कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ढुवानी अनुदानमा हुम्लाका स्याउ जिल्ला बाहिर निर्यात गरिँदै

जनकबहादुर शाही

हुम्ला — हुम्लामा फलेका स्याउ पहिलो पटक ढुवानी अनुदानमा जिल्ला बाहिर ढुवानी हुने भएका छन् ।

ढुवानी अनुदानमा हुम्लाका स्याउ जिल्ला बाहिर निर्यात गरिँदै

स्याउ खेतीमा काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले हुम्लामा फलेका स्याउ ढुवानी अनुदानमा जिल्ला बाहिर निकासी गर्न लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) का कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीले बताए । यस वर्ष पहिलो पटक २० टन हुम्लाका स्याउ ७५ प्रतिशत ढुवानी अनुदानमा (स्याउ जोन) को सहयोगमा जिल्ला बाहिर निकासी गर्न लागेको उनले बताए ।

अहिले सिमकोटबाट नेपालगञ्जको ढुवानी दर प्रतिकेजी ६० रुपैयाँ पर्छ जसमा ४५ रुपैयाँ परियोजनाले अनुदान दिने र प्रतिकेजी १५ रुपैयाँ किसान आफैले ढुवानी तिर्नु पर्नेछ । किसानले उत्पादन गरेको स्याउको बारीमै खेरजाने भएकाले यसको बजारीकरणका लागि यो ढुवानी अनुदानको व्यवस्था गरिएको प्रमुख मग्रातीले बताए ।


हुम्ली किसानले फलाएका स्याउ जिल्ला बाहिर निकासी गर्न परियोजनाले दस लाख रुपैयाँ लगानी गर्ने भएपछि जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थिति स्याउ जिल्ला बाहिर निकासी गर्न ढुवानी अनुदान दिने व्यवस्था गर्ने निर्णय गरेको हो । परियोजनाले ढुवानी अनुदान दिने भएपछि कात्तिक महिनामा बोटबाट टिपेको स्याउ गुणस्तरीय हुने भएकाले कात्तिकमा टिपेको स्याउलाई मात्र ढुवानी अनुदान दिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कार्यालय हुम्लाले जनाएको छ ।


हुम्लाको उत्तरी भेगका ३ वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा असोज महिनासम्म स्याउ काँचै हुने कात्तिकमा मात्र पाक्ने भएकाले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्नका लागि यो नियम लागू गरिएको (स्याउ जोन) का कार्यालय प्रमुख मग्रातीले बताए । अब कात्तिकमा टिपेको स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ । गाउँमा प्रतिदाना पाँच रुपैयाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुने गरेको छ । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेकाले यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजीमा गए बिग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागू गरिएको उनले बताए । यसअघि दानाका हिसाबले बिक्री भइरहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आएपछि जिल्लामा स्याउको मूल्य तोकिएको हो ।

अहिले हुम्ला जिल्लामा २ हजार ८ सय ८५ हेक्टर जमिनमा स्याउ लगाएर ४ हजार ३ सय २१ मेट्रिकटन स्याउ गत वर्ष उत्पादन भएको थियो भने यस वर्ष पूर्णरुपमा स्याउ टिपी नसकेकाले स्याउको उत्पादित परिमाण अहिल्यै एकिन गर्न नसकिने कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×