कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अर्को वर्ष फाइभजी फ्रिक्वेन्सी लिलाम

कुनै समय नेपालमा आधारभूत मोबाइल सेवाको अनुमतिपत्र पाएका आधा दर्जन टेलिकम कम्पनीमध्ये दुई मात्रै सञ्चालनमा
सजना बराल

काठमाडौँ — सरकारले तीन वर्षअघि नै नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दियो । तर उसले गत वर्ष माघमा मात्रै फाइभजी सेवाको परीक्षण (ट्रायल टेस्टिङ) सुरु र्‍यो । टेलिकमले हालसम्म त्यसको कुनै आधिकारिक प्रतिवेदन वा प्रतिक्रिया सार्वजनिक गरेको छैन । सरकारले फाइभजी परीक्षणलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराई एक वर्षसम्म निःशुल्क परीक्षण गर्न भनेको थियो ।

अर्को वर्ष फाइभजी फ्रिक्वेन्सी लिलाम

फाइभजी परीक्षणमा सरकारले निजी स्वामित्वको एनसेल आजिएटा र तत्कालीन समयमा सञ्चालनमा रहेको स्मार्ट टेलिकमलाई भने अनुमति दिएन । यस विषयमा एनसेलले गुनासो गर्दै आएको भए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनसेलबाट फ्रिक्वेन्सीका लागि कुनै निवेदन प्राप्त नभएकाले उपलब्ध नगराएको जनाउने गरेको छ ।

अहिले एनसेलको प्यारेन्ट कम्पनी आजिएटा समूहले नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण रहेकाले कम्पनी बेच्न चाहेको बताएको छ । यसमा फाइभजी सञ्चालनलाई अनुमति नदिइनुलाई पनि कतिपयले एउटा कारण मानेका छन् । यस्तोमा दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने अहिले आएर फाइभजीमाथि अध्ययन गर्ने र रणनीति बनाउने तयारी थालेको छ । अर्को वर्षसम्ममा फ्रिक्वेन्सी अक्सन गर्ने र फाइभजी सेवा सञ्चालनका लागि सेवाप्रदायकलाई पर्याप्त फ्रिक्वन्सी उपलब्ध गराइने प्राधिकरणको फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका उप–निर्देशक प्रदीप पौड्यालले जानकारी दिए ।

‘हामी फाइभजी रणनीति बनाउँदै छौं,’ फाइभजीसम्बन्धी छलफल कार्यक्रममा बुधबार उनले भने, ‘प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट पनि फाइभजीमा लगानी गर्नेबारे अध्ययन हुँदै छ ।’ कुनै समय नेपालमा आधारभूत मोबाइल सेवाको अनुमतिपत्र पाएका झन्डै आधा दर्जन टेलिकम कम्पनीमध्ये दुई मात्रै सञ्चालनमा छन् । यसमा पनि एनसेलको भविष्य अनिश्चित रहेका बेला प्राधिकरणले अर्को वर्ष फाइभजीका लागि लिलाम बढाबढबाट फ्रिक्वेन्सी उपलब्ध गराउने विषयलाई दूरसञ्चार विज्ञहरूले भने हास्यास्पद भनेका छन् ।

‘एउटा मात्रै कम्पनी बाँकी रहला जस्तो छ, एउटाकै लागि फ्रिक्वेन्सी अक्सन गर्ने ?’ ०७५ सालमा प्राधिकरणको वरिष्ठ निर्देशक पदबाट राजीनामा दिएका आनन्दराज खनाल भन्छन्, ‘यो त बेबकुफ कुरा भयो ।’

