कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक विभागको भवन निर्माणमा ठेकेदारले पाएनन् साइट

काठमाडौं महानगर र हेभी इक्विपमेन्ट कार्यालयका सामान नहटाउँदासम्म काम गर्न सकिन्न : ठेकेदार कम्पनी
विमल खतिवडा

काठमाडौँ — ठेकेदारलाई नियमन गर्ने निकाय सडक विभागकै कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । ठेक्का भएको लामो समय बित्दा पनि पूर्ण रूपमा साइट नपाएपछि निर्माणले गति लिन नसकेको हो । ठेक्का लिने निर्माण कम्पनीले सम्बन्धित निकायसँग साइट उपलब्ध गराउन पटकपटक माग गर्दै आएको छ । तर १० महिना बित्दा पनि डिभिजन सडक कार्यालय काठमाडौंले पूर्ण रूपमा साइट दिन सकेको छैन । 

सडक विभागको भवन निर्माणमा ठेकेदारले पाएनन् साइट

मीनभवनस्थित हेभी इक्विपमेन्ट कार्यालय परिसरमा विभागको भवन निर्माणका लागि ०७९ पुस १४ मा ठेक्का सम्झौता भएको हो । कवीन्द्र–क्रिस जेभीले ५७ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको हो । ०८२ पुस १३ भित्र सकिसक्नुपर्ने निर्माणको रेखदेख सडक डिभिजन काठमाडौंले गरिरहेको छ ।

लामो समय भन्दाभन्दा गरेर थोरै साइट पाई अहिले काम गर्न थालेको कवीन्द्र निर्माण सेवाका अध्यक्ष कवी महर्जनले बताए । ‘निर्माणस्थलमा रहेका इक्विपमेन्ट सबै हटाई सकिएको छैन,’ उनले भने, ‘यसबारे डिभिजन सडक, सडक विभाग र मन्त्रालयलाई चिठी लेखे पनि केही कार्यान्वयन हुन सकेको छैन ।’ काठमाडौं महानगर र हेभी इक्विपमेन्ट कार्यालयका सबै सामान नहटाउँदासम्म काम गर्न सक्ने अवस्था नरहेको महर्जनको भनाइ छ ।

‘१० महिना भइसक्यो, पूर्ण रूपमा काम गर्नै पाइएको छैन,’ उनले भने, ‘ठेकेदारले काम गरेन, ढिलाइ गर्‍यो भन्दै दोष जति सबै हामीमाथि थुपारिन्छ । तर कसका कारण काममा ढिलाइ भएको छ भनेर हेरिँदैन ।’ सडक भए खण्डखण्ड गरेर काम गर्न मिले पनि भवनमा त्यस्तो नमिल्ने उनको भनाइ छ । ‘हाम्रोतर्फबाट कामदार परिचालन गर्ने, मेसिन राख्ने काम भएको छ,’ महर्जनले भने, ‘ठेक्का लगाउने निकायबाट भने पूर्ण साइट दिन नसक्दा काम गर्न सकिएन ।’ पूर्ण साइट पाउन सके कामको रफ्तार बढाउन सकिने उनको दाबी छ ।

‘ठेक्का हुनासाथ काम गर्न दिएको भए अहिलेसम्म निर्माणमा निकै प्रगति भइसक्थ्यो,’ उनले भने, ‘अब हतारमा काम गरे पनि समयमै सक्न समस्या हुन्छ ।’ हेभी इक्विपमेन्ट हटाउन नसक्दा साइट पाउन समय लागेको उनले सुनाए । ‘कंक्रिट ढलान फुटाउने र टहरा भत्काउने काम मात्र भएको छ,’ उनले भने ।

निर्माणस्थलमा काठमाडौं महानगरको ‘ट्रस ब्रिज’ र सडक विभागकै केही बेलिब्रिजका पार्ट्स राखिएपछि समस्या भएको हो । सुरुमा हेभी इक्विपमेन्ट राख्ने ठाउँ नभएर समस्या भएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सुरुमा निर्माणमा केही ढिलाइ भएकै हो,’ उनले भने, ‘अहिले समस्या छैन, निर्माणका लागि साइट उपलब्ध गराएका छौं ।’ सामान सार्ने काम पनि भएको उनको भनाइ छ ।

काठमाडौं महानगरले कलंकीतिरको बेलिब्रिज लगेर राखेपछि समस्या थपिएको उनले सुनाए । ‘यसले गर्दा कामै रोकिने स्थिति छैन । तर फराकिलो रूपमा काम गर्ने अवस्था भएन,’ उनले भने, ‘बेलिब्रिजका सम्बन्धमा महानगरसँग बुझ्दा राख्ने ठाउँ नभएर हेभी इक्विपमेन्टको कार्यालयमा लगेर राखिएको बताउँदै आएको छ । यो समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।’ पूर्ण क्षमतामा भने काम नभएको कार्यालयले जनाएको छ ।

हेभी इक्विपमेन्टको कार्यालय त्यहीं रहने र बीचको खाली भागमा विभागको भवन बनाउने तयारी छ । सडक विभागअन्तर्गत पुल, सम्भार, विकास सहायता कार्यान्वयन, योजना तथा अनुगमन र यान्त्रिक महाशाखा छन् । यी सबै महाशाखा विभागअन्तर्गत नै रहनेछन् । सडक विभागको कार्यालय भवन ललितपुरस्थित चाकुपाटमा अस्थायी संरचना बनाएर राखिएको थियो ।

०७२ सालको भूकम्पले बबरमहलस्थित विभागको भवन चर्किएपछि कार्यालय चाकुपाट सारिएको थियो । अहिले फेरि पुरानै संरचनालाई रेक्ट्रोफिट गरिएपछि कार्यालय बबरमहलमै सारिएको छ । हुलाकी, मध्यपहाडी राजमार्गको कार्यालय बबरमहल र मदन भण्डारी राजमार्ग निर्देशनालयलाई भने चाकुपाट सारिएको छ ।

प्रकाशित : मंसिर १, २०८० ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×