनाउँदा पनि अप्स एन्ड डाउन सबैको जिन्दगीमा आउँछ । छड्के २ राम्रो थियो वा थिएन ? अथवा प्रदर्शनको पर्खाइमा रहेको ‘फर्कीफर्की’ चल्ला वा फ्लप होला ? अप्स एन्ड डाउन सबैको जिन्दगीमा हुन्छ,’ अनमोल सुनाउँछन्, ‘हिट फिल्मले भन्दा असफल फिल्मले सिकाउँदो रहेछ । शून्यमा आइसकेपछि फेरि सुरुवातमा झैं संघर्ष गर्नुपर्छ भन्ने हौसला मिल्दो रहेछ ।’

अनमोलका अनुसार ‘छड्के २.०’ ले मात्रै होइन ‘रावायण’ पनि साढे सातको दशा सावित भयो । गत वर्ष ‘छड्के २.०’ मात्रै चुर्लुम्मै डुबेन, अनमोल आफैं ठगीको आरोपमा डुबे । रिलमा मात्रै होइन रियलमा पनि अनमोलको हातमा हत्कडी लगाइयो, मुद्दा चलाइयो– आपराधिक विश्वासघात गरेर ठगी । ‘रावायण’ बाट एड्भान्स १० लाख लिएर फिल्म गर्न आनाकानी गरेको भन्दै निर्माण टिमको डेढ करोड नोक्सान भएको दाबीसहित प्रहरीमा उनीविरुद्ध उजुरी पर्‍यो । उनी भक्तपुरको साँगाबाट समातिए, दुई दिन जेल बसे । ‘केही निश्चित विषयमा निर्माण टिमको चित्त बुझाइ थिएन, केही कुरामा मेरो चित्त बुझेको थिएन । यो विषयलाई फिल्म क्षेत्रभित्रै मिलाउन सकिन्थ्यो, तर मैले ठूलै अपराध गरे जसरी प्रहरीले समातेर लैजाउनु अलि बढी नै भएको हो जस्तो लाग्छ,’ अनमोलले भने, ‘मैले ठूलै अपराध गरेको थिइन । तर, त्यसमा चाहिनेभन्दा बढी एक्सन भयो ।’

यी दुई फिल्मको बहानामा अनमोलमाथि थुप्रै गाली बर्सियो । तर, ‘छड्के २.०’ ले आत्मालोचनाको सिकाइ थपिदियो । फिल्म टिमवर्कमा बन्छ, त्यसैले फिल्म नचल्नुमा टिम पनि कारक हुन्छ । तर, स्टार कहलिएका कलाकारलाई फिल्म नचल्नुको दोष थाप्लोमा पारिदिइन्छ । तर, यस पटक अनमोलले ‘छड्के २.०’ नचल्नुको भार आफैंले उठाए । त्यसमा उनको परिपक्वता पनि झल्किन्छ । अनमोलले चाहेका भए, निर्माण टिमलाई नै फिल्म नचल्नुको दोष दिन सक्थे । तर, उनले फिल्म नचल्नुमा आफूलाई कारक देखाउँदै आत्मालोचना गरे । ‘‘छड्के २.०’ मेरो नवौं फिल्म थियो, नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्व हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगें,’ उनले आत्मालोचना गर्दै सामाजिक सञ्जालमा लेखेका कथिए ।

‘यदि म हिट फिल्ममा रमाउन सक्छु भने फ्लप फिल्मको जिम्मा पनि आफैंले लिनुपर्छ भनेर त्यो स्टाटस लेखेको हुँ । मैले गर्दा नै त्यो फिल्म नचलेको हो,’ अनमोल भन्छन्, ‘हो मलाई घृणा गर्नेहरूका लागि त ‘छड्के २.०’ बोल्ने बाटो बनिदियो । १० वर्षको रिस त्यही फिल्ममा सबैले खन्याइदियो ।’ 

