२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

लन्डन दूतावासले नेपाली पेशाकर्मीहरूसँग गर्‍यो दुईदिने अन्तरक्रिया

नवीन पोखरेल

लन्डन — बेलायतमा क्रियाशील नेपाली विशेषज्ञ तथा पेशाकर्मीहरूसँग रहेको सीप, ज्ञान र श्रोत नेपालको विकासमा उपयोग गर्न सघाउने उद्धेश्यले बेलायतस्थित नेपाली दूतावासले दुई दिने अन्तरक्रिया गरेको छ। 

लन्डन दूतावासले नेपाली पेशाकर्मीहरूसँग गर्‍यो दुईदिने अन्तरक्रिया

शनिबार आयोजित उद्घाटन समारोहलाई एउटा भिडियो सन्देश पठाउँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्द्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबीच सेतुको रूपमा पनि काम गर्दै आएको बताए । उनले नेपालमा वित्तीय पूँजीको अभाव मात्र नभई ज्ञान, सीप तथा अनुभवजस्ता मानवीय पूँजीको पनि खाँचो रहेको अवस्थामा यसको परिपूरण गर्न विदेशमा रहेका नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध सहयोग र सहकार्यमा विस्तार भएको बताए । राजदूत आचार्यले प्रवासी नेपाली राष्ट्रको सम्पति हुन् भन्दै देश विकासमा उनीहरुको योगदान महत्त्वपूर्ण रहेको बताए ।

स्वास्थ्यसम्बन्धी सत्रमा नेपालबाट सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले भूकम्प तथा कोभिडका बेला बेलायतलगायत संसारभरिका नेपाली र स्वास्थ्यकर्मीहरूले पुर्‍याएको सेवाको प्रशंसा गरे । उनले बेलायत जस्तो विकसित मुलुकमा रहेर काम गरिरहेका नेपाली चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राध्यापकहरूलाई आफूसँग भएको ज्ञान र सीप नेपाली स्वास्थ्यकर्मीहरूसँग बाँड्न आह्वान पनि गरे ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले मन्त्रालयले क्यान्सरजस्ता नसर्ने रोगबारे जनचेतना जगाउन र तिनको उपचार सर्वसुलभ गर्न ध्यान केन्द्रित गरिरहेको बताए। नेपाल नर्सिङ परिषद्की अध्यक्ष प्राध्यापक सरला केसीले परिषदमा झन्डै ८० हजार नर्स तथा ३७ हजार अनमी आबद्धमध्ये झन्डै १५०० स्पेसलिस्ट नर्स रहेको बताइन् । उनले झन्डै ३२ हजार नर्सले विदेश जान 'भेरिफिकेसन लेटर' लिएको पनि जानकारी दिइन्।

वाटर एड यूकेमा कार्यरत पानी तथा सरसफाइ (वास) विशेषज्ञ डा. ओमप्रसाद गौतमले सन् २०३० सम्म सबै नेपालीलाई सफा पिउने पानी र सफाइमा पहुँच स्थापना गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्न नेपाल सरकारले थप लगानी गर्नुपर्ने र अन्तरराष्ट्रिय समुदायले पनि मदत गर्नुपर्ने बताए ।

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसियसन यूकेका अध्यक्ष डा. सन्जीव नेपाली, पूर्व अध्यक्षद्वय डा. कमल अर्याल, डा. रमेश कोजु तथा नेप्लिज नर्सेस एसोसियसन यूकेकी अध्यक्ष सुनिता गौतम थापाले आफ्नो संस्थाले गरेका कामबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन विशेषज्ञ डा. बच्चु कैलाश कैनी, अक्सफोर्ड भ्याक्सिन ग्रुपका सोनु श्रेष्ठ, प्रमिला रिजाल साथै जैविक प्रविधिसम्बन्धी अनुसन्धानकर्ता प्रज्वलराज भण्डारीले पनि प्रस्तुति दिएका थिए।

शिक्षा तथा मानव विकाससम्बन्धी सत्रलाई नेपालबाट सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले शिक्षा सम्बन्धी नयाँ विधेयक संसदमा विचाराधिन रहेको र उच्च शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्ने काम पनि जारी रहेको बताए । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायतस्थित नेपाली प्राज्ञ तथा अनुसन्धानकर्ताहरुले नेपाली विश्वविद्यालय र शैक्षिक संस्थाहरुसंग मिलेर सहकार्य गर्नुपर्ने बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. कृष्णप्रसाद बस्याल, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युत वाग्ले तथा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारीले बेलायतमा कार्यरत नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।

कार्यक्रममा बेलायतमा कार्यरत सोलिसिटर दीपक भट्टराई, वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाललगायतले पनि प्रस्तुति गरेका थिए। कार्यक्रमको दोश्रो दिन आइतबार इन्जिनियर प्रेम लम्सालले नेपालमा सडक दुर्घटनामा हजारौं मानिसहरूको ज्यान गइ रहेको तर सरकार, नागरिक समाज तथा मिडियाको पर्याप्त ध्यान नगएको बताए। त्यस्तै वरिष्ठ इन्जिनियर डा बिनोद अमात्यले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थित गर्न र जाम हटाउन भूमिगत रेल प्रणाली (मेट्रो) मा जानु पर्ने बताए।

सडक विभागका महानिर्देशक बिनोद भट्टराईले सडक सुरक्षा र मर्मत सम्भार गर्ने कुरामा विभागले ध्यान दिइरहेको बताए। त्यस्तै सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके अध्यक्ष रुद्र कोइरालाले आफूहरूले नेपालका इन्जिनियरिङ संस्थाहरुसंग सहकार्य गरिरहेको बताए।

साइबर सुरक्षा विज्ञ निरन्जन कुँवरले नेपालमा सरकार तथा निजी क्षेत्रले साइबर सुरक्षामा बढी ध्यान दिनुपर्ने बताए। त्यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले सूचना प्रविधिको विकासका लागि सरकारले काम गरिरहेको बताए। युवा उद्यमी प्रदीप सिंहले आफूले सुरु गरेको एआईसम्बन्धी स्टार्ट अपबारे बताए।

कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा डा. पदम बहादुर शाही, नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष डा हरि बहादुर दर्लामी लगायतले बोलेका थिए।अर्को सत्रमा अर्थशास्त्री प्रा. कुल लुइँटेल, डा. केशव भट्टराई, वित्तीय विश्लेषकहरु रवि कार्की, सुजन अधिकारीलगायतले प्रस्तुति दिएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्रिय योजना आयोगका सचिव डा तोया ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का महानिर्देशक गोकर्ण अवस्थी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायतका वक्ताले नेपालमा लगानी गर्न उपयुक्त समय भएको बताए।

प्रकाशित : फाल्गुन १४, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?