१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

रेमिट्यान्सले बढायो तरलता, बजारबाट पैसा खिच्दै राष्ट्र बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ, यति गर्दा पनि वित्तीय प्रणालीमा पैसा नघटेपछि अहिले राष्ट्र बैंकले निक्षेप संकलन औजारमार्फत बजारबाट पैसा तान्न थालेको हो 
यज्ञ बञ्जाडे

काठमाडौँ — वित्तीय प्रणालीमा तरलता थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले बजारबाट पैसा तान्न थालेको छ । रेमिट्यान्स निरन्तर रुपमा बढेको, आयात बढ्न नसकेको, अपेक्षित रुपमा कर्जा माग नबढेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ मार्फत बजारबाट पैसा तान्न थालेको हो ।

रेमिट्यान्सले बढायो तरलता, बजारबाट पैसा खिच्दै राष्ट्र बैंक

बजारमा पैसा थपिने क्रम नरोकिँदा अन्तरबैंक दर २ प्रतिशतभन्दा तल झर्न थालेपछि ब्याजदरमा स्थायित्व कायम गर्न बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै बजारमा तरलता चाप थिएन । ब्याजदर बिस्तारै घट्न थालेको थियो । तर गत भदौ २५ देखि सरकारले स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत बैंक तथा वित्तीय संस्थाले निक्षेपमा गणना गर्न पाउने सुविधा दियो । सरकारको यो निर्णयकै कारण साढे ४ प्रतिशतभन्दा माथि रहेको बैंकबीचको सापटीदर (अन्तर बैंक दर) एकै पटक घटेर २ प्रतिशत हाराहारीमा झर्‍यो । मौद्रिक नीतिको व्यवस्थाअनुसार अन्तरबैंक दर साढे ४ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा तान्नुपर्छ । तर त्यति बेला राष्ट्र बैंकले आफ्नै नीतिको बेवास्ता गर्दै बजारबाट पैसा तानेन । बरु सरकारको आन्तरिक ऋण संकलन तीव्र बनायो, जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि तय गरिएको सार्वजनिक ऋण पनि अघि सारेर पहिलो त्रैमासमा उठायो । यहीकारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यति गर्दा पनि वित्तीय प्रणालीमा पैसा नघटेपछि अहिले राष्ट्र बैंकले निक्षेप संकलन औजारमार्फत बजारबाट पैसा तान्न थालेको हो ।

वित्तीय प्रणाली अधिक तरलताको अवस्थामा रहिरहँदा पनि चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक) सम्म बजारबाट पैसा नझिकेको राष्ट्र बैंकले यही मंसिर ६ देखि निक्षेप संकलन औजारमार्फत बजारबाट पैसा झिक्न थालेको छ । सोही प्रक्रियाअन्तर्गत गत बिहीबारसम्म तीन वटा बोलकबोलमार्फत ३५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ भने आइतबारका लागि अर्को १० अर्बको बोलकबोलका लागि सूचना आह्वान गरेको छ । हाल राष्ट्र बैंकले ७ दिनका लागि मात्र बजारबाट पैसा तानिरहेको छ । यसअघि गत असार २८ मा राष्ट्र बैंकले २९ दिनका लागि निक्षेप संकलन गरेको थियो ।

निक्षेप संकलन औजारमार्फत बजारबाट तानेको रकममध्ये अहिले आफूहरूसँग २५ अर्ब रुपैयाँ मात्र लगानीमा रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख पिताम्बर भण्डारीले बताए । ‘बजारमा अधिक तरलता बढिरहेको, अन्तर बैंक दर २ प्रतिशतभन्दा तल झरेको, आन्तरिक ऋण नउठाइएकोलगायत कारण तरलता व्यवस्थापनका लागि निक्षेप संकलनमार्फत केही पैसा झिकिएको हो,’ उनले भने, ‘अहिले १० अर्ब र १५ अर्बको गरी दुई वटा निक्षेप संकलनबापतको २५ अर्ब रुपैयाँ राष्ट्र बैंकसँग छ । आइतबारका लागि अर्को बोलकबोल गर्दै छौं । त्यसपछि के गर्ने भन्नेबारे अर्को निर्णय हुन्छ ।’ गत बिहीबारसम्म अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेक वित्तीय प्रणालीमा ३८ अर्ब अधिक तरलता रहेको र अन्तरबैंक दर १.३ प्रतिशतमा रहेको भण्डारीको भनाइ छ । ‘पछिल्ला माहिनामा रेमिट्यान्स आप्रवाह राम्रो देखिएको छ । यहीकारण बजारमा निक्षेप बढेकाले अधिक तरलता पनि बढीरहेको उनले जनाए ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिए पनि अपेक्षित रुपमा कर्जा प्रवाह बढ्न सकेको छैन । ब्याजदर घट्दो क्रममै रहे पनि कर्जा माग बढ्न नसक्दा वित्तीय प्रणालीमा पैसा थुप्रिएको बैंकर बताउँछन् । ‘गत भदौमा बढ्न थालेको कर्जा माग असोजमा उल्लेख्य बढेको थियो । तर कात्तिकमा धेरै बढ्न सकेन,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘मंसिरमा कर्जा माग बढ्ने अपेक्षा थियो । तर त्यसको संकेत देखिएको छैन ।’