फिल्म क्षेत्रमा अहिले फिल्मको गुणस्तरलाई व्यावसायिक दृष्टिकोणबाट मात्र मापन गर्ने प्रचलन बढेको छ । अनमोल व्यावसायिक पक्षबाट फिल्मको गुणस्तरलाई हेर्न नहुने तर्क गर्छन् । ‘पैसा कमाएन भने फिल्म राम्रो छैन भन्ने चर्चा चल्छ । र, पैसा कमायो भने फिल्म राम्रो भनिदिन्छन्,’ उनले भने, ‘त्यसैले समीक्षकले समीक्षा गर्दा कुन दृष्टिकोणबाट हेर्छ भन्ने हुन्छ । रेड सुट्केस भन्ने फिल्मले खासै व्यापार गरेन । तर, त्यो फिल्म नराम्रो थियो भन्ने होइन नि । मलाई त लाग्छ, मेरो जीवनको बेस्ट फिल्म मैले गर्नै बाँकी छ ।’

Anmol KC says - 'Life's best film is yet to be made'

‘छड्के २.०’ ले नसोचेको असफलता दियो भन्दैमा, नयाँ फिल्म ‘फर्कीफर्की’ चल्नैपर्छ भन्ने दबाबमा देखिन्नन् अनमोल । उनलाई थाहा छ, जसरी भुवन केसीपछि अनमोल केसी आए, त्यसरी नै उनी पछि अरू पुस्ता आउनेछन् । ‘म क्षणिक नाम र चर्चामा भिज्दिन । आफ्नो काम र त्यो कामको दौरानमा मैले रमाउन पाएँ भने त्यसमै खुसी हुन्छु । खासमा मेरो दैनिक जिन्दगीमा म खुसी हुनुप‍र्‍यो, काममा खुसी हुनुपर्‍यो, जीवन भनेकै कर्म गर्दै जाने न हो,’ अनमोल आध्यात्मिक सुनिए, ‘फर्कीफर्की नचले अर्को फिल्म गर्छु । कुनै फिल्मबाट अपेक्षा राख्नु हुँदैन, त्यो पूरा नहुँदा आफैंलाई हानि गर्ने हो । जीवनमा भनेको जस्तो हुँदैन ?’

अनमोलले स्विकारे झैं, पर्दामा हिरोको आयु निश्चित हुन्छ । तर, चरित्र अभिनयले अभिनेतालाई अभिनयको लामो यात्रा गराउँछ । हिजो चकलेटी हिरोका रूपमा प्रख्यात कलाकार अहिले चरित्र अभिनयमा देखिन थालेका छन् । पछिल्ला फिल्महरू हेर्ने हो भने अनमोलले पनि आफूलाई फरक चरित्रमा पस्किने प्रयास नगरेका होइनन् । ‘लभरब्वोइ चरित्रमा रुचाइएका अनमोलले ‘कृ’ यता एक्सन विधामा आफूलाई उभ्याउन खोजे । ‘कृ’ पछि ‘क्याप्टेन’ हुँदै ‘छड्के’मा ग्याङ्स्टार बने ।

‘मेरो फिल्मको करिअरमा पक्कै मलाई पनि फरक विधाका फिल्म र फरक चरित्रमा अभिनय गर्न मन छ । तर, हामी त नेपाली बजारमा जस्तो फिल्म चलिरहेको छ त्यहीअनुसार पनि चल्नुपर्ने बाध्यता छ । मैले सोचेजस्तो फिल्म गर्न लगानीकर्तार्हरू तयार छ वा छैनन् भन्ने हो,’ अनमोल भन्छन्, ‘बोक्सीको घर’ जस्तो फिल्म चल्दा हामीलाई पनि फरक विधामा काम गर्न प्रोत्साहन मिल्छ ।’

