कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सर्सिया सुक्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएका ३९१ कन्टेनर लिलामी गरिँदै 

शंकर आचार्य

पर्सा — झन्डै ५ वर्षदेखि आयातकर्ताले नलगेर बन्दरगाह परिसरमा थन्किएका ३ सय ९१ वटा मालवाहक कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लिलामी गर्न थालेको छ । भन्सार कार्यालयले मंसिर १० गते ७ दिने सूचना प्रकाशित गरी लिलामी प्रक्रिया अघि बढाएको हो ।

सर्सिया सुक्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएका ३९१ कन्टेनर लिलामी गरिँदै 

७ दिनको अवधि भित्र सम्बन्धित आयातकर्ताहरू आ-आफ्नो मालवस्तुको जाँचपास गरी नलगेमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख थियो । बन्दरगाह भन्सार कार्यालयका अधिकृत सुशीलप्रसाद शर्माले सामान्यतः भन्सार परिसरमा मालवस्तु भित्रिएको ६० दिन भित्र पनि आयातकर्ताले आफ्नो मालवस्तु जाँचपास गरी नलगे त्यस्ता वस्तु लिलाम गर्न सकिने प्रावधान रहेको बताए ।

सूचना प्रकाशित भएपछि केही आयातकर्ता सम्पर्कमा आएको तर अधिकांश कन्टेनरको दाबी गर्न कोही पनि नआएको उनले बताए ।

यस्तो अवस्थामा भन्सार ऐन २०६४ मा रहेको प्रावधानअनुसार सिलबन्दी कन्टेनरहरूलाई रितपूर्वक खोलेर तिनमा रहेका मालवस्तु वैध/अवैध रहेको यकिन गरी लिलामी गर्न योग्य वस्तु भए लिलामी गरिने नत्र गलाउने प्रक्रिया अघि बढाइने उनले बताए । आयातकर्ताले जाँचपास प्रक्रियाका लागि घोषणा नगरी बन्दरगाह परिसरको दक्षिण पूर्वी कुना तथा मध्य भागमा समेत राखेका कन्टेनरहरू थोत्रो हुँदै गएका छन् । केही कन्टेनरमा खिया लागेर कन्टेनरमा रहेको केराउ झरेको छ ।

स्रोतका अनुसार अधिकांश कन्टेनरमा सन् २०१८ को अन्त्यतिर नेपाली आयातकर्ताहरूले ब्राजिलबाट आयात गरेको केराउ दाना र पाकिस्तानबाट आयात गरेको छोहडा छन् । त्यति बेला नेपालमा माग रहेको भन्दा अत्यधिक परिमाणमा यी वस्तु आयात हुन थालेपछि नेपाल सरकारले कोटा लगाएर यी वस्तुको आयातमा बन्देज लगाएको थियो ।

सरकारले बन्देज लगाउने क्रममा आयातकर्ताले एलसी खोलेर तेस्रो मुलुकबाट आयात गरिसकेका यी वस्तु समुद्री मार्ग तथा रेल मार्गमै रहेका थिए । त्यस लगत्तै निरन्तर २ वर्ष कोरोनाको महामारी पछिको लकडाउनले आयातकर्ताले ती वस्तु जाँचपास गराउन सकेनन् । पछि आयातकर्ताले लबिङ गरेर सरकारले लगाएको कोटा प्रणाली हटाएर आफ्नो मालवस्तु छुटाउन प्रयास गरेपनि त्यो असफल भएको थियो । खाद्यवस्तु लामो समय उपभोग नगर्दा कुहिएको र कुहिएपछि आयातकर्ताले जाँचपास गराउने प्रयासनै नगरेको अधिकृत शर्माले बताए ।

प्रकाशित : मंसिर २५, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×