३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘सीईओ कन्फरेन्स’ हुँदै

काठमाडौँ — नेपाल व्यवस्थापन संघले आगामी साता ‘सीईओ कन्फरेन्स’ गर्ने भएको छ । संघले आगामी जेठ १८ मा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जनाएकाे हाे ।

‘सीईओ कन्फरेन्स’ हुँदै

कोभिड–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा सीइओ सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधन गर्नेछ । साथै नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च दिने छ ।

अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्ने संघले जनाएको छ । ‘कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक हुन्छ,’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउन महत्त्वपूर्ण हुन्छ ।’

परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित ‘सीईओ कन्फरेन्स’ आयोजना गर्न लागिएको संघका अध्यक्ष मोहनराज ओझाले बताए । सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्य : परिवर्तित परिदृश्य आत्मसात’ रहेको उनको भनाइ छ । ‘सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु नै सम्मेलनको उद्देश्य हो,’ उनले भने ।

संघका अनुसार सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुनेछ । ‘पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म,’ ओझाले भने, ‘तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी छन् ।’

कार्यक्रमका मुख्य वक्ताहरू स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बागला, एम२पी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्के हुन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?