कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वीरगन्ज नाकाबाट नयाँ सवारी जाँचपास हुने क्रम बढ्यो 

शंकर आचार्य

पर्सा — नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट यस्ता सवारी साधन जाँचपास हुने क्रम बढेको छ । आर्थिक मन्दी तथा वाणिज्य बैंकहरुले अटो लोन दिन गरेको कडाईको बावजुद यो भन्सार नाकाबाट ८ महिना यता झण्डै १ हजार नयाँ सवारी साधन जाँचपास भएर छुटेका छन् । 

वीरगन्ज नाकाबाट नयाँ सवारी जाँचपास हुने क्रम बढ्यो 

वीरगन्ज तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सारको नियमन गर्दै आएको इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालयको तथ्यांक अनुसार, २०७९ चैत १८ देखि जारी मंसिर महिनाको बुधबारसम्मको अवधिमा यो भन्सारबाट नयाँ जीप, कार, भ्यान, ट्याक्टर तथा बस र ट्रकका चेसिस एवं टिपर आदी समेत गरी १ हजार सवारी साधन जाँचपास भएका छन् । हाल वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा जाँचपास नगरी पार्किङ गरिएका नयाँ सवारी साधन १ हजार ५ सय २५ को संख्यामा रहेका छन् ।

समिति कार्यालय प्रमुख कमल ज्ञवाली ती मध्ये ४ सय ११ नया जीप, कार, भ्यान, ५ ट्याक्टर र बाँकी १ हजार १ सय ९ बस ट्रकका चेसिस र तयारी बसहरु रहेको बताउछन् । दसैं, तिहार जस्ता पर्वको अवधिमा नयाँ सवारी साधन जाँचपास हुने क्रम झनै बढेको उनले बताए ।

चाडपर्व अघिसम्म पनि चौकी परिसरमा जाँचपास नगरी राखिएका नयाँ सवारी साधनको संख्या २ हजार ३ सय सम्म पुगेकोमा हाल भने घट्दो क्रममा रहेको उनले बताए । ‘चाडपर्वमा नयाँ सवारी साधनको खरिद बिक्री बढी हुने तथा आर्थिक मन्दीको अवस्थामा केही सुधार भएर पनि नयाँ सवारी साधन जाँचपास हुने क्रम बढेको हुन सक्छ,’ उनले भने, ‘यस बाहेक चोभार सुक्खा बन्दरगाह सन्चालनमा आएपछि त्यहाँ तुलनात्मक रुपमा पार्किङ शुल्क कम लाग्ने भएकाले कतिपय आयातकर्ताले यहाँबाट आफ्नो सवारी साधन चोभार लगेर पनि राखेका छन् ।’

यो भन्सार नाकाबाट बस ट्रकको चेसिस आयात गर्ने प्रमुख आयातकर्ताहरु सिप्रदी ट्रेडिङ, आइएइम मोटर्स, भारत बेन्ज लगायतका रहेका छन् । यीनले टाटा, अशोक लेल्याण्ड आदि ब्राण्डका बस ट्रका चेसिस आयात गर्छन् ।

त्यसैगरी जीप, कार, भ्यान आदी आयात गर्ने प्रमुख आयातकर्ताहरुमा युनाइटेड ट्रेड एण्ड सिन्डिकेट प्रालि, अग्नी इनकर्पोरेट प्रालि र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेका छन् । यीनले टोयोटा, हाइलक्स, हुन्डाई आदी ब्राण्डका जीप, कार, भ्यान आयात गर्छन् ।

वीरगन्ज भन्सारले संकलन गर्ने राजश्वमा नयाँ सवारी साधनको योगदान सबैभन्दा बढी रहने गरेको छ । गत बर्ष देखि नया सवारी साधनको आयात तुलनात्मक रुपमा घटेपछि यो भन्सारको राजश्व असूलीमा नकारात्मक असर परेको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकाल नयाँ सवारी साधन र इन्धनको आयात पुरानै लयमा फर्किए त्यसको सकारात्मक असर भन्सारको राजश्व असूलीमा पनि पर्ने बताउछन् । ‘नयाँ सवारी साधन र इन्धनले मात्रै यो भन्सारले संकलन गर्ने कूल राजश्वमा ५० देखि ६० प्रतिशत सम्म योगदान गर्छन्,’ उनले भने, ‘यी बस्तुको आयात बढे त्यसको असर राजश्व असूलीमा पक्कै पनि पर्न जान्छ ।’


प्रकाशित : मंसिर १४, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×