नेपाल टेलिकमले हालसम्म बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा गरी चार ठाउँमा फाइभजी बेस स्टेसन निर्माण गरिसकेको कम्पनीकी निर्देशक रीना डंगोलले बताइन् । उनका अनुसार यी क्षेत्रमा निकै चुनौतीपूर्ण तवरले परीक्षण सेवा सञ्चालन गरिएको छ । ‘सेवा प्रदायकले मात्रै चाहेर फाइभजी सञ्चालन नहुने रहेछ, यसमा डिभाइस निर्माता, प्रयोगकर्ता, नियामक र सरकारको पनि साथ चाहिन्छ,’ उनले भनिन्, ‘डिभाइस निर्माताले फाइभजी नेटवर्क खुला नगरेका कारण परीक्षण गर्न कठिनाइ भइरहेको छ ।’ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) र यूएसएडले आयोजना गरेको कार्यक्रममा डंगोलले प्रयोगकर्ताको डिभाइसमा उपयुक्त हुने किसिमको फ्रिक्वेन्सी ब्यान्ड छान्नु अर्को चुनौती रहेको पनि बताएकी थिइन् ।

हाल विश्वका १७३ देशका ५७८ सेवा प्रदायकले फाइभजी प्रविधिमा लगानी गरिरहेको अस्ट्रेलियास्थित मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका वरिष्ठ लेक्चरर राजन कँडेलले जानकारी दिए । नेपालमा फोरजी नै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्नु दुःखद रहेको उनले औंल्याए । नेपालको जटिल भूबनोटलाई मिल्ने गरी फिक्स्ड वायरलेस एक्सेस ब्रोडब्यान्ड (एफडब्लूए) प्रविधिमा फाइभजी सञ्चालन गर्न उनको सुझाव छ । ‘यहाँको शिक्षा, स्वास्थ्य, ऊर्जा र स्मार्ट सहर जस्ता क्षेत्रलाई एफडब्लूएमार्फत रूपान्तरण गर्न सकिन्छ,’ उनले भने, ‘यसमा केबल तारको सट्टा रेडियो फ्रिक्वेन्सीमार्फत ब्रोडब्यान्ड सेवा पु‍र्‍याइन्छ । धेरै बेस स्टेसन बनाउनुपर्ला । तर नेपालका ग्रामीण क्षेत्रमा तार पु‍र्‍याउनुभन्दा बेस स्टेसन बनाउन सहज छ ।’

खल्ती मोबाइल वालेटका सहसंस्थापक अमित अग्रवालले फाइभजी सञ्चालनमा आए प्रयोगकर्ताको डिजिटल व्यवहारमा ठूलो परिवर्तन देखिने बुझाइ राखे । ग्राहकको दैनिक सहज बनाउने मात्र नभएर यसले व्यवसाय सञ्चालनमा पनि सघाउने भएकाले फाइभजीको सम्बन्ध देशको अर्थतन्त्रसँग पनि जोडिएको अग्रवालको भनाइ छ । ‘फाइभजी हुँदा मोबाइल वा डिभाइसमा केही पनि डाउनलोड वा स्टोर गरेर राख्नुपर्दैन,’ उनले भने, ‘इन्टरनेट फास्ट हुनासाथ सबैथोक क्लाउडमा राख्न मिल्छ । वित्तीय क्षेत्रमा चाहिँ डिजिटल केवाईसी, द्रुत गतिमा चल्ने पस मेसिन, गलत मान्छेलाई कर्जा दिने जोखिम कम हुनुका ठगी नियन्त्रण पनि फाइभजीले सघाउँछ ।’

नेपालमा उल्लेख्य संख्यामा प्रयोगकर्ता थ्रीजीबाट फोरजीमा ‘माइग्रेट’ भइरहेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार साउनसम्म थ्रीजी प्रयोगकर्ताको संख्या ७७ लाख १८ हजार २ सय ८४ छ । फोरजी प्रयोगकर्ताको संख्या भने २ करोड २५ लाख ४ हजार ३९ छ । गत वर्ष साउनमा थ्रीजी प्रयोग गर्ने ९४ लाख ५८ हजार ८ सय ३७ थिए भने त्यो बेला १ करोड ८५ लाख ४ हजार ४ सय ५० ले फोरजी सेवा लिएका थिए । एक वर्षमा थ्रीजीबाट फोरजीमा अपग्रेड हुनेको संख्या १७ लाख ९ हजार ५ सय ८९ छ ।

प्रकाशित : मंसिर १५, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×