बजार माग बढ्न नसकेको भन्दै उद्योगी व्यवसायीको आत्मविश्वास अझै बढ्न नसकेकाले उनीहरूबाट आक्रामक रुपमा लगानी विस्तार नहुँदा कर्जा माग नबढेको केसीले जनाए । ‘तरलता पर्याप्त भएपछि बैंकहरूले घरजग्गा कर्जामा ब्याजदर घटाएर, नयाँ नयाँ प्रडक्ट ल्याइरहेका छन् । यसमा पनि अपेक्षित रूपमा कर्जा माग आएको छैन,’ उनले भने, ‘अब यो क्षेत्रमा कर्जा माग बढ्ला कि भन्ने छ ।’ बजारमा तरलता धेरै भएको र कर्जा माग नभएको राष्ट्र बैंकले आह्वान गरेको निक्षेप संकलनमा कायम भएको ब्याजदरले पनि पुष्टि हुने उनको भनाइ छ । ‘हालसम्म भएको निक्षेप संकलन बोलकबोलमा १ प्रतिशतभन्दा कम मात्र ब्याजदर कायम भएको छ,’ उनले भने, ‘यसले बैंकहरूसँग पर्याप्त तरलता रहेको बुझिन्छ ।’

मंसिरका लागि १४ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्, पाँच वटाले स्थिर राखेका छन् भने एउटाले बढाएको छ । व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ९.६ प्रतिशत छ । गत कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटेको हो । निक्षेपको ब्याज घटेसँगै बैंक तथा वित्तीय संस्थामा ऋण (कर्जा) को ब्याजदर पनि घटिरहेको तथ्यांकले देखाएको छ ।

निक्षेपको ब्याज घट्दा लागत (खर्च) घटेकाले बैंक तथा वित्तीय संस्थाको आधार दर (कर्जाको ब्याज निर्धारण गर्ने सूचक) घटेको छ । आधार दर घटेसँगै क्रमिक रूपमा ऋणको ब्याज पनि घटिरहेको तथ्यांकले देखाएको छ । एक वर्षअघिको तुलनामा अहिलेसम्म ऋणको ब्याजदर भन्डै एक प्रतिशत बिन्दुले घटिसकेको बैंकरहरूको दाबी छ ।

०७९ माघमा कर्जाको ब्याजदर पछिल्लो साढे ६ वर्षयताकै उच्च औसत १३.०३ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । त्यति बेला निक्षेपको ब्याजदर पनि औसत ८.४१ र आधार दर औसत १०.७२ प्रतिशत थियो । त्यसपछि घट्न थालेको ब्याजदर गत असारमा आइपुग्दा निक्षेपको औसत ७.८६, कर्जाको १२.३० र आधार दर १०.०३ प्रतिशतमा झर्‍यो । गत असोज मसान्तमा निक्षेपको औसत ब्याज ७.९० प्रतिशत छ भने कर्जाको औसत १२.११ र आधार दर ९.९४ प्रतिशत कायम छ । यो पछिल्लो १४ महिनायताकै कम हो । उक्त अवधिमा आधार दर ०.९८ प्रतिशत बिन्दुले घटेको देखिन्छ ।

सामान्यतः आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि घटबढ हुनुपर्ने हो । तर पछिल्ला महिनामा आधार दरमा आएको कमीअनुसार कर्जाको ब्याज घटेको छैन । गत असोजको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढेपछि शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति र चालु खाता पनि थप बलियो अवस्थामा पुगेको प्रतिवेदनले औंल्याएको छ ।

चालु आर्थिक वर्षको असोजमा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा हेर्दा यो हालसम्मकै उच्च हो । यसअघि गत साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष साउनमा ९२ अर्ब २१ करोड, भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब १ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २२ अर्ब ६९ करोड (०.४ प्रतिशत) ले बढेको थियो । ती महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत) ले बढेको थियो ।

प्रकाशित : मंसिर १७, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?