कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासमा एडीबी र विश्व बैंकबीच सहकार्य

काठमाडौँ — प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबीच सहकार्य हुने भएको छ । यसका लागि यी दुई बैंकले समझदारीपत्रमा बुधबार हस्ताक्षर (एमओयू) गरेका छन् ।

माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासमा एडीबी र विश्व बैंकबीच सहकार्य

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) चलिरहँदा एसियाली विकास बैंककी उपाध्यक्ष फात्तिमा यस्मिन र विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेसरले एमओयूमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार यी संस्थाले उल्लिखित आयोजना विकासका लागि आगामी पाँच वर्षसँगै काम गर्ने छन् ।

‘विश्व बैंक र एसियाली विकास बैंक बीच भएको यो सम्झौता नेपालको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण कदम हुनुका साथै बढ्दो जनसंख्या र सहरीकरण, ऊर्जा माग सम्बोधनका साथै छिमेकी देशबीच ऊर्जा व्यापारमा क्षेत्रीय सहकार्यसहित हरित ऊर्जा र समावेशी विकासमा सहयोग पुग्छ,’ उपाध्यक्ष यस्मिनले भनिन्, ‘एडीबी हरित ऊर्जाको प्रवद्र्धन र जलवायुका कार्य लक्ष्यप्रति प्रतिबद्ध छ । ऊर्जा उत्पादनभन्दा पनि समाजमा र सामाजिक जीवनशैलीमा सकरात्मक प्रभावका साथै वातावरण र सबैको दिगो भविष्य सुनिश्चत गर्न हामी प्रतिबद्ध छौँ ।’

विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेसरले नेपाल सरकार, साझेदार संस्थाहरू तथा निजी क्षेत्रको आपसी सहकार्यबिना नेपालका ठूला जलविद्युत परियोजनाको प्रचुर सम्भावनाको पूर्ण उपयोग हुन नसक्ने बताएका छन् । यसकारण पनि ठूला आयोजना निर्माणका लागि निजी क्षेत्र र दातृ निकायको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘यो सम्झौतासँगै एडीबी र विश्व बैंकबीच आगामी दशक नेपालको हरित ऊर्जा विकास, दिगो र समावेशी विकासका लागि नेपालले वित्तीय तथा नीतिगत सुझाव प्राप्त गर्नेछन्,’ रेसरले भने ।

यी दुई बहुपक्षीय बैंकको सहकार्यबाट जलविद्युत् क्षेत्रमा आपसी ज्ञान र अनुभव साटासाट तथा ऊर्जा क्षेत्रको विकासका लागि समान धारणाका साथै विश्लेषणात्मक अध्ययन तथा जलविद्युत् क्षेत्रको विकासका लागि परामर्शसमेत उपलब्ध गराइने बताइएको छ ।

उक्त समझदारीपछि एडीबी र विश्व बैंकले नेपालको ऊर्जा विकास, कार्यान्वयनकारी निकायहरूको संस्थागत क्षमता विकास, नेपालका ठूला जलविद्युत कम्पनीको विकास तथा ऊर्जा क्षेत्रमा वित्तीय सहयोग उपलब्ध गराउने जनाएको छ । एडीबीले एसियामा गरिबी न्यूनीकरणसहित समृद्ध, समावेशी, उत्थानशीलता र दिगो विकासका लागि प्रतिबद्ध रहेको ती निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर २१, २०८० २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×