कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उच्चस्तरीय लगानी सम्मेलनका लागि अर्थमन्त्री महत लन्डनमा 

नवीन पोखरेल

लन्डन — नेपालका अर्थमन्त्री प्रकाशशरण महत लन्डन आइपुगेका छन् । मन्त्री महत लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन शनिबार साँझ लन्डन आइपुगेका हुन् ।

उच्चस्तरीय लगानी सम्मेलनका लागि अर्थमन्त्री महत लन्डनमा 

हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रिँदा मन्त्री महतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारीले स्वागत गरेका थिए । मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् ।

मंगलबार दिउँसो लन्डन म्यान्सन हाउसमा 'इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेस्टमेन्ट एन्ड ट्रेड' विषयक सम्मेलन हुँदैछ । बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिस लगानीकर्ता र विकास साझेदार कम्पनीहरूसमक्ष नेपालमा लगानीको वातावरण, कानुनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

'सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउने वातावरण बनाउनु नै हो', मन्त्री महतले भने, 'गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न अहिले सहज परिस्थिति छ । संविधानले नै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएकाले उहांहरुले अप्ठेरो मान्नु पर्ने अवस्था छैन ।' महतले ब्रिटिस मन्त्रीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको बताए । उनी १ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपालमा हाइड्रोपावर, पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना र अवसर धेरै रहेको बताए । 'म आफैं सानो व्यवसायबाट सुरु गरेर कर्पोरेट लेभलसम्म र महासंघको अध्यक्ष भएको छु । व्यवसायीलाई नेपालमा जस्तो अवसर अन्यत्र छैन्,'ढकालले भने ।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन् ।

प्रकाशित : कार्तिक १२, २०८० १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×