कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उत्पादन घटेपछि भारतबाट ल्याउन थालियो बिजुली

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ७ महिनामा १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बचत भएको बर्खार्यामको विद्युत् गत २८ जेठबाट प्राधिकरणले भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

उत्पादन घटेपछि भारतबाट ल्याउन थालियो बिजुली

जेठदेखि मंसिर २० सम्म दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष ०८०/८१ को साउनदेखि २० मंसिरसम्म १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको थियो । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ । सबैभन्दा बढी मूल्यमा भने गत भदौमा विद्युत् बिक्री गरिएको छ । प्राधिकरणको तथ्यांकअनुसार उक्त महिनामा प्रतियुनिट ११ रुपैयाँ ९७ पैसाका दरले विद्युत् बिक्री भएको हो ।

भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरिएको थियो । असोजमा सबैभन्दा बढी ४ अर्ब १७ करोड ७७ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । तर अहिले सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटेको छ । जसका कारण जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्न थालेको छ । जाडो बढेसँगै आन्तरिक माग वृद्धि भएपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भइसकेको छ ।

अहिले दैनिक विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबर छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ घिसिङले भने, ‘पिक आवरमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ ।

दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा सस्तो दरमा पाइने भएकाले थोरै परिमाणमा आयात सुरु गरिएको हो ।’ चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि तर यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको घिसिङले बताए । ‘आगामी वैशाख दोस्रो साताबाट विद्युत् निर्यात पुनः सुरु हुन्छ । यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ । त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,’ घिसिङले भने, ‘दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन्, जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् । त्यसैले आगामी पाँच वर्षभित्र वार्षिक करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था छ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको हो । प्राधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) लाई बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रकाशित : मंसिर २३, २०८० ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×