कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनीका गन्तव्य पुग्न पर्यटकलाई सास्ती

एक स्थानबाट अर्कार्सेम्म सार्वजनिक यातायातका साधन सञ्चालन नभएकाले ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्दै गन्तव्यसम्म पुग्नुपर्छ, जसकारण रमाउन निस्केका पर्यटक यात्राको झन्झट र कष्टले बाटोमै थलिने समस्या 
दीपेन्द्र बडुवाल

भैरहवा — यतिबेला आन्तरिक र बाह्य पर्यटक आगमनको माहोल छ । स्वदेशमै घुमफिरका लागि सामाजिक सञ्जालमा विभिन्न प्याकेज सार्वजनिक गरिएको छ । मुलुकभरिका होटल, लज र रिसोर्टले सहुलियतसहितका प्याकेज र छुट सार्जजनिक गरेका छन् ।

लुम्बिनीका गन्तव्य पुग्न पर्यटकलाई सास्ती

कोरोना महामारीको लामो प्रभावपछि पर्यटकीय क्षेत्रमा पाहुनाको चहलपहल बढेको छ । तर लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भ्रमणका लागि पाहुनाले यात्राका क्रममा सास्ती बेहोर्नु परिरहेको छ ।

एउटा पर्यटकीय गन्तव्यबाट अर्कोमा सिधा यातायात सुविधा नभएकाले यात्रा झन्झटिलो र खर्चिलो भएको पर्यटकको गुनासो छ । यहाँका लुम्बिनी, बर्दिया निकुञ्ज, पाल्पाको रानीमहल, प्यूठानको स्वर्गद्वारीमा अहिले पर्यटक पुग्ने गरेका छन् । ती गन्तव्य पुग्न गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । एक स्थानबाट अर्कार्सेम्म सार्वजनिक यातायातका साधन सञ्चालन नभएकाले ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्दै गन्तव्यसम्म पुग्नुपर्छ । यसले रमाउन निस्केका पर्यटक यात्राको झन्झट र कष्टले बाटोमै थलिने गरेका छन् ।

बाँकेको राप्ती सोनारीबाट बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका गेदु थारूले यस्तै दुःख सहनुपर्‍यो । उनका अनुसार बुधबार रात्रिबसमा यात्रा गरेर गाउँबाट ४० जना लुम्बिनी आएका हुन् । बाँकेबाट सिधै लुम्बिनी–भैरहवासम्म बस सञ्चालन नहुने भएकाले बुटवल झर्नुपरेको उनले बताए । बुटवलबाट बिहीबार बिहान बसमा भैरहवा आए । भैरहवाको बुद्धचोकमा झरेर लुम्बिनी पुग्न अर्को बस चढ्नुपरेको उनको भनाइ छ । ‘बुधबार घरबाट निस्किएदेखि आराम छैन,’ समूहमा रहेका गेदुले भने, ‘हिँडेको हिड्यैं, लुम्बिनीबारे केही नबुझेर घर फर्किने बेला भइसक्यो ।’ बिहीबार बिहान साढे ७ बजे लुम्बिनी पुगेका उनी मध्याह्न १२ बजेसम्म बुद्धस्थलमा घुमिरहेका थिए । यसबीच आरामले चियो पिउन नपाएको उनले जनाए ।

भैरहवाबाट बस चढेपछि लुम्बिनी प्रवेशद्वारसम्म पुगिँदैन । भैरहवा–तौलिहवा खण्डमा २२ किमि यात्रा गरेपछि लुम्बिनीको पर्साचोकमा पुगिन्छ । त्यहाँ बसबाट ओर्लिर्एर मायादेवी दर्शका लागि मैलवार पुग्नुपर्छ । पर्सा चोकबाट मैलावार पुग्न ट्याक्सी वा अटो रिक्सा चढ्नुपर्छ । नत्र पैदल यात्रा गर्नुपर्छ । ट्याक्सी र अटो रिक्सा चढेर पर्साचोकबाट मैलवारसम्म पुगेको ३ देखि पाँच सय रुपैयाँ खर्च हुन्छ । जिल्लाभित्रै पर्यटकीय गन्तव्यबीच सार्वजनिक यातायातका साधन सञ्चालन हुँदैनन् । घुम्नका लागि व्यक्तिले निजी सवारी साधन भाडामा लिनुपर्छ । जसले गर्दा पर्यटकको बसाइँ छोटो हुनुका साथै खर्च सम्झिएर दोहोर्‍याएर नआउने पर्यटन व्यवसायीको दुखेसो छ । वर्षौंदेखि स्थापित गन्तव्यमा समेत यस्तो समस्या छ ।

