२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

‘वैभवयुक्त वीरगन्जको परिकल्पना साकार पार्न हातेमालो’

औद्योगिक एवं आर्थिक नगरी वीरगन्जका थप सम्भावना पहिल्याएर पर्यटकलाई कम्तीमा दुई रात बस्ने वातावरण बनाउनुपर्नेमा जोड 

काठमाडौँ — वैभवयुक्त वीरगन्जको परिकल्पना साकार पार्न सबै क्षेत्रको हातेमालो आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ विषयक कार्यक्रमको दोस्रो सत्र ‘वीरगन्जको विरासत’ का वक्ताले यस्तो धारणा राखेका हुन् । 

‘वैभवयुक्त वीरगन्जको परिकल्पना साकार पार्न हातेमालो’

पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर प्रस्तोता रहेको उक्त सत्रमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभवयुक्त वीरगन्जको परिकल्पना साकार हुने तर त्यो आफ्नो एक्लो प्रयासले मात्र सम्भव नहुने जनाए ।

‘वीरगन्जवासीले हातेमालो गरेर वीरगन्जमा परिवर्तनको सुरुवात गरिएको छ,’ उनले भने, ‘धेरै कुरा गर्न अझै बाँकी छ, वीरगन्जले विरासतमा पाएका विषयलाई सौन्दर्यीकरण गर्ने अभियानमा हामी लागेका छौं, यहाँका मठमन्दिर र ऐतिहासिक स्थलको सौन्दर्यीकरण सुरु गरेका छौं, फोहोर सडकलाई सफा मात्र गरेका हौं, यो अभियानलाई अन्त्यसम्म पुर्‍याउन जरुरी छ ।’

वीरगन्ज सम्भावना बोकेको सहर रहेको र आफूहरूले औद्योगिक एवं आर्थिक नगरी पनि विरासतमा पाएको मेयर सिंहको भनाइ छ । तर त्यसको अनुभूति भने गर्न नपाएको उनले गुनासो गरे । ‘न त यहाँका युवाले रोजगारी पाएका छन्, न अवसर नै,’ उनले भने, ‘त्यस्तो विरासतको के काम ?’ १ सय ३५ वर्ष पुरानो इतिहास बोकेको यहाँको भगवान् नृसिंहको मन्दिरको सौन्दर्यीकरणको डीपीआर तयार भएर टेन्डर प्रक्रियामा जान लागेको मेयर सिंहले जनाए । गहवामाईका ७ दिदीबहिनीको मन्दिरको पनि प्रचारप्रसार तथा सौन्दर्यीकरण गर्न लागिएको पनि उनले बताए ।

वीरगन्जलाई अब धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरेर भारतीय पर्यटकलाई कम्तीमा दुई रात बस्ने वातावरण बनाउन लागिएको सिंहले जनाए । ‘वीरगन्ज नेपाल प्रवेश गर्ने ट्रान्जिट मात्र नहोस् भन्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसका लागि भारतीय पर्यटकलाई दुई रात वीरगन्जमा बस्ने वातावरण बनाउँदै छौं, यसका लागि नाका रातिसम्म खुला गर्ने र भारतीय पर्यटकलाई दुःख दिने काम बन्द हुनुपर्छ ।’

वीरगन्जले भोजपुरी भाषा र संस्कृति, सुगौली सन्धिपछिको वीरगन्ज नाका, धार्मिक सद्भाव, सहिष्णुता, शंकराचार्य प्रवेशद्वार, गहवामाई मन्दिर, घण्टाघरलगायत ऐतिहासिक महत्त्वका विषय विरासतमा पाएको मेयर सिंहले बताए । यिनको संरक्षण, सम्वर्द्धन र सौन्दर्यीकरणमा विशेष जोड दिइने उनले जनाए । कलेज स्थापनामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको साथ र समर्थन रहेको नेसनल मेडिकल कलेज, वीरगन्जका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले स्मरण गरे ।

‘उहाँको साथ, सहयोग र मार्गदर्शनले २५ वर्षअघि वीरगन्जमा मेडिकल कलेज स्थापनाको परिकल्पना साकार भएको हो,’ उनले भने, ‘वीरगन्जमा त्यति बेला चिकित्सक, नर्स र स्वास्थ्य प्राविधिकको समेत चरम अभाव रहेका बेला मेडिकल स्थापना भएपछि स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा ठूलो परिवर्तन सम्भव भयो ।’ कलेजले वीरगन्जलाई देश र विदेशमा पनि चिनाउन सफल भएको अन्सारीको भनाइ छ ।

कलेजले दुई हजार जनशक्तिलाई प्रत्यक्ष र पाँच हजारलाई अप्रत्यक्ष रूपमा रोजगारी दिएको डा. अन्सारीले बताए । विदेशी बिरामीलाई पनि उपचार दिन सफल भएको उनको दाबी छ । कलेजले वीरगन्जको पर्यटकीय गतिविधि पनि बढाएको दाबी गर्दै डा. अन्सारीले यहाँका स्थानीयको स्वास्थ्य उपचारमा वीरगन्ज महानगरपालिकाको कार्यालयसँग सहकार्य गर्न इच्छुक रहेको पनि प्रस्ट्याए । फरक प्रसंगमा उनले हालको सरकारी नीति मेडिकल कलेजमैत्री नभएको र ५ वर्षभित्र सरकारले मेडिकल कलेज आफैंले लिने वा बन्द गराउने सम्भावना रहेको आरोप लगाए ।

वैभवयुक्त वीरगन्जको सपना साकार पार्न यहाँ स्थानीय स्तरको कच्चा पदार्थ उपयोग गरेर उत्पादित वस्तु निर्यात गर्न सक्नुपर्नेमा व्यवसायी रवि केसीले जोड दिए । निकट भविष्यमा निजगढ विमानस्थल र निजगढ–काठमाडौं द्रुतमार्ग सञ्चालनमा आए वीरगन्जले अझै फड्को मार्ने उनको दाबी छ । सरकार व्यापारी नभई सहजकर्ता मात्र हुनुपर्ने उनको भनाइ छ । ‘सरकारले नीतिनियम बनाउँदा उद्योगमा आधारित बनाउँदैन,’ उनले भने, ‘आयात हुने कच्चा पदार्थ र उत्पादित वस्तुको पनि एउटै भन्सार दर रेट छ, यो त एउटा उदाहरण मात्र हो ।’ पछिल्लो दिनमा उद्योगी व्यवसायी र कर्मचारीबीच विश्वासको खाडल बढेको पनि केसीले बताए । ‘उद्योगी व्यवसायीले कर छली मात्र गर्छन् भन्ने आरोप लगाइन्छ,’ उनले भने, ‘के उद्योगी व्यवसायी दोस्रो दर्जाको नागरिक हुन् त ?’

वैभवपूर्ण वीरगन्जको सपना साकार पार्न आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पनि वीरगन्जमा बस्ने वातावरण बनाइनुपर्ने होटल तथा पर्यटन व्यवसायी नीलम सिंहले बताइन् । ‘वीरगन्जलाई केवल आर्थिक राजधानी र मुलुकको प्रवेशद्वारका रूपमा मात्र चित्रित गरिनुभएन,’ उनले भनिन्, ‘यहाँ भारत तथा तेस्रो मुलुकबाट भित्रिने पर्यटकलाई बस्ने वातावरण बन्नुपर्छ ।’

होटल तथा पर्यटन व्यवसाय सेवामूलक उद्योग रहेको र यसलाई सरकारले संरक्षण गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय आर्थिक शिथिलता र व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले वीरगन्जको होटल व्यवसाय समस्यामा परेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २५, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?