२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

रारा वरिपरि स्याउ खेती

खेतीमा प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको सहयोग
राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा आसपासका बासिन्दाले स्याउ खेती गर्न थालेका छन् । रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्निकाँध गाउँका स्थानीयले बाँझो तथा भोगचलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती गर्न थालेका हुन् । 

रारा वरिपरि स्याउ खेती

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा पर्ने रारा तालदेखि तलका बस्तीका किसानले अन्य बाली छाडेर स्याउका बिरुवा रोपिरहेका छन् । रारा घुमफिर गर्न आउने पर्यटकलाई झन् आकर्षित बनाउने उद्देश्यले स्थानीयले स्याउ खेतीलाई प्राथमिकता दिएको उनीहरू बताउँछन् । मध्यवर्ती क्षेत्रको लामाचौरमा ६ हेक्टर बाँझो जमिन खनेर स्याउका १८ सय बोट रोपिएको छायानाथ रारा–१ का जयबहादुर मल्लले जनाए । तलितुम गाउँका केही व्यक्ति र माथितुम गाउँका पूरै स्थानीय स्याउ रोप्ने काममा संलग्न रहेको उनको भनाइ छ । स्याउ खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहयोग गरेको छ ।

बोट रोपेको करिब ३ वर्षभित्र दाना लाग्ने गरेका छन् । कार्कीबाडा, झापागार्ड, सायाँखोला र हेर्निकाँध, घिमखोला, गाउँका स्थानीयले पनि रारा तालभन्दा तलका जग्गामा स्याउ रोपेर फलाउन सुरु गरेका छन् । रारा वरिपरि मध्यवर्ती क्षेत्रका जग्गाजमिनमा तालको पानीले बाह्रै मास सिञ्चित हुने र उक्त क्षेत्रमा बढी स्याउ फल्ने भएकाले स्थानीय आकर्षित भएका छन् । रारा घुम्न आउने पर्यटकले कोसेलीका रूपमा किनेर लैजान सुविधा होस् भनेर मध्यवर्ती क्षेत्रको जग्गामा स्याउ खेती गरिएको माथितुमका कम्मरसिंह खड्काले सुनाए । ‘मोटर बाटो पुगेर पर्यटकको संख्या बढ्न थालेपछि स्याउ खेतीमा बढी जोड दिएका छौं,’ उनले भने ।

ताल्च गाउँका दुई सयभन्दा बढीले प्रत्येक बारीमा स्याउ फलाउने गरेका छन् । गाउँनजिकै रहेको रारा विमानस्थलले गर्दा स्याउ बेच्न सुविधा भएको र रारा घुम्न आउने पर्यटकले किनेर लैजाने गरेपछि स्थानीयले स्याउ उत्पादनमा ध्यान दिन थालेको स्थानीय हरि रोकायाको भनाइ छ ।

‘स्याउ उत्पादन हुन थाले सजिलै परिवार पाल्न सकिन्छ,’ रोकायाले भने, ‘सडक पुगिसक्यो । बाहिरका मानिस आएका आयै हुन्छन् । कसरी बेचौं भन्ने छैन ।’ पर्यटकले गाउँमै पुगेर स्याउ किनेर लैजान थालेपछि स्थानीय पाखोबारीमा स्याउका बिरुवा रोप्न उन्मुख भएको उनले बताए ।

रारा घुम्न आउने पर्यटकलाई लक्ष्य गरी स्याउ उत्पादनमा प्राथमिकता दिइएका वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर रावलले पनि जनाए । रारा क्षेत्र वरिपरिका कार्कीबाडा, ताल्च, माथितुम, पिना, झयारी, झापागार्ड, मैतु, घिमखोलालगायत बस्तीका बासिन्दाले वार्षिक १२ टन स्याउ बिक्री गर्छन् । उनीहरूले बारीमा फलाएको ५० प्रतिशत स्याउ जिल्लामै बिक्री हुने र ५० प्रतिशत स्याउ गाडीमा सहर लगेर बेच्ने गरेका छन् । जिल्लामा प्रतिकिलो ३५ रुपैयाँ र सुर्खेत, नेपालगन्ज जस्ता सहरमा ६५ रुपैयाँमा स्याउ बेच्ने गरिएको किसानको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३०, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?