होटल एसोसिएसन लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बिहीबार बिहान एक जोडी विदेशी पर्यटकलाई बर्दिया पठाए । लुम्बिनी घुमफिर गरेका उनीहरूले बर्दिया निकुञ्ज पुग्ने बताएपछि महँगो यात्रा गर्नुपर्‍यो । लुम्बिनीबाट बर्दियाको ठाकुरद्वारासम्म बस सञ्चालन गरिएको छैन । त्यसैले बुधबार बुटवलस्थित बसपार्कमा फोन गरेर सिट बुक गरे । ठाकुरद्वारासम्म सिधै यातायात सुविधा नभएकाले धनगढीको बसको टिकट काटेको शर्माले बताए । उनका अनुसार बिहीबार बिहान गएका दुई जना पर्यटकले बुटवल पुगेर बस चढ्न मात्रै ३ हजार ५ सय रुपैयाँ ट्याक्सी भाडा तिरे । बुटवलबाट बर्दियाको आमाबासासम्म एक जनाको एक हजार दुई सय रुपैयाँ बस भाडा छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत आमबासाबाट ठाकुरद्वारा १२ किलोमिटर दूरीमा छ । आमबासाबाट ठाकुरद्वारा पुग्न अटो रिक्सा चढ्नुपर्छ । अटो रिक्साले ५ सय रुपैयाँ भाडा लिने गरेका छन् । ‘पर्यटकलाई घुम्ने वातावरणै छैन,’ शर्माले भने । ‘यस्तो कनेक्टिभिटीले कहिले पर्यटक बढ्ने,’ उनले भने । वर्षौंदेखि कमजोर ‘कनेक्टिभिटी’बारे आवाज उठाए पनि सुनुवाइ नभएको उनले बताए । नजिकको गन्तव्य चितवनको सौराहाबाट लुम्बिनी आउने पर्यटकले दिनभरि यात्रा गर्नुपरिरहेको छ । बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिलाइले लुम्बिनीमा आन्तरिक पर्यटक ठप्प बनेको छ ।

सडक सहज हुँदा पोखरा, चितवन, काठमाडौं, वीरगन्ज र धरानबाट घुमफिर गर्न आउँथे । त्यसरी आउने पर्यटकले प्रशस्त खर्च गर्ने हुँदा व्यवसाय सञ्चालन भइरहेको शर्मा बताउँछन् । अहिले यस्ता पर्यटक शून्य छन् । स्तरीय सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र निजीमा आउन सडकको अवस्था जीर्ण भएकाले पर्यटन प्रभावित बनेको उनको भनाइ छ । अहिले लुम्बिनीबाट काठमाडौंमा दिवा र रात्रिबस सञ्चालन भइरहेका छन् । पोखरा–लुम्बिनी एउटा बस नियमित सञ्चालन भइरहेको छ । त्यसबाहेक यहाँबाट लुम्बिनी प्रदेशका अन्य प्रमुख गन्तव्यमा बस सुविधा छैन ।

शर्माका अनुसार चितवनबाट लुम्बिनी यात्रा १० घण्टाको बनेको छ । पहिले ४/५ घण्टा लाग्थ्यो । चितवनको सौराहाबाट सिधै लुम्बिनीसम्म बस सेवा सञ्चालन नहुँदा एउटा पर्यटकले पाँच ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ । चितवनको सौराहाबाट रत्ननगरको सौराहाचोकसम्म एउटा गाडीमा आउनुपर्छ । सौराहाबाट नारायणगढसम्म अर्को बस चढ्नुपर्छ । नारायणगढ आएपछि बुटवलसम्म आउने बस खोज्नुपर्छ । बुटवलको राजमार्ग चौराहामा उत्रिएर भैरहवासम्म आउने बस चढ्नुपर्छ । भैरहवाको बुद्धचोकमा उत्रिएर लुम्बिनीसम्म आउन फेरि बस चढ्नुपर्छ । ‘ठाउँ–ठाउँमा बस फेर्नु झण्झटिलो हुन्छ,’ शर्माले भने, ‘धेरै स्थानमा धुलोमैलो हुँदै कोच्चिएर यात्रा गर्नुपर्छ । यसले गन्तव्यबारे नकारात्मक प्रचार बढी भइरहेको छ ।’

पर्यटकले यात्रा थाल्नु अगाडि घुमफिरका लागि निश्चित बजेट बनाउने गरेको लुम्बिनीमा कार्यरत पर्यटन पथ प्रदर्शक प्रह्लाद यादव सुनाउँछन् । निश्चित रकम बोकेर यहाँ आउने पर्यटकको यात्राका क्रममा एकाएक खर्च बढ्ने गरेको उनले सुनाए । अहिलेको सडकको नाजुक अवस्था र यातायात असुविधाबारे स्वदेश पर्यटक जानकार भए पनि विदेशी अनभिज्ञ हुने गरेको उनको भनाइ छ ।

