कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

काठमाडौँ — इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

इरानी समाचार संस्था तसनिम न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा इरानी रेडक्रस सोसाइटीका अध्यक्ष परि हुसेन कोलिवान्दले भनेका छन्, 'हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा परेको छैन ।'

इरानको अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले भने इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानलगायत दुर्घटनामा सहिद भएको जनाएको छ । यद्यपि यो सरकारी स्तरमा भने पुष्टि भएको छैन । मेहर न्युज एजेन्सीले हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमाती, अयोतल्लाह मोहम्मद अली हासेमलगायतका उच्च अधिकारी रहेको जनाएको छ ।

तस्बिर : मेहर न्युज एजेन्सी

इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर । फाइल तस्बिर : रोयटर्स

न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर उनी हसन रुहानीसँग पराजित भएका थिए ।

रइसी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरीयताको हो 

इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिने गर्छन् । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ । रइसीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन् । सन् २०१७ मा राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायपालिका प्रमुख नियुक्त भएका थिए ।

रइसी सन् १९८० को दशकमा राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको उल्लेखनीय भूमिका रहेको भन्दै मानवाधिकारकर्मीहरूले आलोचना गर्ने गरेका छन् । यद्यपि, इरानले हालसम्म कहिल्यै पनि सामूहिक मृत्युदण्ड नदिइएको बताउँदै आएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ७, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x