कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

६० प्रतिशतले बढ्यो प्याजको मूल्य, गोलभेंडा पनि उस्तै

असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ मा १२२.५० रुपैयाँ पुग्यो 
राजु चौधरी

काठमाडौँ — दसैं सकिएलगत्तै प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।

६० प्रतिशतले बढ्यो प्याजको मूल्य, गोलभेंडा पनि उस्तै

कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले माग पूर्ति गर्छन् । यी बजारबाट खुद्रामा आइपुग्दा मूल्यमा फरक पर्छ । त्यसमाथि उपभोक्ता मूल्य मनलाग्दी निर्धारण भएको हुने गरेको छ ।

‘दसैंअघि प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री भएको थियो । दसैंलगत्तै भाउ दिनदिनै बढेको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘मूल्य बढ्नुको एक मात्र कारण भारतसँगको निर्भरता हो । भारतबाहेक विकल्प नहुँदा मूल्य अकासिएको छ ।’ कालीमाटी तरकारी बजारमा भित्रिने प्याजमध्ये ९९ प्रतिशत भारतीय हो । केही व्यापारीले थोरै मात्रामा चीनबांट ल्याए पनि स्वादका कारण बिक्री हुँदैन । नेपाली उपभोक्ताले चिनियाँ प्याज त्यति रुचाउँदैनन् ।

‘स्वदेशी उत्पादनले धान्दैन, त्यसैले भारतकै भर पर्नुपर्छ । उत्पादन कम भएको बहानामा भारतले पनि अनेक नियम लगाइदिन्छ । पछिल्लो समय माग धान्न गाह्रो भएको भन्दै उसले निर्यातमा कडाइ गरेको छ,’ श्रेष्ठले भने, ‘त्यसको प्रत्यक्ष असर यहाँ परेको छ ।’ सामान्य दिनमा भारतबाट दैनिक करिब ८० टन भित्रिन्छ । पछिल्लो समय प्रतिकिलो ४० देखि ५० टन हाराहारीमा भित्रिएको छ । भारतले निर्यातमा गरेको कडाइ मात्र होइन, भन्सार मूल्यांकन पनि बजारमा अभाव र मूल्य बढ्नुको अर्को कारण रहेको व्यवसायी बताउँछन् । भन्सार मूल्यांकन दरमा देखिएको समस्याले प्याज आयातमा केही कठिनाइ भएको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय भारतीय बजारमा मूल्य बढेको छ । गत आइतबारदेखि लागू हुने गरी भारतले प्याज निर्यात गर्दा प्रतिकिलो भारु ६७ तोकेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । तर यहाँ भन्सार मूल्यांकन दर ४५ रुपैयाँ छ । ‘खरिद र भन्सार मूल्यांकन दरमा फरक पर्दा बजार अनुगमनका क्रममा समस्या हुन्छ । महँगोमा खरिद गरेर ४५ रुपैयाँका दरले बिल काट्न पनि समस्या रहन्छ,’ समितिका सूचना अधिकारी श्रेष्ठले भने, ‘त्यही भएर पनि आयात गर्न डराइरहेका छन् । आयात कम हुँदा माग र आपूर्तिको सन्तुलन मिल्दैन, त्यसले मूल्य बढाउँदै लैजान्छ ।’

संघका महासचिव प्रकाश गजुरेलले पनि प्याजको मूल्य बढ्नुको एक मात्र कारण भारतीय बजार रहेको दाबी गरे । ‘भारतले प्याज निर्यातमा आइतबारदेखि कडाइ गरे पनि मूल्य भने एक साता अघिबाटै बढेर आएको छ । निर्यात गर्दा प्रतिकिलो ६७ भारुका दरले तोकेको छ,’ उनले भने, ‘भारतमै मूल्य बढेपछि यहाँ बढ्नु स्वाभाविक हो ।’

स्थानीय मागलाई दृष्टिगत गरी भारतले ५ लाख टन प्याज किनेर मौज्दात राखेको छ । थप ५ लाख टन खरिद गरेर मौज्दात राख्न आह्वान गरेको छ । त्यही कारणले पनि भारतमा मूल्य बढेको उनको भनाइ छ । ‘नेपाल जस्तै अन्य केही मुलुकमा पनि भारतीय उत्पादनले माग धान्ने हो । माग बढेपछि भारतले निर्यात मूल्य बढाएको हो,’ उनले भने, ‘स्वदेशमा उत्पादन नहुँदा जहिल्यै समस्या हुने गरेको छ ।’

प्याज कञ्चनपुरदेखि झापासम्म उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ती क्षेत्रमा करिब तीन लाख टन उत्पादन हुन्छ । तर स्वदेशी उत्पादनले स्वदेशकै माग तीन महिना पनि धान्दैन । यसअघि सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि भ्याट खारेजी माग गर्दै केही व्यापारीले प्याज आयात गर्न इन्कार गरेका थिए । त्यसको फाइदा उठाउँदै बजारमा कालोबजारी सुरु भएको थियो ।

०८० भदौ २ मै पनि भारतको वित्त मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको छ । भारतले निर्यात कर लगाउने निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर परेको थियो । लगत्तै खुद्रा मूल्य किलोकै ९० देखि एक सय रुपैयाँसम्ममा बिक्री भएको थियो । आयात नै नभएको प्याजमा पनि व्यवसायीले मूल्य बढाएका थिए । सरकारले हस्तक्षेप गरेर केही व्यापारीलाई कारबाही गरे पनि मूल्य केही कम भएको थियो । पछिल्लो समय फेरि मूल्य बढ्न थालेको हो ।

होलसेलभन्दा खुद्रा मूल्यमा बढी समस्या देखिएको समितिका सूचना अधिकारी श्रेष्ठले जनाए । ‘समस्या तह र ग्यापमा छ । मंगलबारकै कुरा गर्दा होलसेलमा अधिकतम मूल्य १२५ रुपैयाँ पर्छ । तर खुद्रामा १५० देखि १६० रुपैयाँ बिक्री भएको छ,’ उनले भने, ‘तालुक निकायले अनुगमन गरिदिँदा मूल्य नियन्त्रणमा केही सहज हुन्थ्यो ।’

प्याजसँगै गोलभेंडाको मूल्य पनि अकासिएको छ । समितिको विवरणअनुसार असोज ३० मा औसत मूल्य २८.६० रुपैयाँ रहेको गोलभेंडा (लोकल) कात्तिक १४ मा प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ । टनेलको गोलभेंडा (सानो) को मूल्य प्रतिकिलो ३७.४० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । भारतीय गोलभेंडाको मूल्य पनि बढेको उल्लेख छ । होलसेलमा मूल्य बढ्दा खुद्रामा थप वृद्धि भएको हो ।

प्रकाशित : कार्तिक १५, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×