‘विदेशमा नेपाल सुन्दर र पाहुनालाई स्वागत गर्ने मुलुकका रूपमा प्रचार भएको छ,’ उनले भने, ‘त्यसैले काठमाडौं छाडेपछि मात्रै पर्यटकले भोग्नुपर्ने सास्तीबारे जानकारी पाउँछन् ।’ पर्यटकीय गन्तव्यबारे कुनै पनि स्थानमा सूचना नराखिएकाले पर्यटक रनभुल्ल पर्ने र बिचौलियाले मनपरी रकम असुल्ने गरेको यादवको भनाइ छ । लुम्बिनीको पर्साचोकमा आएपछि पर्यटक अन्योलमा पर्ने गरेको उल्लेख गर्दै उनले गन्तव्यबीच सहज ‘कनेक्टिभिटी’ कायम नगरिनु भनेको पर्यटनलाई बाधा सिर्जना गरिनु भएको बताए । ‘अहिले पर्यटक आफैं आइरहेका हुन्,’ उनले प्रश्न गरे, ‘कहाँ जाने, कसरी जाने, के साधन पाउँछ, कति रकम तिर्नुपर्छ उल्लेख गरेर सूचना राखेको खै ?’

लुम्बिनी प्रदेश सरकारले स्थापनाकालदेखि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय क्षेत्रको विकास गर्ने जनाउँदै आएको छ । पर्यटनबाट प्रदेशलाई समृद्ध तुल्याउन सकिने तत्कालीन शंकर पोखरेलदेखि वर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समेत भाषण गर्दै आएका छन् । अहिलेसम्म प्रमुख पर्यटकीय गन्तव्यबीच यातायात सम्पर्क कायम हुन सकेको छैन । ‘गाडी भाडामा लिएर मात्रै पर्यटकी क्षेत्र घुम्न सम्भव छ,’ लुम्बिनीका ट्राभल व्यवसायी चन्दनसिंह कुँवरले भने, ‘हैन भने पर्यटकलाई घुम्ने वातावरण छैन ।’

सडक मार्गबाट आउने पर्यटकको ‘हरिबिजोग’ भइरहेको बर्दियाको ठाकुरद्वारास्थित होटल एसोसिएसन अध्यक्ष मोहन चौधरी बताउँछन् । एउटा गन्तव्यबाट अर्कोमा एकै दिन पुग्ने वातावरण नभएको उनले जनाए । काठमाडौंबाट ठाकुरद्वारा आउने पर्यटकले बुटवल–नारायणगढ खण्डको अवस्थाले गर्दा एक दिन बीचबाटोमा रात बिताउनुपरिरहेको उनको भनाइ छ ।

सडकको विकल्प हवाई यातायात हो । तर काठमाडौंबाट नेपालगन्ज हवाई टिकट प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म छ । नेपालगन्जसम्म जहाजबाट आएपछि ठाकुरद्वारा पुग्न निजी गाडी चढ्नुपर्छ । त्यसबापत थप ४ देखि ६ हजार रुपैयाँ खर्च लाग्छ । अहिले नेपालगन्जबाट पूर्वपश्चिम राजमार्ग हुँदै बर्दिया निकुञ्ज भएर ठाकुरद्वारा पुग्नुपर्छ । निकुञ्जमा ‘टाइमकार्ड’ व्यवस्था छ । त्यसका लागि चिट काट्नुपर्छ । ‘चिटलाई डिजिटल बनाइयो भने राहत हुन्थ्यो,’ उनले भने, ‘नत्र समय लाग्छ, त्यसले पर्यटक हैरान हुन्छन् ।’

अहिलेसम्म सरकारले पर्यटनमार्फत मुलुकको विकास गफ गर्ने भनेर गफ मात्र गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाटा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । पर्यटक आकर्षित गर्न आवश्यक न्यूनतम पूर्वाधार विकासमा समेत ध्यान नदिएको उनको भनाइ छ । यसरी नारा मात्र लगाएर पर्यटन विकास नहुने भएकाले पर्यटकलाई सहज यात्राका लागि आवश्यक आधारभूत आवश्यकता पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने उनले जनाइन् ।

‘सुरुमा यस्ता पूर्वाधारमा सरकारले लगानी गर्नुपर्ने हो,’ पन्तले भनिन्, ‘तर पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त बससमेत थन्किएको अवस्थामा सरकारबाट थप अपेक्षा गर्नु बेकार हुन्छ ।’ यातायातका साधन बढेको अवस्थामा समेत सार्वजनिक यातायातका साधन चढेर पर्यटकले सहज यात्रा गर्ने वातावरण नरहेको उनको भनाइ छ । ‘लुम्बिनीबाट उत्तर पाल्पा जाँदा सिद्धबाबाको पहिरोको डर छ,’ उनले भनिन्, ‘पूर्व चितवन जान सडकको बिजोग छ ।’ सडक यात्रामा भोग्नु परिरहेको सास्तीका कारण पर्यटक दोहोर्‍याएर आउनै छाडेको उनले बताइन् ।

प्रकाशित : मंसिर १६, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×