फरक विधामा काम गर्ने चाहना व्यक्त गरिरहँदा अनमोलले आफ्नो दर्शकको स्वाद भुलेका छैनन् । त्यसैले उनले भन्ने गर्छन्, ‘एउटै किसिमको फिल्म गर्दा कलाकारका हिसाबले म पनि मोनोटोनस हुन्छु । तर, दर्शकले मलाई के भएको हेर्न रुचाउँछ भन्ने मलाई थाहा छ । त्यसैले म उहाँहरूको रोजाईतर्फ नै बढी ढल्कन्छु । प्रयोगात्मक चरित्रमा काम गर्ने रहर त हुन्छ । तर, दर्शकले मलाई त्यस्तो चरित्र गरेको हेर्न रुचाउनु हुन्छ वा हुन्न भन्ने कुराले धेरै अर्थ राख्छ ।’

फिल्म विज्ञहरू भन्छन्, ‘अनमोललाई प्रयोग गर्न सक्ने भिजनसहितको निर्देशक अझै जन्मिएनन् । त्यसैले अनमोल कमजोर स्क्रिप्टको चंगुलमा फस्दै आए । उनका फ्लप फिल्महरू त्यसैका उदाहरण हुन् ।’ अनमोल यो भनाइमा सहमत छन् । ‘कलाकार भनेको निर्देशकको माध्यम मात्रै न हो । जवान वा पठानमा देखिएका शाहरूक खान, विमल पानको विज्ञापनमा कस्ता देखिएका छन् ? निर्देशकले कलाकारलाई कसरी प्रयोग गर्न सक्छ भन्ने त्यो उदाहरण नै हो,’ अनमोलले भने, ‘कलाकारको लुक्स अस्थायी हुन्छ । म आर्ट स्कुलबाट अभिनयमा आएका होइन । फिल्म गर्दै सिक्दै यहाँसम्म आइपुगें । कलाकारका रूपमा आफूलाई सावित गर्नलाई मसँग अझै समय छ ।’

अनमोललाई पछिल्लो समय आफ्नो ट्युनिङ निर्देशक सुयोग गुरुङसँग म्याच हुन्छ जस्तो लागेको छ । उनले त्यस किसिमको निर्देशकीय गुण आफ्नो डेब्यु फिल्मको निर्देशक हेमराज बीसीमा देखेका थिए । ‘मैले पुरानो पुस्ताका निर्देशकको फिल्ममा धेरै काम गरें । तर, सुयोग गुरुङजस्ता निर्देशकसँग काम गर्दा त्यो विचारको स्तर पनि मिल्दो रहेछ । होस्टेल र जेरीले जुन युवा भाव पस्कन्थ्यो । त्यो भाव धेरैपछि ‘फर्कीफर्की’ मा फर्किएको छ,’ उनले भने, ‘फिल्म राम्रो बन्न निर्देशक र कलाकारबीच बलियो सम्बन्ध स्थापना हुनुपर्छ । त्यो कुरा मैले सुयोग गुरुङसँग पाएँ ।’

सुयोग गुरुङद्वारा निर्देशित ‘फर्कीफर्की’ मार्फत फेरि दर्शकबीच पुग्दै छन्, अनमोल । करिब ३ वर्षअघि सुयोगले नै कथाको आइडिया अनमोललाई सुनाएका थिए । लकडाउनपछि त्यही स्क्रिप्टमा फिल्म बन्यो । ‘टाइमलुप’को कथालाई नेपाली दर्शकले मन पराउलान् या मन नपराउलान् ? कथाले दर्शकलाई कतिको बाँध्ला ? चुनौतीबीच व्यावसायिक तत्त्वसँगै फिल्ममा लभस्टोरी मिसाएको अनमोलको दाबी छ ।

