कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

लिची बगैंचाभित्र कुखुरापालन

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–६ स्थित लामबगैंचामा फरक किसिमबाट कुखुरापालन गरिएको छ । ५ सय लिचीका बोटमुनि झन्डै १० हजारको संख्यामा कुखुरापालन गरिएको हो । अहिले यहाँ लिचीका बोटको छहारीमुनि कुखुरा चरिरहेका भेटिन्छन् । 

लिची बगैंचाभित्र कुखुरापालन

कुखुराको सहजताका लागि लिची बगैंचाभित्रै १२ वटा ब्लक बनाइएको छ । बगैंचाभित्रै १२ वटा पोखरीमा यालोजा घाँस उत्पादन हुन्छ । कुखुरालाई प्रोटिनका लागि यो घाँसको खेती गरिएको सञ्चालक सन्तोष चापागाईंले बताए । झन्डै ७ करोड रुपैयाँको लगानीमा खोलिएको फार्मबाट दैनिक २५ सय अन्डा उत्पादन हुँदै आएको छ ।

यहाँबाट उत्पादित अन्डा बिक्रीका लागि काठमाडौंका बजारसम्म पुर्‍याइन्छ । खुला आकाशमुनि कुखुरापालन सुरु गरेको तीन वर्ष भइसकेको चापागाईंले जनाए । सुरुमा साढे ४ सय कुखुरापालनबाट सुरु गरेको व्यवसायलाई बढाउँदै लगेको उनको भनाइ छ । ‘कुखुरापालनका लागि यहाँको हावापानी र वातावरण उपयुक्त छ,’ उनले भने, ‘धेरै गर्मी पनि छैन । लिचीका बोटले शीतल छहारी दिएका छन्, चरनका लागि पनि सजिलै छ ।’

कोभिड महामारीका बेला अर्गानिक फार्म स्थापना गर्ने उद्देश्यले पालुङटारमा कुखुरा पाल्ने योजना बनेको चापागाईंले बताए । चापागाईंसँगै फणीन्द्र पाण्डे र सर्वकल्याण पौडेलको साझेदारीमा फार्म स्थापना गरिएको हो । कुखुरापालनमा सहजता होस् भनेर बगैंचाको बीचबीचमा खोर बनाइएको अर्का सञ्चालक पौडेलको भनाइ छ । ‘खोरको चार पाटोमा घाँस खेती गर्ने, त्यसैअनुसार ढोका बनाएर १५/१५ दिनमा आलोपालो एक/एक पाटोमा चर्न दिने गरेर संरचना तयार भएको छ,’ उनले भने ।

लिची बगैंचाभित्र उत्पादित घाँस टुक्रा बनाएर पनि कुखुरालाई खुवाउने तथा दानामा पनि प्रयोग गर्ने गरिएको उनले सुनाए । ‘यहाँ जति अन्डा उत्पादन भए पनि बिक्रीको पिरलो छैन, बजारमा गएको कुखुराको मासु पनि मन पराएको प्रतिक्रिया पाएका छौं,’ चापागाईंले भने । अर्गानिक कृषि फार्म स्थापित गर्ने उद्देश्यले खुला आकाशमुनि कुखुरापालन गरेको उनले बताए ।

नेपालमा भित्रिएको न्यु ह्याम्सायर जातको कुखुरापालन गरिएको उनले बताए । ‘यसबाट अन्डा निकै राम्रो उत्पादन हुन्छ, मासु मात्र नभई अन्डाका लागि पनि उपयुक्त जात रहेछ,’ उनले भने, ‘हुर्किएको ६ देखि १८ महिनासम्म अन्डा उत्पादन हुन्छ, एउटैले १८० देखि २२० सम्म अन्डा दिन्छ, अरू जातबाट ५०/६० को हाराहारीमा अन्डा उत्पादन हुने रहेछ, मासु पनि दुईदेखि साढे दुई किलोसम्मको हुँदो रहेछ ।’

प्रकाशित : मंसिर ५, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×