कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भ्याट विवादले व्यवसायीले रोके आलु–प्याज आयात र बिक्री

सिजनमै किसानको बारीबाट आलु उठेन, उपभोक्तालाई भने चर्को मूल्यको भारी 
बजारमा आलु–प्याज पाइन्न, पाइहाले पनि भाउ अचाक्ली
राजु चौधरी

काठमाडौँ — आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् । 

भ्याट विवादले व्यवसायीले रोके आलु–प्याज आयात र बिक्री

आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन । ‘भ्याटका कारण व्यवसायी विरोधको कार्यक्रममा छन्, उनीहरूले स्वदेश र भारतबाट समेत आलु–प्याज ल्याएका छैनन्,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘कालीमाटी बजारमै आलु–प्याज नभएपछि मूल्य नराखेका हौं ।’

हड्तालका कारण किसानले फलाएको आलु बारीमै थन्किएको छ । किसानले मूल्य नपाउने तर आम उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएको जानकार बताउँछन् । ‘आलुको सिजन भएकाले किसानले बारीको उत्पादन निकालेर बसेका छन् । व्यवसायीले नकिनिदिँदा किसानले मूल्य नपाउने तर सर्वसाधारणलाई चर्को मूल्य पर्ने अवस्था हुने देखियो,’ श्रेष्ठले भने, ‘अहिलेको समस्या समधान गर्न सबैले सहजीकरण गर्नुपर्छ ।’

ठूला व्यापारीको हडतालका कारण खुद्रा बजारमा आलु र प्याज पाइएको छैन । पाइहाले पनि महँगो मूल्य तिर्नुपर्छ । ‘आलुको सिजन भए पनि होलसेलमा किलोकै ५० देखि ५५ रुपैयाँमा किन्नुपरेको छ । खुद्रामा बिक्री गर्दा धार्नीको १८० देखि २ सय रुपैयाँ छ,’ एक खुद्रा व्यापारीले भने, ‘सिजनमा आलुको भाउ सस्तो हुनुपर्ने हो । तर बजारमा सहजै पाइँदैन ।’

प्याजको अवस्था पनि उस्तै छ । समितिका अनुसार सामान्यतया कालीमाटी तरकारी बजारमा दिनको १ सय ५० देखि २ सय टन आलु भित्रिन्छ । सिजनमा करिब ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय आलु भित्रिन्छ । यसैगरी दिनको ८० देखि ९० टन प्याज भित्रिन्छ । प्याज भने धेरैजसो भारतकै उत्पादन हो । तर तीन दिनदेखि कालीमाटी तरकारी बजारमा प्याज भित्रिएको छैन । खुद्रा बजारमा अभाव सुरु भइसकेको छ । खुद्रा व्यवसायीका अनुसार धेरै पसलमा प्याज पाउन छाडिसक्यो ।

पाइहाले किलोकै १ सय ४० देखि १ सय ५० रुपैयाँम्म तिर्नुपर्छ । तर सरकारले यसमा ध्यान दिएको छैन । व्यवसायीले पनि भ्याटको बहानामा मनलाग्दी गर्न खोजेको उपभोक्ताकर्मी बताउँछन् । ‘धेरै कारोबार गरेपछि सरकारलाई कर र राजस्व पनि तिर्नुपर्छ । त्यसको बहनामा पनि व्यवसायी विरोधमा उत्रिएका हुन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘अत्यावश्यक वस्तुका रूपमा रहेको तरकारीमा हडताल गर्नु नै गैरकानुनी हो । सरकारले आपूर्ति व्यवस्था सहज नगर्नु अर्को गैरजिम्मेवारपन हो ।’

सरकारले अनुगमनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाउन खोजेपछि व्यवसायी बाध्य भएर बिक्री बन्द गर्ने अवस्थामा पुगेको नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले बताए । ‘सुरुमा आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भनियो । तर बजार अनुगमनका क्रममा आन्तरिक राजस्व कार्यालय र वाणिज्य विभागले सबैलाई भ्याटमा दर्ता हुनुपर्ने भन्यो । सात दिनभित्र भ्याटमा दर्ता गरेर मात्रै कारोबार गर्न, निर्देशन पालना नगरे कारबाही गर्ने भनियो,’ महासचिव गजुरेलले भने, ‘व्यवसायी त्रस्त छन् । नेपाली उत्पादनमा भ्याट लागु नहुने भनिए पनि व्यवहारमा त्यो देखिएन । अनुगमनका नाममा व्यवसायी त्रसित भए, कारोबार गर्न नसक्ने अवस्था आएपछि आयात र बिक्री बन्द गरेका छौं ।’ प्याजको कुरा गर्दा झन्डै ८० प्रतिशत माग कालीमाटी बजारले नै माग पूर्ति गर्छ ।

सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि भ्याट खारेजको माग गर्दै उनीहरूले विरोध गरेका थिए । केही व्यापारीले झन्डै १० दिन कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु आयात नै गरेनन् । कालीमाटीमा नआएपछि त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी सुरु गरेका थिए । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १३ वटा ठूला गोदाममा छापी मारेको थियो । त्यसले भने मूल्यमा केही नियन्त्रण ल्याए पनि अहिले फेरि भ्याट विवादले आयात बिक्री बन्द भएको छ ।

‘अनुगमनका क्रममा नेपाली उत्पादनमा पनि भ्याट लाग्ने जस्तो व्यवहार गरियो । नेपाली उत्पादन नै बेच्न नपाउने भएपछि भारतबाट मात्रै किन ल्याउने ?’ महासचिव गजुरेलले भने, ‘राज्यको नीति र कामकारबाहीले आयात र बिक्री गर्ने अवस्था नै रहेन ।’

आलु–प्याजको क्षेत्रमा देखिएको समस्या सामधान गर्न आन्तरिक राजस्व विभागले कार्यविधि बनाएर सहजीकरण गरिदिने आश्वासन दिएको थियो । तर अहिले सम्म कार्यान्वयन भएको छैन । आलु–प्याजमा भ्याट विवादबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीसँग सम्पर्क गर्दा उनको फोन उठेन । वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले भने स्वदेशी उत्पादनमा भ्याट नलाग्ने प्रस्ट्याए । बजार अनुगमनका क्रममा हस्तक्षेप नगरिएको पनि उनको दाबी छ ।

प्रकाशित : मंसिर २२, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×