२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मुलुकको अर्थतन्त्र मौलिक खालको छ : गर्भनर

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र मौलिक किसिमको रहेको भन्दै यसलाई क्रमिक रुपमा नयाँ ढंगले अघि बढाउनुको विकल्प नरहेको बताएका छन् । मुलुकको अर्थतन्त्र रेमिट्यान्स, आयातलागयतको चक्रमा घुमिरहेको भन्दै गर्भनर अधिकारीले आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेका बताएका छन् ।

मुलुकको अर्थतन्त्र मौलिक खालको छ : गर्भनर

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगंजको वाणी’ कार्यक्रमको तेस्रो सत्र ‘अर्थतन्त्र उकास्न स्थिर नीति’ मा बोल्दै उनले मुलुकको अर्थतन्त्र बढी मात्रामा रेमिट्यान्समा निर्भरहेको प्रस्ट्याए ।

‘रेमिट्यानस धेरै आयो भने विदेशी मुद्रा संचिति हुन्छ, लगत्तै बैंकमा तरलता बढ्छ । आयात बढि भयो भने राजस्व बढ्छ,’ उनले भने, ‘धेरै आयात भयो भने खपत पनि हुन्छ, त्यसैले आन्तरिक अर्थतन्त्र र आन्तरिक उत्पादनलाई जोड दिन आवश्यक छ,’ उनले भने, ‘जबसम्म आन्तरिक उत्पादन र निर्यातलाई बढाई बाहृय क्षेत्रलाई उक्त माध्यमबाट बलियो बनाउन सक्दैनौं । त्यसबेलासम्म यो चक्र चलिरहन्छ ।’

रेमिट्यान्स र आयातमा निर्भरबाट हटेर आन्तरिक उत्पादनमा लाग्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । ‘मासिक १ खर्ब २८ अर्बको वस्तु आयात गरिरहेका छौ, तर कसरी अर्थतन्त्र चलायमान छैन, आयातको हिसाबले पक्कै नराम्रो होइन, मासिक ८ अर्बको निर्यात गरिरहेका छौ । मुलुक यो खालको चक्रमा फसिरहेको छ,’ उनले भने, ‘त्यसकारण आन्तरिक उत्पादन बढाउनु जरुरी छ । हामीसँग उपलब्ध स्रोतलाई आन्तरिक उत्पादन बढाउन प्रयोग गर्नुपर्छ भन्ने प्रत्येक बजेट र मौद्रिक नीतिमा आउँछ । राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत पनि विभिन्न किसिमको कर्जा योजना ल्याइरहेको छ ।’

उल्लेखित चक्रबाट बाहिर ल्याउन पनि बैंकहरुलाई १५ प्रतिशत कृषिमा, १० प्रतिशत ऊर्जामा लगाउनुपर्छ भन्दै बाध्यकारी नीति अपनाइएको उनको भनाइ छ । ‘त्यसबाट बाहिर आउन समय लाग्ला । तर हाम्रो नीति त्यसतर्फ गइरहेको छ,’ उनले भने ।

राष्ट्र बैंकको अध्ययनले पनि ठूला उद्योगहरुको क्षमता उपयोग घटेर ३५ देखि ४० प्रतिशत देखाइरहेको छ । ‘उद्योगले ऋण लिने भनेको उत्पादनका लागि हो । आफ्नो कच्चा पदार्थको लागि हो,’ उनले भने, ‘माग छैन भने ऋण पनि घटाउँछ । क्षमता उपयोग ४० प्रतिशतले घट्दा वर्किङ क्यापिटल पनि ६० प्रतिशतले घट्ने अवस्थामा हुन्छ । ऋण पनि त्यसरी नै घटाउँछ । ऋणको माग घटेपछि बैंकले निजी क्षेत्रलाई ऋण दिने कुरा भएन । बैंकमा आएको पैसा लिनै पर्छ ।’

प्रकाशित : चैत्र २४, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?