फिल्म क्षेत्रमा एक दशक बिताइसक्दा अनमोल जुन विधामा फिल्म बनाए पनि त्यो मनोरञ्जनात्मक हुनुपर्छ भन्ने निचोडमा पुगेका छन् । कथामा दर्शकले आफूलाई पनि अन्तरसम्बन्धित राख्न सक्नुपर्छ । ‘फर्कीफर्की’ को म्याडी चरित्रमा दर्शकले अनमोलको चरित्रसँग आफूलाई रिलेट गर्लान् ? जेठ १० मै थाहा होला । यो चरित्रलाई निर्देशकको हाउभाउ र लबजबाट निर्माण गरिएको उनी दाबी गर्छन् । म्याडी चरित्रलाई निर्देशकले आफूअनुरूपकै लेखेका थिए । त्यसैले उक्त चरित्र निर्माण गर्न सहज भएको उनी सुनाउँछन् । ‘निर्देशक सुयोगकै हाउभाउलाई नै मैले अभ्यास गरेको हुँ । उहाँ जिस्किनु हुँदा कानेखुसी आवाजमा बोल्नुहुन्छ । त्यसलाई पक्रें,’ अनमोलले म्याडी चरित्र निर्माणबारे सुनाए ।

चरित्र निर्माणकै सवालमा अनमोलका समकालीनहरू पनि अलि बढी खटिन थालेका छन् । फिल्मको रोजाइमा समेत बदलाव देखिन थालेको छ । ‘अनमोलले अभिनय जान्दैनन्’ भन्ने अभिनयका खरो आलोचकहरू आरोप लगाउँछन् । ‘अभिनय नगरी ‘पोस्टर ब्वोइ’ भएर १० वर्ष को टिक्छ र ? १० वर्षसम्म दर्शकले मन पराइरहनुभएको छ । हो, अभिनयमा अझै सुधार गर्नुपर्ने ठाउँहरू होला । अभिनय नगरी फिल्म कसरी चल्छ त ?’ प्रतिप्रश्न गर्दै अनमोल भन्छन्, ‘अभिनय कुन स्तरको गर्छु, कुन स्तरको अभिनयले उहाँहरूको चित्त बुझ्छ ? त्यो अर्कै पाटो हो । अभिनयमा कसरी सुधार्दै जाने भन्नेमा म सधैं लागिरहेकै हुन्छु,’ उनले भने, ‘चरित्र निर्माणका सवालमा, खेत जोतेरै मात्र चरित्र निर्माण बलियो हुन्छ भन्ने मलाई लाग्दैन । गुड लुकिङ हुनु पनि त आफैंमा एउटा चरित्रको पाटो हो नि । फुस्रो देखिँदैमा चरित्र निर्माण हुन्छ र ? पछिल्लो समय गाउँले चरित्र निभाउन अनुहारलाई धुलाम्मे बनाउनु पर्दैन होला । धनी समाजको चरित्र पनि त चरित्र नै हो ।’

‘अनमोलले स्क्रिप्ट पनि रोज्न जान्दैनन् ?’ यो प्रश्नमा भने उनले उल्टै प्रश्न गरे– ‘अब मैले कस्तो स्क्रिप्ट रोज्नुपर्ने हो ?’ उनी आफूले राम्रै स्क्रिप्ट छानेर काम गरेको दाबी गर्छन् । ‘मेरो विचारमा राम्रै छानेको जस्तो लाग्छ । व्यावसायिक रूपले छड्केबाहेक सबै फिल्म व्यावसायिक रूपले चलेकै छन् ।’

उनको भनाइमा फिल्मलाई सुपरहिट बनाउने कुनै फर्मुला हुँदैन । उनको भनाइमा स्क्रिप्ट मात्रै नभएर सम्पूर्ण फिल्म निर्माण प्रक्रियामा नै चाहिने जति मिहिनेत नपुगेको भने अवश्य नै हो । अनमोलका दिन गए भन्नेहरूका लागि पनि अनमोलसँग जवाफ छ । उनी भन्छन्, ‘मेरो समय सकियो, स्टारडम खस्कियो भन्नेहरूलाई मात्रै मेरो समय सकियो भन्ने लाग्ला । तर, मेरो समय त बल्ल सुरु हुँदै छ ।’

म्यागेजिन

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully