दसैंमा घर फर्किनेहरू बढे
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको भीड बढ्न थालेको छ । विद्यालय र कलेज बन्द हुन थालेको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि बसपार्कमा घर जानेको चाप बढेको हो । यति बेला गोंगबुस्थित नयाँ बसपार्कमा बढी चहलपहल छ, जहाँ बिहान र साँझमा घर जाने यात्रुको भीड बढ्ने गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दसैंमा घर फर्किनेहरू बढे](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/buspark-16102023035127-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
गत असोज २२ बाट अग्रिम टिकट बुकिङ खुला भएको हो । त्यसयता मात्र १ लाख २९ हजार यात्रु बसपार्कबाट बाहिरिएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले जनाए । ‘यो माइक्रो र यात्रुवाहक बसमा टिकट काटेर जाने यात्रुको संख्या हो,’ उनले भने, ‘अहिले बसपार्कमा दैनिक दसैंका लागि घर जाने यात्रुको चाप छ ।’ उनका अनुसार फूलपाती र अष्टमीका लागि टिकट बुकिङ गर्न आउने यात्रुको खचाखच उस्तै छ ।
सुदूरपश्चिमको धनगढी, महेन्द्रनगरलगायत जिल्ला जाने यात्रुले भने सहजै टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । अहिले पनि बसपार्कमा जाँदा टिकट छैन भन्ने जवाफ आउने गरेको गुनासो यात्रुको छ । यता पूर्वी जिल्ला जाने सुमो, माइक्रो बसले मनपरी भाडा उठाएको यात्रुहरूको दुखेसो छ । विशेषगरी सुमो–जिपहरूले टिकटमा थोरै भाडा लेखेर यात्रुसँग भने दोब्बर भाडा उठाइरहेका छन् । सरकारी निकाय र यातायात व्यवसायीका संस्थाले भने बढी भाडा लिएको गुनासो यात्रुबाट नआएको दाबी गर्छन् ।
टिकट काउन्टर नजिकै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती ठाउँमा प्रहरी र उपभोक्ताको हितका लागि गठित संघसंस्थाका पदाधिकारी बसेर यात्रुको गुनासो सुन्ने भनिए पनि उपभोक्ताको हितमा काम गर्ने निकाय देखिँदैनन् । प्रहरी फाट्टफुट्ट भेटिए पनि सहायता कक्ष खालीखाली भेटिने गरेका छन् । यात्रुले बढी भाडा लिएको गुनासो गर्ने ठाउँ नपाएको दुखेसो पोख्दै आएका छन् । ‘कसैलाई नभन्नू भन्दै टिकटमा एउटा भाडा लेखिन्छ, भाडा भने बढी तिनुपर्छ भन्दै सुमोवालाले बढी रकम उठाइरहेका छन्,’ काठमाडौंबाट दसैंमा घर जान अग्रिम टिकट बुकिङ गरेका एक यात्रुले भने, ‘बढी भाडा लिए भनेर गुनासो गर्ने ठाउँ कतै नभएपछि बाध्य भएर गाडीवालाले मागे जति भाडा तिरेर टिकट लिएँ ।’ दसैंमा घर जाने गाडी नपाइने डरले कतिपय यात्रुले गाडीवालाले भनेकै भाडा तिरिरहेका छन् ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुहरूलाई यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा नतिर्न आग्रह गर्दै आएको छ । ‘बढी भाडा लिएको गुनासो कतैबाट आएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भने, ‘यस्ता कुरामा यात्रु आफैं सचेत र चनाखो हुनुपर्छ ।’ अहिले दसैंका लागि यात्रुहरू घर जान थाले पनि फूलपाती, अष्टमी र नवमीका दिन सबैभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिने गरेको उनले बताए । यो पटकको दसैंमा १६ लाख यात्रु बाहिरिने यातायात व्यवसायीको अनुमान छ । व्यवसायीले भने सडक पूर्वाधारमा अझै समस्या रहेको गुनासो गरेका छन् । ‘सडक मर्मतमा धेरै सुधार नभए पनि सामान्य सुधार भएको छ,’ स्वाँरले भने, ‘फेरि वर्षात् भए समस्या हुने देखिन्छ ।’
अहिले मुख्य समस्या नागढुंगा–मुग्लिङ, मुग्लिङ–पोखरा, नारायणगढ–मुग्लिङ, कमला–कञ्चनपुर सडक खण्डमा छ । अहिले यी सडकमा मर्मतसम्भार गरेर चाडबाडका लागि केही सहज बनाइएको सडक विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको गुनासो फाट्टफुट्ट रूपमा आए पनि कारबाही नै गर्नुपर्ने भनेर नआएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । ‘यात्रुको भीड हुने ठाउँमा गुनासा सुन्ने गरी काभ्रेको साँगासहित उपत्यकाको १६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ,’ उनले भने, ‘त्यहाँ गएर प्रहरीलाई बढी भाडा लिएको बारे यात्रुले जानकारी गराउन सक्नेछन् ।’ तोकिएको भन्दा बढी भाडा लिएको पाइए कानुनअनुसार कारबाही हुने उनको दाबी छ ।
विभागले अनधिकृत काउन्टर, परिचयपत्र र पोसाक नभएका व्यक्तिबाट टिकट नलिन भनेको छ । यात्रुलाई आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीहरूलाई मिलाउन विभागले सूचनामार्फत ध्यानाकर्षण गराइसकेको छ । विभागले गत असोज २६ बाट पूर्णिमासम्म लागू हुने गरी सबै गाडीलाई देशभर चल्न मिल्ने गरी रुट परमिट खुला गरिदिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)