कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ — यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

‘अहिले विद्युत् उत्पादन र माग करिब–करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत्गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा२ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)लाई बिक्री गरिरहेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रकाशित : मंसिर २२, २०८० १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×