कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विमल खतिवडा

काठमाडौँ — विदेशी निर्माण व्यवसायीहरूलाई नेपालमा सम्भावना रहेका क्षेत्रमा लगानी गर्नका लागि आग्रह गरिएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीलाई नेपाल निर्माण व्यवसायी महासंघले यस्तो आग्रह गरेको हो ।

विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

सम्मेलनमा भाग लिन विश्वभरका उत्कृष्ट व्यवसायीहरू आएकाले जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न भनिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

‘सम्मेलनमा नेपालसहित १८ मुलुकका उत्कृष्ट निर्माण व्यवसायीहरूको सहभागिता छ,’ महासंघ अध्यक्ष सिंहले भने, ‘यही अवसरमा नेपालमा धेरै सम्भावना रहेका जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अवसर पायौं ।’ दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित सुरु सम्मेलनमा ४ सय ५० भन्दा बढीको सहभागिता छ । जसमा २ सय ४२ जना विदेशी प्रतिनिधि छन् । उनीहरू परिवारसहित सम्मेलनमा सहभागी हुन आएका छन् । ‘दिगो पूर्वाधार विकास गर्नुपर्छ भन्ने नारासहित सम्मेलन आयोजना भएको हो,’ सिंहले थपे, ‘त्यसैले अब पूर्वाधार बनाउने मात्र होइन, त्यो दिगो र प्रभावकारी पनि हुनुपर्छ ।’

अहिले सुरु सम्मेलनले सुस्ताएको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने अध्यक्ष सिंहको दाबी छ । ‘विश्वका उत्कृष्ट निर्माण व्यवसायीलाई सम्मेलनले एकै ठाउँमा जम्मा गराएको छ, स्वदेशी र विदेशी निर्माण व्यवसायीबीच आपसमा अनुभव साटासाट गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘सम्मेलनको मौका पारेर परिवारसहित आउनुभएका व्यवसायीहरू पर्यटकीय क्षेत्रहरूमा समेत घुम्न जानु हुनेछ । यो सम्मेलनका लागि मात्र विदेशी प्रतिनिधिले होटलसहित १० लाख डलर खर्च गर्नुभएको छ ।’ जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने अपेक्षा रहेको उनको भनाइ थियो ।

मंगलबारदेखि सुरु सम्मेलनको औपचारिक उद्घाटन बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । मंसिर ९ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधार निर्माणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘अहिलेको विश्वलाई हेर्दा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेका छन्,’ उनले भने, ‘तर भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षहरूलाई विशेष ध्यान दिनुपर्ने समय आएको छ ।’ जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्न पूर्वाधार निर्माणको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको उनले सुझाए । ‘पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि सम्मेलनमा उपस्थित सरोकारवाला निकायको राष्ट्रपति पौडेलले ध्यानाकर्षण गराए ।

‘इफाप्कामा आबद्ध मुलुकहरू जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको अवस्थामा जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यसका लागि इफाप्का आबद्ध मुलुकहरूबीचको आपसी समन्वय अझ प्रभावकारी हुनुपर्छ ।’ विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भन्दै राष्ट्रपति पौडेलले संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीसँग सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए । नेपालले यसअघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो । निर्माण उद्योगसँग सम्बन्धित समसामयिक विषयमा सम्मेलनमा महत्त्वपूर्ण छलफल हुने विश्वास लिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

यसै सम्मेलनमार्फत गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालिरहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने जनाइएको छ । सम्मेलनमा इफाप्कामा अस्ट्रेलिया, कोरिया, इन्डोनेसिया, मलेसिया, सिंगापुर, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंकालगायत देशका प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित : मंसिर ७, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×