कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मकवानपुरमा ‘मिल्क होलिडे’ को मारमा किसान

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका दुग्ध उत्पादक कृषकहरू ‘मिल्क होलिडे’ को मारमा परेका छन् । हेटौंडा दुग्ध वितरण आयोजनालगायत निजी क्षेत्रका डेरी उद्योगहरूले साताको दुई दिन अघोषित रुपमा दुध खरिद नगरेका कारण दुग्ध उत्पादक कृषकहरु मारमा परेका हुन् ।

डेरी उद्योगले साताको दुई दिन दूधमात्र खरिद नगरेका होइनन्, दूधको रकम पनि भुक्तानी दिएका छैनन् । मकवानपुरमा रहेका निजी हुन् वा संस्थानका डेरीहरु हुन उनीहरुले कृषकहरुलाई २० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । 'एकातिर अघोषित रुपमा सातको दुई दिन मिल्क होलिडे छ भने अर्कोतिर बिक्री गरिएको दूधको पनि भुक्तानी पाउन सकेका छैनन्,' उनले भने ।

हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका-३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २ सय ४० जना किसानबाट ४ हजार ८ सय लिटर दूध संकलन गर्दै आएको छ ।

सहकारीबाट दूध संकलनमा कुनै समस्या छैन । तर हेटौंडा दुग्ध वितरण आयोजनालगायत निजी क्षेत्रका उद्योगहरुले नियमितरुपमा दूध संकलन गर्न छोडेर सातामा पाँच दिनमात्र दूध संकलन गर्नु भनेर जिल्ला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमार्फत मनकामना दुग्ध सहकारीलाई सूचना गरेकाले कृषकहरु समस्यामा परेका हुन् ।

सहकारीले साताको दुई दिन दूध संकलनमा नगर्दा दैनिक रुपमा दुई सय लिटरसम्म दूध बिक्री गर्दै आएका किसानहरु थप समस्यामा परेको सहकारीका व्यवस्थापक शशी लम्सालले बताए । उक्त सहकारीमा दैनिक रुपमा कृषक मुकुन्दप्रसाद दाहाल, ठाकुरप्रसाद दाहाल, नारायणप्रसाद तिमिल्सिनाले २ सय ५० लिटर दूध विक्री गर्दै आएका थिए । साताको दुई दिन मिल्क होलिडे भएपछि दुग्ध उत्पादक कृषकहरु चिन्तित भएका छन् । उत्पादित दूध कसरी खपत गर्ने भन्ने उनीहरुमा चिन्ता छ ।

मनकामना दुग्ध सहकारीमा आबद्ध दूध उत्पादक कृषकहरु मात्र होइनन्‌, मकवानपुरका नौ हजार किसान ‘मिल्क होलिडे’ को समस्यामा परेका छन् । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत नौ कृषकहरुले दूध विक्री गर्दै आएका छन् । साताको दुई दिन दूध संकलन गर्न दुग्ध वितरण आयोजना र निजी डेरीहरुले रोकेका छन् ।

हेटौंडा दुग्ध वितरण आयोजना प्रमुख नविन शर्माले मकवानपुर जिल्लामा उत्पादन भएका सबै दूध आयोजनाले खरिद गर्न सक्दैन । आयोजनाको क्षमता नै छैन । हेटौंडा दुग्ध वितरण आयोजनाले बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाका कृषकहरुको दूध संकलन गर्दै आएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले ६१ वटा दुग्ध सहकारीमार्फत दैनिक ५० हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । तीमध्ये अहिले १५ हजार लिटर दूध हेटौंडामा खपत भइरहेको छ भने २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रेमा पठाउने गरिएको छ ।

संकलन गरिएका दैनिक १५ हजार लिटर दूध खपत हुन सकेको छैन । जसका कारण संस्थाले साताको पाँच दिनमात्र दूध संकलन गर्ने गरेको छ । संस्थाका व्यवस्थापक दाहालले भने, ‘आयोजना र निजी डेरी उद्योगहरुले दूध संकलन गर्न रोक लगाएकाले २ दिन अघोषित रुपमा मिल्क होलिडे हुन गएको हो ।'

दूध बिक्री नभएका कारण कृषकहरुले उत्पादन गरेको दूध पुन गाई, भैंसीलाई खुवाउने र बाँकी रहेको फाल्नु पर्ने बाध्यता छ । साताको दुई दिन मिल्क होलिडे हुँदा महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने गर्छ ।

प्रकाशित : मंसिर ६, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×