कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जहाज नचल्दै जीर्ण बन्दै बलेवा विमानस्थल

निर्माणमा अगुवाइ गरेको बागलुङ नगरपालिकालाई पनि कहिले जहाज आउँछ भन्ने थाहा छैन 
प्रकाश बराल

बागलुङ — साढे दुई वर्षअघि निर्माण सकेर चिटिक्क पारिएको बलेवा विमानस्थल जहाज चल्न नपाउँदै जीर्ण बन्न लागेको छ । विमानस्थलको धावनमार्गमा अहिले काँस फुलेको छ । तारबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्छन् । कतिले कालोपत्र मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक सञ्जालमा प्रश्न तेर्स्याउँछन् । 

जहाज नचल्दै जीर्ण बन्दै बलेवा विमानस्थल

निर्माणमा अगुवाइ गरेको बागलुङ नगरपालिकालाई पनि यहाँ कहिले जहाज आउँछ भन्ने थाहा छैन । राम्रो हालतको रनवे र वातावरण भएकाले जहाज चल्न सक्ने पोखरा विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए । जहाज पठाउने नपठाउने अधिकार भने केन्द्रीय कार्यालयमा निहित भएको उनको भनाइ छ । ‘मेरो कार्यक्षेत्र भएकाले पुगेर अवलोकन गरेको थिएँ,’ कर्णले भने, ‘यति धेरै लगानी भएपछि चलाउनुपर्ने हो ।’

जहाज कहिले चल्छ भन्नेबारे भने आफूमा उत्तर नभएको उनले प्रतिक्रिया दिए । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित बलेवा विमानस्थलमा ०५० पछि जहाज चल्न छाडेको थियो । ०२२ देखि ०५० सालसम्म नियमित जहाज चल्दा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले काठमाडौं र भैरहवाका लागि सेवा पाएका थिए । पोखरा–बागलुङ राजमार्ग खुलेपछि जहाज बन्द भएको थियो ।

०७१ सालमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टले जहाज चलाउने प्रयास गरेका थिए । त्यो सफल भएन । स्थानीय तह गठनपछि बागलुङ नगरपालिकाले सिट क्षमताका आधारमा खाली भएमा शुल्क तिर्ने गरी झन्डै ४ महिना जहाज चल्यो । साताको दुई वटासम्म उडान गर्दा नगरपालिकाले २० लाखभन्दा बढी रकम सिट क्षमताका आधारमा तिरेपछि बन्द भएको थियो ।

नगरको अगुवाइमा नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग कालोपत्र गरेको हो । कालोपत्र बनेपछि भने विमानस्थल सञ्चालनमा कसैले चासो देखाएका छैनन् । ‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले ०७८ वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँ लागतमा बलेवा विमानस्थल कालोपत्र गरेको थियो । करिब ७ सय मिटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिए पनि जहाज उडाउने पहल भएको छैन ।

०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले यो विमानस्थल खनेका थिए । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका लािग नियमित उडान चल्ने गरेकामा सडकले ठप्प भएको स्थानीय कृष्णबहादुर खड्का बताउँछन् । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दीनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाउन नेपाल एयरलाइन्सको जहाज चढेर यहाँ उत्रेका थिए ।

एयरपोर्ट पुग्ने सडक कच्ची भएकाले विमानस्थल चलाउन समस्या भयो । नगरपालिकाले पनि घाटा परेपछि विमानस्थल कालोपत्र गर्ने काम सुरु भयो । यहाँ ६ सय २० मिटर लामो पक्की नाली, १ हजार ५ सय मिटर लामो घेराबार र एउटा मुख्य गेट तथा अर्को आपत्कालीन गेट बनाइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् ।

यहाँ पुग्ने कालीगण्डकी करिडोर कालोपत्रको ठेक्का लागेको छ । ९९ करोड लागतमा मालढुंगादेखि एयरपोर्टसम्मको १० किमि सडक कालोपत्र गर्ने ठेक्काको काम भइरहेको वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले जनाए ।

‘जहाज उड्नुपर्ने ठाउँमा अहिले काँस फुलेको छ, आउने मानिसले पनि हँस्सीमजाक गर्छन्,’ उनले भने । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि ट्याक्सी चढेर आउने वातावरण नभएसम्म पहल गर्न नसकिएको प्रस्ट्याए । ‘नगरपालिकाले घाटा बेहोर्ने गरी जहाज चल्दैन,’ श्रेष्ठले भने, ‘सडक सहज भएपछि जहाज चल्ने वातावरण बन्छ ।’ कालीगण्डकी करिडोर कालोपत्र भए सदरमुकामदेखि १५ मिनेटमा बलेवा विमानस्थल पुग्न सकिन्छ ।

प्रकाशित : मंसिर २२, २०८० ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×